+
+
Shares
स्ववियु सरगर्मी :

महाराजगञ्ज मेडिकल क्याम्पसमा नेविसंघ र अखिललाई ‘मधेशी म्याजिक नम्बर’को आश

जीतको जादुयी नम्बर नै मधेशी समुदायका विद्यार्थीसँग भएकाले यसपटक नेविसंघ र अनेरास्ववियु दुवैले सभापतिमा त्यही समुदायका विद्यार्थीलाई उठाएका छन् ।

पुष्पराज चौलागाईं पुष्पराज चौलागाईं
२०८१ चैत ४ गते २०:४९

४ चैत, काठमाडौं । विद्यार्थीको चुनावले छोपिसक्दा पनि महारागञ्ज मेडिकल क्याम्पस प्राङ्गण सुनसान छ । भोलि ५ चैतमा हुने स्ववियु चुनावका लागि उम्मेदवारहरू मतदाता भेट्न आन्तरिक दौडधुपमा छन् । वार्ड, अप्रेसन थियटरमा काम गरिरहेका साथीभाइलाई अजेन्डासहित विश्वास दिलाउन कसरतमा लागिरहेका छन् ।

‘अन्य कलेजको जस्तो हामीकहाँ बाहिरी माहोल देखिँदैन । सबैजना आ-आफ्नो काममा व्यस्त हुने भएकाले मेसो मिलाएर भेट गरिरहेका छौं,’ नेपाल विद्यार्थी संघका सभापति उम्मेदवार विवेककुमार यादवले भने ।

बाहिरी रूपमा चुनावी माहोल नदेखिए पनि प्रतिस्पर्धीबीचको टक्कर भने तीव्र देखिन्छ । नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी र नेपाल जनमत संघ प्रतिस्पर्धामा उत्रिएका छन् । प्रमुख निर्वाचन अधिकृत डा. निञ्जु रञ्जितका अनुसार यो क्याम्पसमा १ हजार ६७१ मतदाता छन् ।

‘एमबीबीएसतर्फको सिट संख्या बढेसँगै विद्यार्थी संख्या पनि बढेको छ । प्रत्यक्षतर्फ ४ प्यानलले चुनावमा भाग लिएका छन्,’ निर्वाचन अधिकृत डा. रञ्जितले भने ।

सभापतिमा नेविसंघबाट विवेककुमार यादव, अनेरास्ववियुबाट पंकज गुप्ता, अखिल क्रान्तिकारीबाट अशोक घर्ती मगर र नेपाल जनमत संघबाट उम्मेदवार छन् ।

यसपटक भने एक्लाएक्लै चुनावी मैदानमा होमिएका मुख्यतया नेविसंघ र अनेरास्ववियुबीच बलियो टकराब हुने देखिन्छ । महारागञ्ज मेडिकल क्याम्पस नेविसंघको बलियो किल्ला मानिन्छ । नेविसंघले २०७३ र २०७९ को स्ववियु चुनावमा भने यो क्याम्पसमा हार बेहोरेको थियो ।

यसपटक नेविसंघ पुरानो बिरासतलाई पुनः ब्युँताउने कसरतमा लागेको छ । तर अनेरास्ववियु आफ्नो जीतलाई लगातार बढाउँदै लैजाने ध्याउन्नमा छ । त्यसैकारण चुनाव जित्न दुवै संगठनले ‘म्याजिक नम्बर’ प्रयोग गरेका छन् ।

महाराजगञ्ज क्याम्पसमा मधेशी समुदायको बाहुल्य छ । उनीहरूले आफ्नो हकहित र अधिकारका लागि गठन गरेको ‘मधेश स्टुडेन्ट युनियन’मा करिब ५ सयभन्दा बढीको आबद्धता छ । तर उनीहरु मधेशी राजनीतिक पार्टीको आस्थामा भने जोडिएका छैनन् ।

२०७९ सालमा अनेरास्ववियुले आनन्द सिंहलाई सभापतिको रुपमा उठाउँदै मधेशी समुदायको भोटलाई आफ्नो पक्षमा पारेको थियो । जीतको जादुयी नम्बर नै मधेशी समुदायका विद्यार्थीसँग भएकाले यसपटक नेविसंघ र अनेरास्ववियुले सभापतिमा मधेशी विद्यार्थीलाई उठाएका छन् ।

महाराजगञ्ज मेडिकल क्याम्पस स्ववियु सभापतिमा नेविसंघबाट विवेककुमार यादव, अनेरास्ववियुबाट पंकज गुप्ता र अखिल क्रान्तिकारीबाट अशोक घर्ती मगर उम्मेदवार छन् ।

‘हार-जितको नम्बर नै मधेशी समुदायका विद्यार्थीमा निर्भर रहन्छ,’ एक उम्मेदवारले भने, ‘त्यसै कारण दुवै संगठनले सभापतिमा मधेशी समुदायका विद्यार्थीलाई उठाएका हुन् ।’

दुवै संगठनमा मधेशी समुदायका विद्यार्थी प्रतिस्पर्धामा उत्रिएका कारणले मत पनि विभाजन हुने देखिन्छ ।

‘दुवै संगठनबीच बलियो प्रतिस्पर्धा छ । जितहार धेरै नम्बरले हुने देखिँदैन,’ ती उम्मेदवार भन्छन् । तर महाराजगञ्ज क्याम्पसका विद्यार्थी भने स्ववियु चुनावको महत्व र आवश्यकताबारे बेखबर नै छन् ।

‘दिनरात नै अध्ययनमै व्यस्त हुने भएकाले खासै स्ववियु चुनाव लागेको छैन,’ एक मतदाता विद्यार्थीले भने, ‘जसले जिते पनि हाम्रो समस्या ज्यूँका त्यूँ हुने हो ।’

विगत कार्यकालको कामले नै विश्वास गरेर यसपटक पनि जीतले निरन्तरता पाउनेमा अनेरास्ववियुका सभापतिका उम्‍मेदवार गुप्ता दाबी गर्छन् । ‘यसभन्दा अगाडिको अनेरास्ववियुको कार्यकालमा छात्रावास डी र ई ब्लकको निर्माणदेखि महिला शौचालयमा निःशुल्क सेनिटरी प्याड, होस्टेल र पुस्ताकालयमा निःशुल्क नेटको व्यवस्था गरेको थियौं,’ गुप्ताले भने, ‘अघिल्ला कार्यकालमा गर्न बाँकी केही काम छन् । ती काम पूरा गराएर छोड्छौं ।’

स्मार्ट बोर्डसहितको सुविधासम्पन्न कक्षाकोठा, समयानुकुल पाठ्यक्रम परिमार्जनको व्यवस्था, प्रत्येक वर्ष शैक्षिक क्यालेन्डरअनुसार कार्यक्रम सञ्चालन गर्न पहल, सबै संकायका लागि पर्याप्त कक्षाकोठा, प्राध्यापक एवं प्रयोगशालाको सुनिश्चिता, समयमै परीक्षा, नतिजा, परीक्षाअघि उचित तयारी बिदा लागि पहल गरिने जस्ता प्रतिबद्धता भएकाले पनि अनेरास्ववियुसँग मतदाता विद्यार्थी आकर्षित हुने गुप्ताको दाबी छ ।

अनेरास्ववियुको तर्फबाट स्ववियु सभापतिका उम्‍मेदवार पंकज गुप्ता।

यस्तै, सबै आवासीय चिकित्सकलाई छात्रावासको व्यवस्थापनमा जोड, छात्रावासमा पानी बत्ती, सरफाइ साथै सुरक्षाकर्मी र सीसीटीभी क्यामेराको सुनिश्चितता गरिने, छात्रावास भित्रका विद्यार्थीका सहजता लागि ‘लन्ड्री’ को व्यवस्था, सोलार प्यानल जडान गरी तातोपानीको व्यवस्था, पीजी तथा आवासीय चिकित्सकलाई अनिवार्य ३० दिन बिदा तथा सुत्केरी बिदा ९० दिन र आवासीय चिकित्सकका श्रीमान्, श्रीमती, आमाबुबा र सन्तानको लागि बीमाको सुनिश्चितता गर्न पहल गरिने लगायतको प्रतिबद्धता अनेरास्ववियु प्यानलले राखेको छ ।

नेविसंघका सभापति उम्मेदवार विवेककुमार यादव स्ववियु नेतृत्वको लागि उठाएको टिम जातीय, क्षेत्रीय, लिंगीय रुपमा समावेशी हुनुले पनि नेतृत्व लिने बलियो आधार भएको तर्क गर्छन् ।

‘स्वतन्त्र विद्यार्थी युनियन भने पनि व्यवहार त पार्टीको भ्रातृ संगठनको रुपमा भएर काम गरेको देखिन्छ,’ यादवले भने, ‘यसलाई अब चिर्दै सम्पूर्ण विद्यार्थीको हकहितमा काम गर्नेछु ।’

यादव यसपटक नेविसंघले जीत हासिल गर्ने दाबी गर्छन् । आफ्नो प्यानलले जिते क्याम्पस सुधारको महसुस हुने जिकिर उनको छ । ‘नयाँ छात्रावासको लामो समयदेखि प्रस्ताव गरिएको छ । तर परियोजना अझै सुरु भएको छैन । त्यस परियोजनालाई चाडैँ पूरा गर्ने प्रतिबद्धता छ,’ यादवले आफ्नो एजेण्डा सुनाए ।

क्यान्टिनमा सफा खाना साथै विद्यार्थीलाई उचित मूल्य निर्धारण, नयाँ पुस्तकालय, पर्याप्त बस्ने ठाउँ, छलफल कोठाहरू, सिकाइ र अनुसन्धान बढाउन वैज्ञानिक रूपमा डिजाइन गरिएका कक्षाकोठा बनाउने योजना नेविसंघले सारेको छ ।

‘अघिल्ला कार्यकालमा गर्न बाँकी केही काम छन् । ती काम पूरा गराएर छोड्छौं ।’  पंकज गुप्ता, अनेरास्ववियु, सभापतिका उम्‍मेदवार

चिकित्सा अभ्यासमा संक्रमण जोखिमबाट बचाउन समयमै खोप प्रदान गर्न भर्नापछि तुरुन्तै अनिवार्य हेपाटाइटिस बी खोप कार्यक्रम विस्तार गर्न पहल गरिने यादवले बताए ।

‘विद्यार्थीका समस्या सुन्ने र समाधानको सधैं सक्रिय छौं । त्यसैले अझै धेरै हामी परिचित छौं,’ यादवले भने, ‘हाम्रो प्रतिवद्धता र क्षमतामा सबै साथी विश्वस्त भएकाले जीत सुनिश्चित छ ।’

यादवले मधेशी समुदायबीच नै किन प्रतिस्पर्धामा उत्रिनुभएको भन्ने प्रश्नमा यस विषयलाई चुनावसँग दाँज्न नहुने प्रतिक्रिया दिए । ‘मधेशबाट अध्ययन गर्न आउने साथीभाइको सहजताका लागि समूह बनाएका हौं । तर राजनीतिक आस्था भने राखेको छैन,’ यादवले भने, ‘तर २०७९ स्ववियु चुनावमा यसको दुरुपयोग पनि भयो । यसलाई चुनावमा जोडेर फाइदा लिन मिल्दैन ।’

नेविसंघका तर्फबाट स्ववियु सभापतिका उम्‍मेदवार विवेककुमार यादव ।

यस्तै नेविसंघ र अनेरास्ववियु मधेशी समुदायबाट उठेकाले भोट दुवै विभाजन हुने हुँदा त्यसको फाइदा अखिल क्रान्तिकारीलाई हुने सभापति अशोक घर्ती मगर बताउँछन् । संगठनको हिसाबले हेर्दा अखिल क्रान्तिकारी महारागञ्ज क्याम्पसमा तेस्रो नम्बरमा आउने उनले बताए ।

‘मधेशी समुदायका साथीहरुको बाहुल्य बढी छ । यसभन्दा अगाडि एकजुट हुनुहुन्थ्यो । तर यसपटक उहाँहरुबीच नै फुट भएको छ,’ मगर भन्छन्, ‘उहाँको मत विभाजनले अखिल क्रान्तिकारीको जित हुने सम्भावना देखिन्छ ।’

 

‘विद्यार्थीका समस्या सुन्ने र समाधानको सधैं सक्रिय छौं । त्यसैले अझै धेरै हामी परिचित छौं। हाम्रो प्रतिवद्धता र क्षमतामा सबै साथी विश्वस्त भएकाले जीत सुनिश्चित छ ।’ विवेककुमार यादव,नेविसंघका सभापति उम्मेदवार

एमबीबीएस चौथो वर्षमा अध्ययनरत मगरको प्यानलमा प्रत्यक्षतर्फ तीन जना र समानुपातिकतर्फ ९ जनाको उम्मेदवारी छ ।

मगरले मुख्य रुपमा छात्रावास, पुस्तकालय, अध्ययन अनुसन्धानमा प्रवर्द्धन, आवासीय चिकित्सकलाई गुणस्तरीय खान, सुपथ मूल्य र सरसफाइ सहितको चमेनागृह लगायत बनाउने प्रतिबद्धता रहेको बताए ।

‘अहिलेको छात्रावासमा बर्खा समयमा पानी भुईंतलामा डुबानमै पर्छ । त्यसलाई हल गर्न र नयाँ छात्रावास बनाउने मेरो मुख्य भूमिका रहनेछ,’ मगरले भने ।

मेडिकल क्याम्पसमा एक हजार ६ सय मतदाता विद्यार्थीमध्ये एक हजार पाँच सय मत खस्ने उम्मेदवारकोहरुको आकलन छ । त्यसले गर्दा करिब ९ सयको मत ल्याएमा जित्ने विद्यार्थीको नेता अनुमान गर्छन् ।

लेखक
पुष्पराज चौलागाईं

अनलाइनखबरमा आबद्ध चौलागाईं स्वास्थ्य विटमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?