+
+
Shares

जयेन्दु बाल सुधार प्रकरण : ७३ राउन्ड हवाइ फायरपछि स्थिति नियन्त्रणमा, फरार २ पनि सम्पर्कमा

घाइते सबैको डिस्चार्ज

लामो समय तनावग्रस्त बने पनि कुनै मानवीय क्षति नभई स्थितिलाई नियन्त्रणमा लिन सफल भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी तुलबहादुर कार्कीले बताए ।

नारायण अधिकारी नारायण अधिकारी
२०८१ चैत २ गते २२:०७

२ चैत, काठमाडौं । बाँकेको डडुवा गाउँपालिका–६ हिरिमिनियामा रहेको जयेन्दु बाल सुधार गृहमा शुक्रबार रातिदेखिको तनाव शनिबार साँझ बल्ल नियन्त्रणमा आएको छ ।

स्थानीय प्रशासन र प्रहरीको निरन्तरको प्रयासपछि स्थिति नियन्त्रण आएको हो । लामो समय तनावग्रस्त बने पनि कुनै मानवीय क्षति नभई स्थितिलाई नियन्त्रणमा लिन सफल भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी तुलबहादुर कार्कीले बताए ।

शुक्रबार होली खेल्ने क्रममा भएको विवादपछि तनाव सिर्जना भएको बताइए पनि यकिन कारण भने अझै खुलिनसकेको प्रहरीको भनाइ छ । घटनास्थल गएर स्थिति नियन्त्रणमा लिएका बाँकेका डीएसपी दीपक पातली समेत  अनुसन्धानपछि मात्रै कारण खुल्ने बताउँछन् ।

‘भित्र जान सक्ने स्थिति नै थिएन । बल्ल हाम्रो परिस्थितिलाई नियन्त्रणमा लिएको अब अनुसन्धान गरेपछि मात्रै घटनाको यकिन कारण खुल्ला,’ उनले भने ।

शुक्रबारको घटनाबारे प्रहरीले केही बताएको छैन । आज शनिबार दिउँसो १ः४५ बजेको समयमा एक्कासी झगडा भएर कुटपिट भएको र दुई जना बालबिज्याइँकर्ता फरार रहेको भन्ने खबर आएपछि प्रहरी टोली खटिएको बाँकेका एसपी कार्कीले जानकारी दिए ।

प्रहरी पुग्दा भने बाल बिज्याइँकर्ताहरूले आफू बस्ने तीन तले भवनको भुईँ तलामा आगो लगाएका थिए । उक्त आगो नेपालगञ्ज उपमहानगरपालिकाको दमकलको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।

यता, प्रहरीले सम्झाइ–बुझाइ गर्दा उल्टै उनीहरू आक्रोशित भएर भवनको पर्खाल भत्काएर प्रहरीलाई इँटाले प्रहार गरेका थिए । उनीहरूको प्रहारबाट चार प्रहरी घाइते भएका छन् ।

स्थिति नियन्त्रणका लागि आफैं घटनास्थलमा खटिएको एसपी कार्की बताउँछन् । एसपी कार्कीको कमान्डमा, लुम्बिनी प्रदेशको सशस्त्र प्रहरी गण, खजुराबाट इन्सपेक्टरको कमान्डमा गरी ३ सय प्रहरी परिचालन भएको थियो ।

यसका लागि सशस्त्र प्रहरीको ३० नम्बर गण हेडक्वाटर बागेश्वरीबाट सशस्त्र एसपी शोभाकान्त खनालको कमान्डमा एक सय जना गरी ३ सय सुरक्षाकर्मी खटिएर स्थितिलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले ७३ राउण्ड हवाइ फायर गर्नुपरेको थियो । इन्सास राइफलबाट ५८ राउन्ड, एसएलआरबाट ४ राउन्ड, सर्टगनबाट १ राउन्ड र ग्यास गनबाट १९ राउन्ड गरी ७३ राउन्ड हवाइ फायर गर्दै सम्झाइ–बुझाइ गरेर बाल सुधार गृहभित्र छिर्न सफल भइएको बाँकेका एक सुरक्षा अधिकृतले बताए ।

सुधार गृहमा रहेका २५५ मध्ये झडपमा परेर ४९ जना घाइते भएका थिए । उनीहरूलाई उपचारका लागि भेरी अस्पताल र नर्सिङहोम बाँके पठाइएकोमा अहिले सबै डिस्चार्ज भइसकेको एसपी कार्की बताउँछन् ।

आगोले बाल सुधार गृहको भवन जलेपछि अहिले २२ जना बालबिज्याइँकर्ताहरूलाई जिल्ला प्रहरी कार्यालय बाँकेमा राखिएको छ । ४० जनालाई भने बाँकेकै नौबस्तामा रहेको अर्को बाल सुधार गृहमा राखिएको छ । १९८ जनालाई भने जयेन्दुमै सम्झाइ–बुझाइ गरेर राखिएको छ ।

प्रहरीका ७ वटा सिल्ड, १ हेल्मेट फुटेका छन् भने १ वटा ग्यास गन भाँचिएको छ । सुरुमा दुई जना फरार भए भनिएका बालबिज्याइँकर्ता पनि अहिले सम्पर्कमा आएको एसपी कार्कीले बताए । ‘फरार भएका बाल बिज्याइँकर्ता दुई जना आफैं सम्पर्कमा आउनु भएको छ । योसँगै अब कोही पनि फरार छैनन् । हराएका छैनन्,’ एसपी कार्कीले अनलाइनखबरसँग भने ।

लेखक
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?