+

आगोले पोल्नेबित्तिकै तुरुन्त के गर्ने ?

२०८१ चैत  ४ गते १३:३४ २०८१ चैत ४ गते १३:३४
Shares
आगोले पोल्नेबित्तिकै तुरुन्त के गर्ने ?

जीवनमा कयौं घट्ना यस्ता हुन सक्छन्, जसको अनुमान पहिले लगाउन सकिँदैन। यस्तै, जोखिमपूर्ण घट्नामध्ये एक हो, आगलागी। अचानक आगलागीमा परिहाल्यो भने के गर्ने ? दिमाग नै हल्लाउने प्रश्न हो, यो। यदि आगलागीमा पर्नुअघि यो प्रश्नको उत्तर भइराख्यो भने जीवन बच्न सक्छ।

आगोले पाेलेमा डराउने होइन, डटेर सामना गर्नुपर्छ। हिम्मत लिएर अवस्था नियन्त्रण गर्न सकियो भने ज्यानमात्र होइन, जलेको छालालाई पनि बचाउन सकिन्छ।

तुरुन्तै के गर्ने ?

हतास नहुने

अचानक आफू बसेको ठाँउमा आगो लाग्यो भने के गर्ने ? एकछिन त हतासले दिमागले काम गर्न गाह्रो होला। तर, एकछिन पछि नआत्तिकन केही कदम चाल्यो भने आफू र वरपरको व्यक्तिलाई बचाउन सकिन्छ।

आगो निभाउने 

आगो शरीरमा लागेको वा पोलेको छ भने पहिला निभाउन प्रयास गर्नुपर्छ। त्यसका लागि पानी उपलब्ध छैन भने भुइँमा लडीबुडी गरेर आगो निभाउने प्रयास गर्नुपर्छ। अरु आगोमा परेको देखेमा पनि यो उपाय सिकाउन सकिन्छ। बाक्लो कपडा वा बोरा भिजाएर शरीर छोपेर पनि आगो निभाउन सकिन्छ।

आधा घण्टा निरन्तर पानी खन्याउने

जलेको भागमा बगिरहेको पानी आधा घण्टासम्म हालिरहनुपर्छ। सो पानी अत्याधिक चिसो नभए पनि केही फरक पर्दैन। तर, जलेको भागमा हालिरहनुपर्छ।लगातार पानी हाल्दा अन्य भागमा फैलिन पाउँदैन। पोलेको घाउ जटिल हुनबाट जोगिन्छ अनि दुखाइ कम हुन्छ।

आगोबाट उद्धार गर्नेबित्तिकै केही नगरी अस्पताल तुरुन्त लगिहालेमा पनि तातोको असर गहिरो भइसक्ने हुँदा एम्बुलेन्स बोलाएर आउँदै गरेको अवस्थामा पनि पानी हालिरहनुपर्छ। अस्पतालमा पनि पहिला गर्ने प्रक्रिया यही हो।

त्यसैले, केही नसोची जति सक्यो छिटो पानी खन्याउनु उचित हुन्छ। त्यसपछि पोलेको भागको अवस्था हेरेर थप उपचार गर्ने वा नगर्ने टुंगो गर्नुपर्छ।

मल्हम वा घ्युकुमारी लगाउने

पानी हालिसकेपछि आगोले थोरै मात्र भेटेर थोरै जलेको अवस्था नपोल्ने खालको मल्हम र घ्युकुमारी लगाउन सकिन्छ। यसले दुखाइ कम गर्छ। घाउ छिटो निको पार्छ।

पोलेको छालाको सतहमा फोका उठ्को सक्छ। त्यस्तो फोका फुटाउनु हुन्न। फोका फुट्यो भने घाउमा कपडा टाँसिन सक्छ। साथै घाउ दुख्ने र संक्रमण हुने जोखिम पनि हुन्छ।

गोलभेडा, आइसक्युब (बरफका टुक्रा) लगाउनु हुँदैन

धेरैले पोलेको ठाउँमा आइस लगाउछन्। कतिपयले गोलभेडा, गोबर लगाउँदा ठिक हुन्छ भन्ने पनि गरेको सुनिन्छ। यसरी अनुमानको भरमा घरेलु उपचार गर्दा घाउ थप जटिल बन्ने, संक्रमण हुने, पाक्ने हुनसक्छ।

कस्तो अवस्थामा अस्पताल जाने ?

शरीरको धेरै भाग जलेको वा गहिरो गरी पोलेको अवस्थामा अस्पताल नै लानुपर्ने हुन्छ।

कतिको गहिरो र धेरै पोलेको छ भनेर अनुमान लगाउन कठिन पनि हुनसक्छ।

त्यसैले, धेरै ठाँउमा पोलेको सहन नसक्ने गरी दुखिरहेको छ भने आधा घण्टा पानी राखेर नजिकैको अस्पताल लानुपर्छ।

छाला कालोबाट सेतो भइसकेको अवस्थामा भने घाउ गहिरो भएको बुझ्न सकिन्छ।

सबैलाई जलन उपचार केन्द्र नै जानु पर्दैन

पोलिसकेपछि जलन उपचार केन्द्र नै लानुपर्छ भनेर कतिपय बिरामीलाई टाढाको अस्पताल लैजाने पनि गरिन्छ । टाढाबाट घन्टौँ लगाएर अस्पताल पुग्दा अवस्था नाजुक भइसकेका केसहरू थुप्रै छन्।

पोलेको अवस्थामा जलन उपचार केन्द्र नै खोजेर समय वर्वाद पार्नु भन्दा जति सक्दो छिटो पायक पर्ने अस्पताल लानु उचित हुन्छ।

यसले समय, अंग र जीवनै बचाउन सक्छ।

जलन उपचार जलेको भाग अनुसारको विशेषज्ञ आवश्यक पर्ने सामूहिक उपचार हो। जस्तो कि, हातको भाग जलेको अवस्थामा हाड तथा नसा रोग विशेषज्ञको आवश्यक पर्छ।

अनुहारको भाग जलेको अवस्थामा फेसियल सर्जनको आवश्यक पर्छ। बच्चामा उपचार चाहिएको खण्डमा बालरोग विशेषज्ञले पनि उपचार गर्नुपर्ने हुन्छ। त्यसकारण सुरुमा पायक पर्ने अस्पतालमा लानु उचित हुन्छ।

कस्तो अवस्थालाई गम्भीर मान्ने ?

शरीरको ४० देखि ५० प्रतिशतभन्दा बढी भाग गहिरो रुपमा जलिसकेको अवस्थामा बिरामी बचाउन गाह्रो हुन्छ। पछिल्लो १० वर्षमा यस्ता बिरामी उपचारपछि बचेको रेकर्ड नै छैन। नेपालमा मात्र होइन, विश्वका ठूला-ठूला अस्पतालले पनि बचाउन सकिरहेको छैन।

शरीरको धेरै भाग जलेको अवस्था, पहिला नै कुनै स्वास्थ्य समस्याबाट ग्रसित भएको उमेरले वृद्ध भइसकेको अवस्थालाई गम्भीर मानिन्छ। जस्तो कि, वृद्ध अवस्थामा धेरै भाग जलेको छ, फोक्सोको रोगबाट ग्रसित भएमा पनि बचाउन गाह्रो हुन्छ।

उपचार प्रक्रिया

जलनको उपचार प्रक्रिया घाउको प्रकृति अनुसारको हुन्छ।

आगो लागेर ३ घण्टाभित्र आएमा पहिला पानी दिएर जलेको भागमा लगाएर हेरिन्छ। २० प्रतिशत जलेको अवस्थामा पानी २४ घण्टासम्म पानी स्लाइनमार्फत दिनुपर्छ। त्यसबीचमा बिरामीलाई पानी पुगेको छ कि छैन हेरिन्छ।

हातखुट्टाका भागहरू धेरै जलेको छ भने तत्काल शल्यक्रिया गर्नुपर्ने पनि हुनसक्छ। श्वास-प्रश्वासमा समस्या भएमा अक्सिजन दिएर राख्नुपर्ने हुन्छ।

अरु कुनै दीर्घरोग पहिले नै छ कि छैन भनेर पनि हेर्ने गरिन्छ। अनुहारको छाला जलेको अवस्थामा फेसियल सर्जरी वा प्लास्टिक सर्जरी समेत गर्नुपर्ने हुनसक्छ।

उपचार जलन
प्रा. डा. शंकरमान राई
लेखक
प्रा. डा. शंकरमान राई
वरिष्ठ प्लास्टिक सर्जन

प्रा. डा. राई हाल कीर्तिपुर अस्पतालमा कार्यरत छन् । उनले प्लास्टिक सर्जरीमा एमडी गरेका छन् । उनको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर ९४५ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय