
४ चैत, काठमाडौं । सोमबार राति १२ बजेबाट प्रहरी महानिरीक्षक (आईजी) बसन्तबहादुर कुँवर अनिवार्य अवकाशमा जाँदैछन् ।
अवकाशमा जान लागेका कुँवरलाई आइतबार नै सशस्त्र प्रहरी हेडक्वाटरले बिदाइ समेत गरिसकेको छ । आज सोमबार प्रहरी हेडक्वाटरले कुँवरको बिदाइ गर्नेछ ।
विद्यमान प्रहरी नियमावलीअनुसार ३० वर्षे उमेर सेवा अवधिका कारण उनी अवकाशमा जान्छन् । कुँवर अवकाशमा जाने भएसँगै ३१ औं आईजी को बन्छन् भन्ने प्रमुख चासो रहेको छ ।
३१ औं आईजीका तीन एआईजीहरु प्रतिस्पर्धामा छन् । जसमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रमुख तथा एआईजी कार्यरत दीपक थापा, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (प्रहरी एकेडेमी)का प्रमुख तथा एआईजी सुदीप गिरी र काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका प्रमुख तथा एआईजी टेकबहादुर तामाङ छन् । उनीहरू तीन जनामध्ये एक जनालाई सरकारले आईजीमा बढुवा गर्नेछ ।
आईजी बढुवाका लागि आज मन्त्रीपरिषद् बैठक बस्ने बताइए पनि समय भने अहिलेसम्म यकिन भइसकेको छैन ।
अहिले आईजीपीको प्रतिस्पर्धामा रहेका तीनै जना हालका आईजीपी कुँवरकै ब्याचको वैकल्पिक टोलीका रुपमा भदौ २०५२ मा प्रहरी सेवामा प्रवेश गरेका थिए ।
२६ फागुन २०७९ मा एआईजीमा सिफारिस भएका दीपक थापालाई ६ चैत २०७९ को मन्त्रिपरिषद् बैठकले एआईजीमा बढुवा गरेको थियो ।
थापा एआईजी भएको दुई सातापछि गिरी र तामाङ पनि एआईजीमा बढुवा भएका थिए । १३ चैतमा सुदीप गिरी र टेकबहादुर तामाङ एआईजी बढुवाको लागि सिफारिस भएका थिए ।
तीनै जना ३१ औं आईजी बन्ने दौडमा छन् । उनीहरु आफू निकटका शक्तिकेन्द्र मार्फत बढुवाका लागि लविइङ गरिरहेका छन् ।
आईजीपी बढुवाको सम्पूर्ण अधिकार प्रहरी नियमावलीले नेपाल सरकारलाई दिएको छ ।
‘एआईजीहरूमध्येबाट र एआईजी नभएको अवस्थामा डीआईजीमध्येबाट ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व बहन गर्नसक्ने क्षमता, नेतृत्व प्रदान गर्न सक्ने कुशलता तथा आफूभन्दा मुनिको प्रहरीलाई प्रोत्साहन र परिचालन गर्न सक्ने सामर्थ्यको आधारमा नेपाल सरकारले उपयुक्त देखेको उम्मेदवारलाई आईजीपी पदमा बढुवा गर्नसक्ने छ,’ प्रहरी नियमावलीको दफा ४१ मा उल्लेख छ ।
जसकारण सरकारले यी तीन एआईजीमध्ये जोकोहीलाई पनि आईजीमा बढुवा गर्न सक्नेछ । यही नियमावली विद्यमान रहेको अवस्थामा यी तीन जनामध्ये जो आईजी भए पनि उनले आगामी भदौसम्म मात्रै सेवा रहेछन् । त्यसपछि ३० वर्षे सेवा अवधिकै कारण उनीहरु पनि अवकाशमा जानेछन् ।
प्रतिक्रिया 4