
४ चैत, जनकपुरधाम । ‘हमरा छोरिक कत चैलगेल रे आशु ! आब हम केना जियब रे बौवा ?’ (मलाई छाडेर कहाँ गयौं आशु ? म अब कसरी बाँचु बाबु ?) अर्चना विलौना गर्छिन् । कुनैबेला जोडजोडले कराउँछिन्, कुनै बेला मूर्छा पर्छिन् ।
आइतबार दिउँसो ३ बजे उनको आँगनमा आफन्त र छिमेकी जम्मा भएका थिए । कोही अर्चनाको आँसु पुछ्दै थिए, कोही सान्त्वना दिने प्रयासमा थिए । आफन्त पनि बीचबीचमा रुन्थे, कराउँथे । छिमेकी महिलाको आँखाबाट आँसु बगिरहेको थियो । अर्चनाका १० वर्षीया जुम्ल्याहा छोरीहरू स्नेहा र मेघा आमाको छेउमै बसेर रोइरहेका थिए । त्यतिबेला गाउँ छेउको घाटमा आशुको दाहसंस्कार भइरहेको थियो ।
जनकपुरधाम उपमहानगरपालिका–१३ बिन्धीकी अर्चना यादवमाथि असह्य बज्रपात भएको छ । परिवारको एक्लो छोरा १५ वर्षीय आशुको हत्याले अर्चनासहित आफन्त र गाउँले शोकमग्न छन् ।
६ महिनाअघि मात्र उनका श्रीमान् पप्पु यादव बितेका थिए । श्रीमान्को मृत्युको पीडा सेलाउन नपाउँदै फेरि छोरा आशु सदाका लागि गुमे ।
शनिबार होलीको दिन, सामान्य विवादकै क्रममा आशुको हत्या भयो । स्थानीय लक्ष्मण महतोका छोरा २१ वर्षीय धर्मेन्द्र महतोले घरबाट बोलाएर छुरा प्रहार गरी आशुको हत्या गरेका थिए ।
धनुषाका प्रहरी प्रवक्ता डीएसपी वरुणबहादुर सिंहका अनुसार साँझ ५ बजेतिर धर्मेन्द्रले छाती, ढाड र पेटमा छुरा प्रहार गर्दा गम्भीर घाइते भएका आशुको जनकपुर प्रादेशिक अस्पतालमा करिब ६ बजे मृत्यु भएको थियो । धर्मेन्द्रलाई प्रहरीले छुरासहित तत्कालै पक्राउ गरेको छ ।
आशुकी काकी संगीता यादवका अनुसार, धर्मेन्द्रले घरबाट बोलाएर छुरा प्रहार गरी आशुको बीभत्स हत्या गरेका हुन् ।
होली खेल्ने क्रममा धर्मेन्द्रको कुर्ता थोरै च्यातिएको थियो, जसलाई लिएर उनी क्रोधित बनेका थिए । उनले आशुलाई काट्ने–मार्ने धम्की दिएका थिए । सुरुमा सम्झाई–बुझाई गरेपछि उनी फर्किए ।
तर, केही समयपछि धर्मेन्द्रले आफ्ना साथीहरु लगाएर आशुलाई बोलाउन पठाए । आमा अर्चनाले आशुलाई रोक्ने प्रयास गरिन् । तर उनी राजन र रुपेशसँगै घरबाट निस्किए । आशुको घर जनकपुर–जलेश्वर सडकखण्डको बिन्धीमा, करिब ६० मिटर भित्र गल्लीमा पर्छ ।
‘नशा सेवन गरेका धर्मेन्द्र एकपटक गाली गर्दै मार्ने धम्की दिन आएका थिए । मैले विवाद नगर, बरु नयाँ कुर्ता किनिदिन्छु भनें । तर केही समयपछि उनले केटाहरु लगाएर आशुलाई बोलाउन पठाए । मैले रोक्न खोजेँ । तर मेरो छोरा राजन र आशु केही हुँदैन भन्दै बाहिर निस्किए । त्यहाँ पुग्नासाथ धर्मेन्द्रले छुरा प्रहार गर्न थाल्यो । राजनले बचाउने प्रयास गर्यो तर सकेन । उसले रुपेशलाई पनि छुरा प्रहार गर्यो,’ आशुकी काकी संगीता यादवले भनिन् ।
आशुलाई बचाउन अर्की काकी विनिताले पनि प्रयास गरेकी थिइन् । हामी विनिताको घर पुग्दा उनको साडीमा रगतका छिटाहरु थिए । विनिताका अनुसार धर्मेन्द्रले आशुमाथि छुरा प्रहार गर्दा उनी र छोरा रुपेशले रोक्न खोजे । त्यस क्रममा रुपेशलाई दुई ठाउँमा छुरा लाग्यो । ‘हान्दे’ भन्दै स्थानीय रामवरण महतोका छोरा राकेशले धर्मेन्द्रलाई छुरा दिएका थिए ।
‘राकेशले धर्मेन्द्रलाई छुरा दियो । धर्मेन्द्रले मेरो कुर्ता किन च्यातिस्, मारिदिन्छु भन्दै आक्रमण गर्न थाल्यो । मेरो छोरा रुपेशलाई दुईपटक छुरा प्रहार गरियो । ऊ भुइँमा ढल्यो । मैले चिच्याउँदै हारगुहार गरें । तर कोही आएनन् । धर्मेन्द्रले तीनपटक आशुलाई छुरा हान्यो । मासु बाहिर निस्कियो,’ विनिताले भनिन् ।
गम्भीर अवस्थामा रुपेशले आशुलाई मोटरसाइकलमा प्रादेशिक अस्पताल जनकपुर पुर्याए । तर चिकित्सकले मृत घोषणा गरे । आशुको शव आइतबार प्रादेशिक अस्पताल जनकपुरमा पोस्टमार्टम गरी अन्त्येष्टि गरिएको छ ।
घरपरिवार र स्थानीयका अनुसार आशु झगडालु थिएनन्, मिजासिला थिए । उनी जनकपुरधामस्थित याज्ञवल्क्य ज्ञानकुप माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत थिए । रुपेश र राजन पनि त्यही विद्यालयमा अध्ययनरत छन् ।
स्थानीय जितनी देवीका अनुसार आशुका बुबा पप्पु परिवार पाल्नका लागि अटो रिक्सा चलाउँथे । छोरा आशुलाई पढाएर इन्जिनियर वा डाक्टर बनाउने बुबाआमाको सपना थियो । गत वैशाखमा नयाँ अटो किनेर चलाइरहेका पप्पु केही महिनापछि अचानक थला परे । ६ महिनाको उपचारपछि उनको निधन भएको थियो ।
छिमेकीहरु भन्छन्, ‘अब अर्चना कसरी मन बुझाउँछिन् । ६ महिना भित्रै श्रीमान् र एक्लो छोरा बिते । सहारा कोही छैनन् ।’
प्रतिक्रिया 4