३ चैत, काठमाडौं । प्रथम पोखरा कप राष्ट्रिय पुरूष ह्याण्डबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको पहिलो दिन घरेलु टोली गण्डकीले दुई खेलमा जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ । गण्डकीले सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशलाई हराउँदै अन्तिम चारको यात्रा तय गरेको हो ।
प्रतियोगिताको पहिलो दिन कुल चार खेल सम्पन्न भए । पहिलो खेलमा गण्डकीले सुदुरपश्चिमलाई ३५–१७ गोलले पाखा लगायो । गण्डकीका लागि पवन छन्त्यालले सर्वाधिक ११ गोल गरे । यस्तै सुदुरपश्चिमका लागि सरोजकुमार सिंहले ६ गोल गरे ।
दोस्रो खेलमा एपीएफले लुम्बिनीमाथि ३०–९ को फराकिलो जित निकाल्यो । एपिएफका लागि नितेश धिमालले ५ गोल गरे भने लम्बिनीका लागि मनोज थारुले ५ गोल गरे ।
तेस्रो खेलमा गण्डकीले कर्णालीलाई ४२–१६ को अन्तरले पाखा लगायो । गण्डकीका लागि प्रलेश गुरुङले १२ गोल गरे । यो जितसँगै गण्डकी एक खेलअघि नै सेमिफाइनलमा प्रवेश गरेको हो । यस्तै चौथो खेलमा कोशीले प्रतिस्पर्धात्मक खेलमा सुदुरपश्चिमलाई २२–१९ ले हरायो ।
प्रतियोगितामा आयोजक गण्डकीसहित कोशी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेश र दुई विभागिय टोलीे त्रिभुवन आर्मी क्लब र एपीएफ क्लबको सहभागिता रहेको छ । लिग कम नकआउटका आधारमा प्रतियोगिता आयोजना गरिएको हो ।
प्रतियोगिताको उपाधि विजेता टिमले नगद रु १ लाख, उपविजेताले नगद ५० हजार र तेस्रो हुने टिमले नगद रु ३० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन् ।
त्यस्तै उत्कृष्ट गोलरक्षक, उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई नगद ५–५ हजारका साथमा ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने छ ।
प्रतिक्रिया 4