+
+
Shares

युवराज संग्रौलाबारे छानबिन गर्न बनेको समितिमाथि नै प्रश्न

समिति सदस्य धामीले पहिल्यै संग्रौलाको पक्षमा सार्वजनिक वकालत गरेको भेटिएपछि पूर्वविद्यार्थीहरू असन्तुष्ट

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ३ गते २१:५८

३ चैत, काठमाडौं । काठमाडौं स्कुल अफ ल (केएसएल) ले कार्यकारी निर्देशक युवराज संग्रौलामाथि लागेको आरोपबारे छानबिन गर्न भन्दै गठन गरेको समितिमाथि नै प्रश्न उठेको छ ।

आइतबार कलेजले पत्रकार सम्मेलन गरेर व्यवस्थापन समितिको आकस्मिक बैठकको निर्णय अनुसार, स्वतन्त्र छानबिन समिति गठन गर्ने निर्णय भएको बताएको थियो । प्राध्यापक अञ्जनकुमार दाहालका अनुसार, पूर्वजिल्ला न्यायाधीश डा. श्रीकृष्ण भट्टराईको नेतृत्वमा रहेको समितिमा वरिष्ठ पत्रकार तीर्थ कोइराला र अधिवक्ता सीमा धामी सदस्य छन् ।

समितिमा कलेजको आन्तरिक उजुरी तथा गुनासो समितिका संयोजक सदस्य सचिव रहने भनिएको थियो । तर, यो समितिकी सदस्य धामीले जोमाथि छानबिन गर्नुपर्ने उनको पक्षमा पहिल्यै सार्वजनिक टिप्पणी गरेको पाइएको छ ।

लैङ्गिक विभेद मामलाको जानकार भन्दै समितिमा राखिएकी अधिवक्ता सीमा धामीले संग्रौलाको पक्षमा शनिबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेको पाइएको हो ।

‘यस कलेजमा सन् २००२ देखि आवद्ध भइ शैक्षिक तथा व्यवसायिक यात्राको कखरा सिकेको प्राज्ञिक संस्था तथा त्यसका अभिभावक श्रदेय गुरु डा. युवराज संग्रौलालाई लगाइएको अशोभनीय आरोपले म लगायत यस कलेजका पूर्वविद्यार्थीहरूको समेत अपमान भएको महसुस गरेको छु’, उनले शनिबार लेखेको स्टाटसमा भनिएको छ, ‘गुरु युवराज संग्रौलाको निस्वार्थ सेवा, अथक परिश्रम अनि लगनशीलताको प्रतिफल हामीले आर्जन गरेको पेशागत सफलता नै हो, त्यसैले यसको हामी विद्यार्थी ऋणी छौं ।’

पूर्वविद्यार्थी भन्दै उनले राखेको स्टाटसमा उनले ‘हाम्रो ज्ञानको आदर्श गुरु युवराज संग्रौलाको साथमा आफूहरू रहिरहने’ भनेकी छन् । अहिले भने उनले त्यो स्टाटस डिलिट गरिसकेका छन् । यद्यपि, उनलाई उद्धृत गर्दै अरुले फेसबुकमा राखेको पोस्ट अझै भेटिन्छ ।

तर, केएसएलका पूर्वविद्यार्थीहरूले उनको स्टाटसको ‘स्क्रिनसट’ पनि राखेको भेटिएको छ ।

केएसएलका १०० जना विद्यार्थीले शुक्रबार साँझ संयुक्त वक्तव्य जारी गर्दैै एक जना विद्यार्थीले हिम्मतका साथ दुर्व्यवहारबारे बोलेको भन्दै त्यसमा स्वतन्त्र र निष्पक्ष छानबिनका लागि माग गरेका थिए ।

‘कानुनका विद्यालयहरूका लागि सत्यनिष्ठा सिद्धान्त हुनुपर्छ, जहाँ न्यायका सिद्धान्तहरू केवल पढाइने मात्र होइन, पालना पनि गरिन्छ’, विज्ञप्तिमा भनिएको छ, ‘तर, जब यी संस्थाहरूभित्र दुर्व्यवहार, अपमानजनक टिप्पणीहरू, यौन दुव्र्यवहार, जरा गाडेको भेदभाव, र प्रणालीगत दबाब निरन्तर रहन्छन्, तब तिनीहरूले आफ्नो मौलिक उद्देश्यलाई धोका दिन्छन् । यो कुनै एकल घटना होइन । यो व्यापक प्रणालीगत असफलताको प्रतिबिम्ब हो, जसले तत्काल र दिगो सुधारको माग गर्दछ ।’

यस्तोमा समितिकी एक सदस्यले पहिल्यै आरोपितको पक्षमा बोलेकाले निष्पक्ष छानबिन हुनेमा शंका उत्पन्न भएको विज्ञप्ति जारी गर्ने पूर्वविद्यार्थी समूहका एक सदस्यले बताए । ‘यसले केएसएलको नियत देखाउँछ’, ती पूर्वविद्यार्थीले टिप्पणी गरे ।

युवराज संग्रौला भन्छन्– मेरो परिवार चाहिँ पीडित

पूर्वाञ्चल विश्वविद्यालय अन्तरगतको केएसएलमा कार्यकारी निर्देशक संग्रौलाले छात्राहरूसँग अनावश्यक यौनजन्य टिप्पणी र महिलाको शरीरबारे अपमानजनक शब्द प्रयोग गर्ने गरेको भन्दै एक छात्राले कलेजमा निवेदन दिएकी थिइन् ।

तर, गम्भीर छानबिन नभएको भन्दै उनले सामाजिक सञ्जाल इन्टाग्राममा पनि यो विषय लेखेकी थिइन् । त्यसपछि यो मामलाले चर्चा पाएको थियो ।

सामाजिक सञ्जालमा उनले संग्रौलामाथि यौन दुर्व्यवहारका थुप्रै आरोपहरू लाग्ने गरेको भन्दै भनेकी थिइन्, ‘उहाँले विद्यार्थीहरूलाई आफ्नो ब्याक मसाज गर्न बाध्य पार्नुभएको समेत छ ।’

उनले यो विवरण पोस्ट गरेको केही समयपछि कार्यकक्षमा संग्रौलालाई कसैले टाउको थिच्दै गरेको तस्वीर समेत सार्वजनिक भएको छ ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा भने संग्रौलाले आफूलाई पहिले एउटा स्वास्थ्य समस्या भएको भन्दै कक्षामा बेहोस समेत हुने गरेको जिकिर गरेका छन् । ‘कहिलेकाहीँ डेढ दुई घन्टा कक्षा सिद्धाएपछि पेन हुन्थ्यो, त्यतिबेला साथीहरू, कहिलेकाहीँ नर्सहरूले अलिकति टाउको समातेर थिचेपछि निको हुन्छ भन्नुभएको थियो,’ संग्रौलाले भनेका छन् ।

सार्वजनिक तस्वीरमा औंलाले थिचिरहेको देखिने भन्दै त्यहाँ अर्को मान्छे पनि भएको भन्दै बदनियतवस त्यो सार्वजनिक गरिएको उनले जिकिर गरे ।

बरु राज्यका निकायले त्यस किसिमको उजुरी प्राप्त गरेर अनुसन्धान भए उसले आफूले हत्कडी लगाएर अनुसन्धान गर्नसक्ने उनले बताए ।

‘कुनै एउटा व्यक्तिले सामाजिक सञ्जालमा आफू कुन अवस्थामा छु भन्ने पनि राम्रोसँग नबुझि सामाजिक सञ्जालमा आउँछ, त्यहाँ आएर गाली बेइज्जती गर्छ । त्यहाँ आएर आमाचकारी बोली बोल्छ…’, उनले अगाडि भनेका छन्, ‘यो देशमा खुला स्वतन्त्र न्यायपालिका छ, अनुसन्धान गर्ने पुलिस छ । महान्यायाधिवक्ताको कार्यालय छ । त्यहाँ जाँदैन तर, अमुक व्यक्तिको नाम लिन्छ ।’

यसरी एउटा व्यक्तिले राखेको कुराले देशभर बहस हुन थाल्यो भने त्यसले युवराज संग्रौला एउटालाई मात्र प्रभाव नपर्ने उनले टिप्पणी गरेका छन् ।

‘हामीहरू जस्तो ३७ वर्ष कानुन पढाएका मान्छेहरू समाप्त गर्दा राज्यलाई पनि फाइदा गर्दैन’, उनले थपे ।

उनी आफूमाथि अनुसन्धान गर्न खुला भए रहेको भन्दै त्योसँगै आफ्नो परिवारको सदस्यलाई समेत मानसिक यातना दिने काम भएकाले त्यसतर्फ पनि अनुसन्धान हुनुपर्ने बताए ।

‘एउटा व्यक्तिको सिंगो जीवनलाई ध्वस्त गर्ने गरी उसका छोरीहरूमाथि आतंक मच्चाउने र उसले पढाइराखेका नाबालक विद्यार्थीहरू जसले धेरै जसोले बाबुको अनुहारले देख्छन्, ती विद्यार्थीहरूलाई रुवाउने काम गर्ने कुनै एउटा व्यक्तिलाई अधिकार छैन’, उनले पत्रकार सम्मेलनमा भने, ‘यस्तो हुँदै गर्दा मिडियाले उसकोबारे पनि अनुसन्धान गर्नुपर्छ । उसको बारेमा पनि खोजी गर्नुपर्छ । कुन–कुन नियतले आयो भन्नेबारे पनि खोजी गर्नुपर्छ भन्ने अपिल गर्छु ।’

उनले आफूमाथि यो आरोप लाग्नुमा प्रतिस्पर्धी कलेजहरूको पनि हात रहेको शंका व्यक्त गरेका छन् ।

‘अहिले नयाँ–नयाँ संस्था निर्माण भएर आइरहेका छन्, त्यो आउँदा नयाँलाई स्वभाविक रुपमा प्रतिस्पर्धामा आउन दिनुपर्छ,’ उनले भनेका छन्, ‘तर, त्यो ज्ञान विज्ञान र प्रद्धतिमा राम्रो भएर दिनुपर्छ । त्यो पुरानो संस्थालाई समाप्त गर्ने किसिमले प्रतिस्पर्धा हुनुहुँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?