३ चैत, काठमाडौं । बलिङमा शानदार प्रदर्शन गर्दै कोशी प्रदेशले प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ। एक्स्ट्राटेक ओभल मैदानमा भएको खेलमा कोशीले गण्डकी प्रदेशलाई ९ विकेटले हराएको हो ।
गण्डकीले दिएको ३२ रनको झिनो लक्ष्य कोशीले ८.२ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । शाकिब हक १६ रनमा अविजित रहे । चिराग साहले १० रन बनाए । गण्डकीका सुवास भण्डारीले १ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको गण्डकी ३१ रनमै अलआउट भएको छ । कुनैपनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । अर्जुन कुमालले सर्वाधिक ९ रन बनाए भने सुजन गौतम ६ रनमा अविजित रहे ।
गण्डकीलाई ३१ रनमै अलआउट गर्न बिपिन महतोले ८ ओभरमा १७ रन दिएर ६ विकेट लिए । फिर्दोश अन्सारीले ३ तथा दिपेश कँडेलले १-१ विकेट लिए ।
यस जितसँगै कोशी प्रदेशले पाँचौं खेलमा आएर अंकको खाता खोलेको छ ।
प्रतिक्रिया 4