४ चैत, काठमाडौं । नेपाली महिला क्रिकेट टोली भर्खरै युगाण्डामा चार देश सम्मिलित वुमन्स डे कप टी-२०आई प्रतियोगितामा सहभागी भयो । युगाण्डा र नेपालसँगै हङकङ र नामिबिया सम्मिलित प्रतियोगितामा सबैले एकअर्कासँग २-२ पटक गरी कुल ६-६ खेल खेले ।
नेपालले ६ खेलमध्ये २ खेल जित्दा ४ खेलमा पराजित भयो । जितमध्ये एउटा संघर्षपूर्ण तथा एउटा सहज जित थियो । हारहरू पनि कुनै नजिक पुगेर पराजित भएका खेल थिए भने कुनै लज्जास्पद नै थियो ।
समग्रमा भन्नुपर्दा ६ खेलमा २ जित निकालेको नेपाल चार टिममध्ये चौथो भयो, भन्दा राम्रो सुनिँदैन तर यथार्थ यही नै हो । नेपालले सबैभन्दा माथिल्लो वरियतासँग दुवै खेल गुमाउँदा युगाण्डा र हङकङसँग जित-हार दुवै बाँड्यो ।
यस शृंखलामा जानुअघि धेरै कुराहरूमा सुधार गरेका छौं, हामी जितेर नै फर्कन्छौं भनेर कप्तान तथा प्रशिक्षकले बोलेका थिए तर नेपाल उपाधिविहीन हुँदै फेरि एकपटक ‘सिकेर’ मात्रै फर्किएको छ ।
पछिल्ला १२ खेलमा २ जित
नेपालले गत महिना घरेलु मैदानमै दुई बलिया टोलीहरू बोलाएर शृंखला खेलेको थियो । थाइल्याण्ड र नेदरल्याण्ड्ससँग ३-३ खेल खेलेको नेपालले कुनैपनि खेल जित्न सकेको थिएन ।
घरेलु मैदानमै एक खेल पनि जित्न नसकेको आलोचना बोकेर युगाण्डा भ्रमणको तयारी थालेको टिमले युगाण्डा जानुअघि धेरै कुराहरूमा सुधार भएको र अबको शृंखला जितेर फर्कने सबैको एउटै स्वर थियो ।
तर युगाण्डामा गएर नेपालले समूह चरणका २ खेल मात्र जित्न सक्यो । तर ती जितहरू उपाधि जित्नका लागि भने पर्याप्त रहेनन् । दुईमध्ये एक जित नेपाल फाइनल होडबाट बाहिरिसकेपछि आएको थियो ।
समग्रमा नेपाली महिला टोलीले सन् २०२५ यता भएका कुल १२ खेलमा २ खेल मात्र जितेको छ । घरेलु मैदानमा जितविहीन रहेको नेपालले बाहिर गएर २ खेल जितेको हो ।
नेपाल क्रिकेट संघले आगामी महिनाहरूमा पनि विभिन्न प्रतियोगिताहरू लक्षित गरी शृंखलाहरूको व्यवस्था गरेको छ । यो हारको तथ्यांकहरूमा केही फेरबदल हुने अर्को आशा राख्न सकिन्छ ।
जित्ने मानसिकताको अभाव
नेपाली महिला क्रिकेटमा लामो समयदेखि देखिँदै आएको एक समस्या छ जो खेलाडी स्वयंले आत्मालोचना नगरेसम्म सुधार हुँदैन, त्यो हो ‘विनिङ मेन्टालिटी’ अर्थात् जित्ने मानसिकता ।
नेपाली टोलीमा जित्ने मानसिकताको अभाव देखिन्छ । केही सिनियर खेलाडीहरूमा केही हदसम्म मानसकिताको विकास भएको देखिएपनि टोलीका लागि पर्याप्त देखिएको छैन ।
खेलाडीले कुन मानसिकताका साथ खेलिरहेको छ त्यसले प्रेसर ह्यान्डल गर्नेदेखि धेरै कुरामा प्रभाव पारिराखेको हुन्छ । त्यसका लागि दबाबमा पनि सम्हालिएर खेल्न सक्षम हुनुपर्छ ।
हालको शृंखलामा चोटका कारण बाहिर रहेकी अलराउण्डर सीता रानामगर पनि नेपाली टोलीमा यो मानसिकताको विकास हुन नसक्नु प्रमुख कमजोरी भएको बताउँछिन् ।
‘विनिङ मेन्टालिटी अझै पनि नभएजस्तो लाग्छ, हामी कुनै गेम एकदम क्लोज गएर पनि हारेका छौं’ सीताले अनलाइनखबरसँग भनिन् ‘मेन्टल्ली स्ट्रङ नभएजस्तो लाग्यो । सजिलै चेज गर्न सकिने कुरामा पनि आत्तिएर विकेट गुमिरहेको जस्तो लाग्यो । लिनु नपर्ने रिस्की शटहरू खेलेर आउट भइरहेका छौं।’
हुन पनि हो, नेपालले राम्रो सुरुवात गरेपनि त्यसलाई अन्तिमसम्म कायमै राख्न नसक्दा हार व्यहोरिरहेको छ । यसबारेमा पहिलो महिला क्रिकेट टोलीका नेतृत्वकर्ता तथा छनोट समितिका प्रमुख एलबी क्षेत्रीले पनि अभ्यास र खेलको कमीले मानसिक रूपमा अझै पनि बलियो हुन नसकेको उल्लेख गरे ।
‘अहिलेको नतिजा हेर्दा त त्यति सकारात्मक देखिँदैन तर उनीहरूले तयारी कत्तिको गरिराछन् भन्ने कुरा पनि हेर्नुपर्छ’ क्षेत्रीले भने, ‘अफ सिजनमा त्यति अभ्यास गर्ने क्रम नरहेकाले शारीरिकदेखि मानसिक रूपमा पछाडि नै रहेको देखिन्छ।’
मिडल ओभरमा कमजोर प्रदर्शन
नेपालले अधिकांश खेलमा विपक्षी टिमलाई सुरुवातमै विकेट लिएर दबाबमा राखिरहेको हुन्छ । तर त्यसपछि बीचका ओभरमा लय समात्न नसक्दा विपक्षीले खेलको मोमेन्टम आफ्नो पक्षमा पारेको हुन्छ ।
ब्याटिङ गर्दा पनि सम्हालिएर खेल्न नसक्दा नेपाली टोलीले निरन्तर रुपमा विकेट गुमाइरहेको हुन्छ । यसकारण मिडल ओभरहरूमा खेल चलाउन सक्षम हुनुपर्छ । त्यस कुरामा पनि नेपाली टोली कमजोर देखिएको छ ।
सीताले यसमा योजनाहरूको प्रभावकारी रूपमा कार्यन्वयन हुन नसकेकोले यस्तो भएको बताइन् । ‘बलिङमा हामीले सुरुमा विकेट लिइराखेका छौं तर मिडल ओभरमा सहज रूपले छोडिरहेको देखिन्छ’ उनले भनिन्, ‘हिसाब त गरेको छ होला तर पनि प्लानिङ चाहिँ प्रभावकारी भइरहेको छैन।’
बीचका ओभरहरूमा डट बल धेरै खेलेकाले ब्याटिङमा पनि दबाब परिरहेको सीताको भनाइ छ । नेपाली टोलीले गुमाएका चारमध्ये तीन खेल लक्ष्य पछ्याउने क्रममा बेहोरेका हार थिए । लक्ष्य पछ्याउने क्रममा बढी कमजोर प्रदर्शन देखिँदै आएको छ ।
ब्याटिङ अर्डर अझै अस्थीर
यस शृंखलामा पनि नेपालले ब्याटिङ अर्डरमा हलचल गरिरहेको थियो । प्रशिक्षक र कप्तानको केही एक्सपेरिमेन्टको कुराहरू एकतर्फ रहँदा यसले खेलाडीको प्रदर्शनमा भने प्रत्यक्ष प्रभाव पारेको छ ।
मिडल अर्डरमा खेल्ने ब्याटरलाई ओपनिङ तथा ओपनिङमा खेल्ने गरेका ब्याटरलाई तल्लोक्रममा पठाउँदा यसले खेलाडीलाई त्यहीअनुसारको रिटर्न दिन कठिन हुने गर्छ ।
नेपालले ओपनिङका तीन विकल्पहरू प्रयोग गर्यो । सम्झना खड्कासँग सना प्रवीन, रुबिना क्षेत्री र कप्तान इन्दु बर्माले ओपन गरेका थिए । सम्झना ओपनिङमा र पुजा महतो वान डाउनमा ब्याटिङ गर्नु मात्र स्थिर रह्यो ।
सीताले टप ४ मा खेल्ने ब्याटरहरूलाई सकेसम्म एउटै अर्डरमा खेलाउँदा राम्रो हुने उल्लेख गरिन् । ‘टी२० फर्म्याटमा खेलाडी जुनसुकै पोजिसजनमा पनि खेल्न तयार हुनुपर्छ तर सकेसम्म टप ४ को ब्याटर चाहिँ उही भयो भने त्यही अनुसार खेल्न सक्छन्’ उनको भनाइ थियो ।
ब्याटिङकै कुरामा अर्को एउटा कुरा गर्नुपर्दा विशेषगरी सिङ्गल लाई डबलमा परिणत गर्ने क्रममा ब्याटरबिच तालमेल मिलेको छैन । यो कुरा मिडल ओभरमा खेललाई चलाउनेदेखि विनिङ मेन्टालिटीको कुरामा पनि गएर जोडिएको हुन्छ ।
केही सकारात्मक पक्ष
पछिल्लो समयको प्रदर्शनका बारेमा खोतलिरहँदा केही सकारात्मक पक्षहरूलाई पनि बिर्सनु चाहिँ हुँदैन । दिगो रूपमा हेर्ने हो भने अबका खेलहरूमा कमीकमजोरीहरू सुधार गरी समस्या समाधान गर्ने कुरामा पनि आशावादी हुन सकिन्छ ।
यसबारेमा एलबी क्षेत्रीले पनि सकारात्मक दृष्टिकोणले समेत हेर्नुपर्ने कुरा औंल्याएका छन् । क्यानले सार्वजनिक गरेको क्रिकेट क्यालेण्डरमा महिला टोलीका पनि धेरै खेलहरू समावेश गरिएकाले यसको कार्यान्वयन भएमा अहिले देखिएका कमीकमजोरी विस्तारै हट्दै जाने उनको विश्वास छ ।
‘महिलाहरूले कति क्रिकेट खेले, कति एक्सपोजर पाए भन्ने कुरा पनि महत्वपूर्ण हुन्छ’ उनले भने, ‘नतिजा हेर्दा त त्यति सकारात्मक देखिँदैन तर उनीहरूले तयारी कत्तिको गरिराछन् भन्ने कुरा पनि हेर्नुपर्छ।’
अहिले देखिएका कमीकमजोरी पछि सुधार हुँदै जान सक्ने कुरामा उनी विश्वस्त छन् । ‘फिटनेसलगायतका शारीरिक र मानसिक पनि जेजे कमजोरीहरू छन्, त्यो सबै अफसिजनका बेलामा त्यति अभ्यास र तयारी नपुगेर हो’ क्षेत्रीले भने ।
‘क्यानको क्यालेण्डरमा भएका क्रिकेट गतिविधिहरूले महिला क्रिकेटलाई व्यस्त बनाइराख्छ, जसका कारण उनीहरू रेगुलर रूपमा अभ्यास गर्दै खेल्न पाइराख्नुले अहिले देखिएका कमीकमजोरीहरू सुधार हुँदै जाने सम्भावना पनि छ, अवसर पनि छ’ क्षेत्रीले अगाडि थपे ।
अहिले देखिएका फिजिकल र मेन्टल फिटनेसका समस्यासँगै एक्सपोजरका कुराहरुमा फाइदा पुग्ने र आगामी वर्षहरूमा राम्रो सफलता हासिल गर्न सकिने क्षेत्रीको भनाइ छ ।
***
युगाण्डामा भएको वुमन्स डे कपपछि नेपालले आउँदो अप्रिलमा भुटानमा गएर खेल्ने तय छ । मिति भने सार्वजनिक हुन बाँकी छ । त्यसअघि नेपाली टोलीले केही समय यतै अभ्यास गर्नेछ ।
भुटान तुलनात्मक रूपमा कमजोर टोली हो । नेपालका लागि अब मे महिनामा हुने टी-२० विश्वकप एसिया छनोट खेल्नुअघि त्यो शृंखला अन्तिम हुनेछ ।
उक्त शृंखलामा नेपालले कमजोरीहरूलाई अझै गहन रूपले बुझेर त्यही अनुसारको योजना बनाउन मद्दत पुग्न सक्छ ।
प्रतिक्रिया 4