३ चैत, काठमाडौं । जमैकाको राष्ट्रिय टोलीबाट खेलिसकेका गोलकिपर अमल नाइट एफसी चितवनमा अनुबन्ध भएका छन् ।
नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि चितवनले विदेशी गोलकिपर नाइटलाई अनुबन्ध गरेको हो ।
नाइटले जमैकाको राष्ट्रिय टिम सहित विभिन्न देशको लिग समेत खेलेका छन् । सन् २०१८ मा दक्षिण कोरिया विरुद्धको मैत्रीपूर्ण खेलबाट जमैकाको लागि डेब्यु गरेका नाइटले राष्ट्रिय टिमबाट १२ खेलेका छन् ।
टिमले यसअघि नै विशाल श्रेष्ठ र प्रदिप भण्डारी दुई गोलकिपर भएको अवस्थामा चितवनले नाइटलाई तेस्रो गोलकिपरको रुपमा भित्र्याएको हो । चितवनले गोलिकपर विशाललाई रिटेन गर्दै ड्राफ्टबाट अर्का गोलकिपर प्रदिप भण्डारीलाई समेत अनुबन्ध गरेको थियो ।
यस्तै नाइट चितवनमा अनुबन्ध हुने तेस्रो विदेशी खेलाडी हुन् । चितवनले यसअघि अमेरिकन जोनाथान क्याम्पबेल र उज्वेकिस्तानका नोदिरबेक माभलोनोभलाई अनुबन्ध गरिसकेको छ ।
यसअघिका दुई संस्करणमा कमजोर प्रदर्शन गरेको चितवनले यसपटक मार्की प्लेअर देखि प्रशिक्षक परिवर्तन गर्दै नयाँ टिम निर्माण गर्दै उपाधि जित्ने लक्ष्य राखेको छ ।
नेपालका लागि संयुक्त रुपमा सर्वाधिक १३ गोल गरेका अन्जन विष्टलाई मार्की बनाएको चितवनले नविन न्यौपानेलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।
चितवनले अघिल्लो सिजनका मार्की तथा कप्तान गोलकिपर विशाल श्रेष्ठसहित डिफेण्डर छिरिङ गुरुङ र मिडफिल्डर रोशन राना मगरलाई पनि रिटेन गरेको थियो ।
यस्तै चितवनले अक्सनमा क्याटेगोरी ए का अभिषेक लिम्बु र सुमित श्रेष्ठ तथा क्याटेगोरी बी का शिशिर लेखी, जय गुरुङ, मिलन राई र निरज चौधरीलाई अक्सनबाट लिएको थियो भने क्याटेगोरी सी को ड्राफ्टबाट विवेक गुरुङ, शिशिर चौधरी, विशाल स्याङ्गतान र प्रदिप भण्डारीलाई अनुबन्ध गरेको थियो ।
चितवनले लोकल स्टारको रुपमा रोजल दाहाल र ट्यालेन्ट हन्टबाट रुकी गणेश नेपालीलाई अनुबन्ध गरेको छ ।
प्रतिक्रिया 4