३ चैत, काठमाडौं । म्यानचेष्टर सिटी प्रिमियर लिगको पछिल्लो खेलमा ब्राइटनसँग २-२ को बराबरी रोकिएपछि प्रशिक्षक पेप ग्वार्डिओलाले अब बाँकी ९ खेल ९ फाइनल जस्तै हुने बताएका छन् ।
‘९ खेल, ९ फाइनल्स’ उनले बराबरीपछि रिपोटरहरुसँग भने ।
बराबरीपछि प्रिमियर लिगमा पाँचै स्थानमा रहेको सिटी अर्को सिजन च्याम्पियन्स लिगमा छनोट हुनका लागि संघर्षरत छ । अब लिगमा ९ खेल बाँकी रहँदा ग्वार्डिओलाले ९ खेल नै फाइनल जस्तै हुने बताएका हुन् । यसको अर्थ उनले बाँकी सबै खेल जित्नुपर्नेतर्फ संकेत गरेका हुन् ।
पछिल्लो समय खराब प्रदर्शन गरिरहेपनि सिटी युरोपको प्रतिष्ठित क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगमा छनोट हुनेमा विश्वस्त जस्तै छन् । ‘म सधैँ कन्फिडेन्ट छु । म मास्टर हुँ’ ग्वार्डिओलाले भनेका छन्, ‘म सँग पनि कुनै क्षण हुन्छ जसमा म शंका गर्न सक्छु तर म सही मार्ग पत्ता लगाउँछु । म सबै कुरामा सकरात्मक देख्छु ।’
हाल सिटी २९ खेलबाट ४८ अंकसहित अंकतालिकामा पाँचौ स्थानमा छ । प्रिमियर लिगमा लिभरपुल ७० अंकसहित शीर्ष स्थानमा छ र उपाधिको प्रबल दाबेदारको रुपमा छ ।
त्यसपछि आर्सनल २८ खेलबाट ५५ अंकसहित दोस्रो र नटिङहम फरेस्ट २९ खेलबाट ५४ अंकसहित तेस्रो स्थानमा छ । यस्तै चेल्सी २८ खेलबाट ४९ अंकसहित चौथो स्थानमा छ ।
प्रतिक्रिया 4