+
+
Shares

मिडिया एक्सन नेपाल बन्यो सूचना तथा लोकतन्त्रसम्बधी अन्तर्राष्ट्रिय सञ्जालको सदस्य

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ३ गते १४:५१

३ चैत, काठमाडौं। मिडिया विकास तथा प्रेस स्वतन्त्रताको क्षेत्रमा कार्यरत संस्था मिडिया एक्सन नेपाल सूचना तथा लोकतन्त्रसम्बधी अन्तर्राष्ट्रिय सञ्जालको सदस्यमा सामेल भएको छ ।

मिडिया एक्सन नेपालका संस्थापक तथा कार्यकारी निर्देशक लक्ष्मणदत्त पन्तले आधिकारिक रूपमा सूचना तथा लोकतन्त्रसम्बन्धी अन्तर्राष्ट्रिय नागरिक संस्थाहरुको सञ्जाल ‘कोलिसन अन इन्फर्मेसन एंड डेमोक्रेसी’ मा सामेल भएको जानकारी दिए ।

उनले भने, ‘मिडिया विकासलाई प्रवर्द्धन गर्ने र प्रेस स्वतन्त्रताको रक्षा गर्ने गहिरो प्रतिबद्धता बोकेको संस्थाका रूपमा हामी यस विश्वव्यापी सञ्जालमा सामेल हुन पाउँदा सम्मानित महसुस गरेका छौं। नेपाल र दक्षिण एसियाबाट हाम्रा अनुभव तथा दृष्टिकोणले लोकतन्त्र र सूचना अखण्डतासम्बन्धी अन्तर्राष्ट्रिय छलफललाई थप समृद्ध बनाउनेछ।’

उनका अनुसार सन् २०२१ मा ‘फोरम अन इन्फर्मेसन एंड डेमोक्रेसी (एफआइडी) को नेतृत्वमा स्थापना भएको यस सञ्जालले मिडिया एक्सन नेपालसहित विश्वभरका ६५ वटा नागरिक संस्थाहरूलाई एकत्रित गर्दै, विश्वव्यापी सूचना र सञ्चार क्षेत्रमा लोकतान्त्रिक सुरक्षाका उपायहरू प्रवर्द्धन गरिरहेको छ।

हालसम्म ५५ राष्ट्रहरूले समर्थन गरिसकेको सूचना तथा लोकतन्त्र साझेदारीको कार्यान्वयन निकायका रूपमा एफआइडिलाई डिजिटल सूचना पारिस्थितिकीय प्रणालीको मानवअधिकार र लोकतान्त्रिक संस्थाहरूमा पर्ने प्रभावको मूल्याङ्कन गर्ने तथा नियामक र स्व-नियामक उपायहरू विकास गर्न सहयोग पुर्‍याउने जिम्मेवारी दिइएको छ।

उक्त सञ्जालमा सामेल भएसँगै, मिडिया एक्सन नेपालले सूचना अखण्डता जोगाउने, अभिव्यक्ति स्वतन्त्रताको संरक्षण गर्ने तथा भ्रामक सूचना विरुद्ध लड्ने आफ्नो प्रतिबद्धतालाई थप सुदृढ बनाएको छ। सन् २०१५ मा स्थापना भएदेखि नै स्वतन्त्र र उत्तरदायी मिडियाको पैरवी गर्दै आएको यो संस्था मिडिया विकास, पत्रकार सुरक्षा, र नीति पैरवीका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याइरहेको छ।

एफआइडीका कार्यकारी निर्देशक क्यामिली ग्रेनियरले नेपालबाट सञ्जालमा प्रवेश गर्ने पहिलो नागरिक संस्थाको रूपमा मिडिया एक्सन नेपाललाई स्वागत गरेका छन् ।

उनले भनेका छन्, ‘हामी सूचना तथा लोकतन्त्रको लागि गठित सञ्जालमा मिडिया एक्सन नेपाललाई स्वागत गर्न पाउँदा खुसी छौं। अभिव्यक्ति स्वतन्त्रता र सूचना प्राप्तिको अधिकार प्रवर्द्धन गर्ने मिडिया एक्सन नेपालको प्रतिबद्धता, विश्वव्यापी सूचना तथा सञ्चार क्षेत्रमा लोकतान्त्रिक सुरक्षाका उपायहरू कार्यान्वयनका लागि हाम्रो सामूहिक प्रयाससँग मेल खान्छ। हामी सँगसँगै लोकतान्त्रिक मूल्यहरूलाई प्रवर्द्धन गर्न तथा विश्वभर सूचना अखण्डताको रक्षा गर्न निरन्तर लागिरहनेछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?