
४ चैत, काठमाडौं । महारागञ्ज नर्सिङ क्याम्पसमा भोलि मंगलबार हुने स्ववियु निर्वाचनको सरगर्मी बढेको छ । अनेरास्ववियु र नेविसंघबीच मुख्य प्रतिस्पर्धा हुने यो क्याम्पसमा दुवै विद्यार्थी संगठन बिरासत जोगाउने र भत्काउने योजनाअनुसार मैदानमा उत्रिएका छन् ।
नेकपा एमाले निकट अनेरास्ववियु मनकुमारी बुढाको नेतृत्वमा चुनाव उत्रिएको छ भने कांग्रेस नेविसंघले बिन्दु पोखरेललाई अघि सारेको छ ।
महाराजगञ्ज नर्सिङ क्याम्पसमा यसअघि निरन्तर अनेरास्ववियुले जित हासिल गर्दै आएको छ । यो संगठन आफ्नो बिरासत कायम नै राख्ने रणनीतिमा छ भने नेविसंघ किल्ला तोड्ने कसरतमा लागेको छ ।
नेविसंघकी उम्मेदवार बिन्दु पोखरेल भन्छिन्, ‘हामीले ठूला कुरा गरेका छनौं । सक्ने कुरा अगाडि ल्याएका छौं । साथीहरुलाई निरन्तर सहयोग गरेर विश्वास जितेकाले हाम्रो जित हुन्छ भन्नेमा ढुक्क छौं ।’
नेविसंघले आवास बाहिर बसेका नर्स विद्यार्थीका लागि नियमित बस सेवा सञ्चालन गर्ने, चेमना गृहलाई सञ्चालन ल्याउने साथै गुणस्तरीय तथा स्वच्छ खानानको सुनिश्चिता गर्ने, कलेज प्रांगणमा निःशुल्क वाइफाइको व्यवस्था, बिदाको दिन पनि लाइब्रेरी सञ्चालन गर्ने लगायतका प्रतिबद्धता जनाएको छ ।
‘कलेजमा पानीको समस्या छ । हाम्रो कार्यकालमा होस्टेलमा तातोपानीको सुविधादेखि सरसफाइयुक्त शौचालय, शुद्ध पानी, दक्ष भान्से कर्मचारी नियुक्त गर्न पहल गर्ने अजेन्डा ल्याएका छौं,’ पोखरेल भन्छिन्, ‘अहिले देखिएका यी समस्या उठान मात्रै होइन, हल पनि गर्नेछौं ।’
पुरुष नर्सलाई होस्टेलको व्यवस्था, सबै विद्यार्थीलाई त्रिभुवन विश्वविद्यालयको लाइब्रेरीमा पहुँच, भर्ना हुने बित्तिकै ई-लाइब्रेरीमा इन्ट्री हुने तथा विद्यार्थी, कलेज तथा समुदायको सहकार्यमा हप्तामा कम्तीमा पनि एक पटक समुदायमा आधारित स्क्रिनिङ कार्यक्रममा सहभागि गराउने लगायतका प्रतिबद्धता नेविसंघको छ ।
क्लिनिकल ड्युटी ९० प्रतिशत गर्नुपर्ने भए पनि १०० प्रतिशत नै गरिराख्नुपरेको र त्यसलाई घटाउन पहल गर्ने पोखरेलले बताइन् । कतिपय नर्स महरागञ्जबाट उत्तिर्ण भएर बेरोजगार रहनुपर्ने अवस्था समेत आउने भएकाले करिअर काउन्सिलको व्यवस्था समेत गरिएको उनले जानकारी दिइन् ।
‘संघ उठाएका एजेन्डाको साथै आफूमा भएको छविका कारण सबै विद्यार्थीको मन जितेका छौं । यसपटक अनेरास्ववियुको विरासतलाई तोड्ने पक्षमा छौं,’ पोखरेल भन्छिन् ।
पोखरेलको नेतृत्वमा सचिवमा स्वस्तिका तिवारी, कोषाध्यक्षमा विनु भुर्तेल र सदस्यहरू रोजिना कार्की, सुदीप शाह, स्लेष्मा सुवेदी, दुर्गा विष्ट र निसा पराजुली रहेका छन् ।
अनेरास्ववियुकी उम्मेदवार मनकुमारी बुढा भने यसपटक पनि आफ्नो बिरासत जोगिनेमा ढुक्क छिन् । ‘हाम्रो प्यानलबाट सबै समावेशी उम्मेदवार उठाएका छौं । कलेजको जुनसुकै काममा संक्रिय रहेका काम गरेका छौं,’ बुढा भन्छिन्, ‘गर्न सकिने कुरा मात्रै समावेश गरेका छौं ।’
उनले थपिन्, ‘हामीले मुख्य रुपमा कक्षाकोठा व्यवस्थापन, अन्तर्राष्ट्रिय मान्यताप्राप्त नर्सिङ पाठ्यक्रम, विद्यार्थी र शिक्षकको अनुपात मिलाउन पहल, पुस्तालयमा सबै विधाको किताब राख्न पहल गर्ने लगायतका अजेन्डा उठाएका छौं ।’
सरकारका नयाँ कार्यविधि, प्रोटोकल, वार्षिक प्रतिवेदन र लक्षित कार्यक्रमसम्बन्धी सम्पूर्ण अपडेटेड सामग्री लाइब्रेरीमा उपलब्ध गराउने, बिएस्सी मिडबाइफरीको कार्यक्रममा लिएको महँगो शुल्क घटाउन पहल गर्ने लगायतका योजना अनेरास्ववियुले अघि सारेको छ ।
‘अरुको विरोध गरेर हिँड्नेभन्दा पनि आफूले के काम गर्न सकिन्छ भन्ने मतदातासँग प्रतिबद्धता बलियोसँग राखेका छौं,’ बुढा दाबी गर्छिन्, ‘सबै साथीको सकारात्मक प्रतिक्रिया पाएकाले जित्नेमा आशावादी छौं ।’
बुढाको नेतृत्वमा सचिवमा हेमराज न्यौपाने, कोषाध्यक्षमा आरती सापकोटा र सदस्यमा कविता बाँस्तोला, सुरक्षा पाठक, कविता श्रेष्ठ, प्रिया प्रधान र अनिता बुढा मगर चुनावमा उत्रिएका छन् ।
महाराजगञ्ज नर्सिङ क्याम्पसमा ५ सय २९ जना मतदाता छन् । करिब ३ सयको मत ल्याउन सकेमा जित हुनसक्ने उम्मेदवारको अनुमान छ ।
प्रतिक्रिया 4