
काठमाडौं । बलिउड पटकथा लेखक भवानी अय्यर नेपाली फिल्म लेखकलाई पटकथा शैली सिकाउने उद्देश्यले यतिबेला नेपालमा छिन् । शिक्षा फाउण्डेसनको आयोजनामा ४ दिने पटकथा लेखन कार्यशाला सोमबारदेखि राजधानीमा सुरु भएको छ ।
शिक्षा फाउण्डेसन नेपालीमूलका चर्चित अमेरिकी फेसन डिजाइनर प्रबल गुरुङको सामाजिक संस्था हो । ‘कथासथा’सँगको सहकार्यमा फाउण्डेसनले ‘गो टेल इट अन द माउन्टेन’ नामक कार्यशाला गरेको हो ।
कार्यशालाले नेपाली पटकथा लेखकलाई कला निखार्न, स्क्रिप्टमा महत्वपूर्ण प्रतिक्रिया प्राप्त गर्न र उद्योगका व्यवसायिक पक्षसँग जोडिन मद्दत गर्ने आशा आयोजकको छ । विविध पृष्ठभूमि भएका १६ जना व्यक्तिलाई कार्यशालामा सहभागी गराइएको छ ।
‘यसले अन्तरक्रिया र गीत र नृत्यको दक्षिण एसियाली विशिष्ट फिल्मी अनुभवलाई कसरी राम्रोसँग लेख्ने भन्ने बारेमा पनि विचार गर्नेछ’ शिक्षा फाउण्डेसनले भनेको छ । कार्यशालाको अन्तिम दिनमा सहभागीले नेपाली फिल्म निर्मातासँग कथा प्रस्तुत गर्ने मौका पनि पाउनेछन् ।
कार्यशाला समापनको दिनमा फिल्म निर्माता र इच्छुकले अय्यरसँग संवाद गर्न पाउनेछन् । लेखक अय्यर ‘ब्ल्याक’, गुजारिस, लुटेरा, राजी, सामबहादुरजस्ता समीक्षात्मकरुपमा निकै रुचाइएका भारतीय फिल्मको लागि परिचित छिन् । संजयलीला भन्सालीको ‘ब्ल्याक’बाट उनले पटकथा लेखनमा डेब्यु गरेकी थिइन् ।
उनले भारतीय वेब-सिरिज ‘काफिर’, ‘ब्रिथ : इन टु द स्याडोज’, ‘द अम्पायर’ पनि लेखेकी हुन् । उनको आगामी फिल्म ‘कमल और मीना’ हो जसलाई सारेगमाले निर्माण गरेको हो ।
सलमान खान र अतुल अग्नीहोत्रीको फिल्म ‘लोरी’ पनि उनको फिल्म हो जसलाई मेघ्ना गुल्जारले निर्देशन गरेकी छन् । फिल्म म्यागजिन स्टारडस्टकी सम्पादक समेत रहेकी अय्यरको उपन्यास ‘अनोन’ प्रकाशित छ ।
प्रतिक्रिया 4