
काठमाडौ । चर्चित बलिउड पाश्र्वगायिका संजीवनीले आगामी नेपाली फिल्म ‘माइतीघर’को शीर्षगीतमा आवाज दिएकी छन् । यसअघि सोही नामबाट निर्माण भएको फिल्मको कालजयी गीत ‘वसन्त नै बस्न खोज्छ यहाँ…’को नयाँ संस्करणमा उनलाई सुन्न पाइने भएको हो ।
यसअघि उक्त चर्चित गीतमा आशा भोसलेको आवाज थियो । संगीत जयदेव र शब्द किरण खरेलकै यथावत हुनेछन् । संजीवनीको स्वर र रिकेश गुरुङको एरेन्जमा कुनैबेलाको चर्चित गीतले नयाँ जीवन पाउन लागेको हो ।
आइतबार मुम्बईस्थित नीरञ्जन स्टुडियोमा संजीवनीले गीत रेकर्ड गरेकी हुन् । यसअघि थुप्रै नेपाली गीतमा आवाज दिएकी लोकप्रिय भारतीय गायिकाको यो पुनरागमन हो ।
नयाँ गीतलाई बाँसुरी, मादल, ढोलक र सारंगीका धुन भरेर पुनः एरेन्ज मात्र गरिएको निर्माता रोहित अधिकारीले बताए । ‘जुन उचाइ र मिठासमा आशा भोस्लेले पहिला गाउनुभएको थियो, त्यही मिठासलाई निरन्तरता दिन संजीवनीलाई गाउन लगाएका हौं’ अधिकारीले अनलाइनखबरसँग भने ।
संजीवनीले राम्रा गीत प्राप्त भएमा अन्य नेपाली गीत पनि गाउने बताइन् । फिल्ममा यो सहित ४ गीत समावेश हुनेछन् । एसडी योगी, एलिस कार्की र चन्द्र दोङका गीत पनि यसमा समेटिनेछन् ।
बैशाख ७ देखि छायांकन सुरु हुने फिल्मलाई शैलुङ, काभ्रे र काठमाडौंमा खिचिनेछ । मिलन तामाङले निर्देशन गर्ने यो फिल्ममा प्रकाश सपुत, केदार घिमिरे ‘माग्ने बुढा’, धीरज मगर, उपासनासिंह ठकुरी, श्यामाश्री शेर्पा, शिशिर बाङ्देल, बुद्धि तामाङ, सन्तोष शाही, माओत्से गुरुङको अभिनय हुनेछ ।
निर्मातामा रोहितसहित धीरज तामाङ र रविन शेरचन हुनेछन् ।
प्रतिक्रिया 4