
चर्चित अमेरिकी चिपमेकर कम्पनी इन्टेलले हालै कम्पनीमा नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको छ । कम्पनीका अनुसार यही मार्च १८ देखि लि बु टानले इन्टेलको नेतृत्व सम्हाल्नेछन् ।
खराब कार्यसम्पादनका कारण निवर्तमान सीईओ प्याट गेलिसंगरलाई बर्खास्त गरेको इन्टेलमा नयाँ सीईओका रुपमा भित्रिएका लि को सामु चुनौती तथा जिम्मेवारीको चाङ छ । उनले भविष्यमा इन्टेल कम्पनीलाई कसरी हाँक्छन् भन्ने सबैको जिज्ञासाको विषय त छ नै, उनले प्रमुख कार्यकारी अधिकृत हुँदा कति तलब पाउलान् ? भन्ने थाहा पाउने इच्छा पनि सायद सबैमा हुनुपर्छ । आम प्रविधिप्रेमीको यहीँ जिज्ञासालाई सम्बोधन गर्दै इन्टेलले आफ्ना नयाँ सीईओको नयाँ तलबमान सार्वजनिक गरेको छ ।
हालै अमेरिकाको नियामक निकायमा पेश गरेको कागजात (रेगुलेटरी फाइलिङ) मा कम्पनीले सिइओलाई प्रदान गर्ने तलब तथा बोनसको जानकारी गराएको छ ।
सीईओ लि बु टानसँगको करार सम्झौतामा तीन वर्षसम्मको कार्यसम्पादन लक्ष्य दिइएको छ ।
कम्पनीले पेस गरेको विवरण अनुसार लि ले सीईओको रुपमा वार्षिक १० लाख डलर तलब पाउनेछन् । त्यसका अलावा उनी वार्षिक २० लाख डलर बोनसका लागि समेत योग्य हुनेछन् । उनलाई तीन वर्षको कार्यसम्पादन लक्ष्य दिइएको छ । यदि शेयर स्वामित्वमा कुनै परिवर्तन आएमा उनले आफ्नो दुई तिहाई स्टक पनि आफूसँगै राख्न पाउनेछन् ।
सीईओको पद सम्हालेको १८ महिनाभित्र यदि कम्पनीको स्वामित्वमा कुनै ठूलो परिवर्तन आएमा उनले आफ्नो पुरस्कार बापत पाउने शेयरलाई कायम राख्न पाउनेछन् ।
लिले पाउने अन्य सुविधामा १ करोड ४४ लाख डलर बराबरको दीर्घकालिन इक्विटी ग्रान्ट तथा १ करोड ७० लाख डलर बराबरको कार्यसम्पादन ग्रान्टबापतको शेयर पनि रहेको छ । यद्यपि ५ वर्षको अवधिपछि मात्रै उनले यस्तो शेयर प्राप्त गर्नेछन् । तीन वर्षभित्रमा कम्पनीको शेयरमा गिरावट आएमा भने उनले यसबापत कुनै लाभ प्राप्त गर्ने छैनन् । यसरी तलब र बोनस तथा कानूनी खर्च बाहेक लिले ६ करोड ६० लाख डलरको दीर्घकालिन इक्विटी अवार्डको शेयर प्राप्त गर्नेछन् ।
स्मरण रहोस् लि लामो समयदेखि प्रविधि उद्योगमा सक्रिय छन् । यस क्षेत्रमा लामो अनुभव तथा लगानीकर्ता समेत भएका नाताले अघिल्लो वर्षदेखि नै उनलाई इन्टेल कम्पनीको सीईओ पदका लागि प्रमख दाबेदार मानिएको थियो । उनले आफ्नो भेन्चर क्यापिटल फर्म वाल्डेन इन्टरनेसनल अन्तरगत स्टार्टअपमा लगानी गर्न पाउनेछन् ।
इन्टेलले गत डिसेम्बरमा तत्कालिन सीईओ प्याट गेल्सिंगरलाई सीईओ पदबाट हटाउने निर्णय गरेको थियो । त्यसको तीन महिनापछि मात्रै कम्पनीले नयाँ सीईओ नियुक्त गरकेो हो । प्याट र लिको करार सम्झौतालाई तुलना गर्दा पूर्वसीईओ प्याटले नयाँ सीईओ लि ले भन्दा वार्षिक साडे २ लाख डलर धेरै तलब पाउँथे । साथै उनले २७० प्रतिशत सम्मको बोनस पनि पाउँथे । यसका साथै पदबाट हटाउनुपर्ने स्थितिमा प्याटलाई कम्पनीले १.२ करोड डलर रकम भुक्तान गर्नुपर्ने पनि प्रावधान थियो ।
एआई चिप कम्पनीहरुको दबदबासँगै पछिल्लो समय चिप बजारमा संघर्ष गरिरहेको इन्टेललाई संकटबाट पार लगाउने जिम्मा लिको काँधमा छ ।
लिपको नियुक्तिको घोषणासँगै कम्पनीको शेयर मूल्यमा पनि बढोत्तरी भएको छ । यो वर्ष कम्पनीको शेयर मूल्यमा २० प्रतिशत वृद्धि भएकोमा अधिकांस त्यस्तो वृद्धि गतहप्ता नै भएको देखिन्छ ।
लिपले यसअघि सन् २००९ देखि २०२१ सम्म चिप डिजाइन हार्डवेयर तथा सर्भिस कम्पनी क्याडेन्सको सिइओको रुपमा काम गरेका थिए भने सन् २०२२ देखि २०२४ सम्म इन्टेलको बोर्ड अफ डाइरेक्टरमा थिए ।
प्रतिक्रिया 4