+

सेनेगलका पापे देकितेले ललितपुर सिटीबाट एनएसएल खेल्ने

२०८१ चैत  ४ गते १५:४७ २०८१ चैत ४ गते १५:४७
सेनेगलका पापे देकितेले ललितपुर सिटीबाट एनएसएल खेल्ने

४ चैत, काठमाडौं । सेनेगलका डिफेण्डर पापे अब्दुलाह देकितेले साविक विजेता ललितपुर सिटी एफसीबाट नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण खेल्ने भएका छन् । उनी यही चैत १६ देखि सुरु हुने एनएसएल खेल्न सोमबार नेपाल आइपुगेको क्लबले जनाएको छ ।

३२ वर्षिय देकितेले आफ्नो फुटबल करियर विभिन्न देशका क्लबहरूबाट खेलेका छन् । उनले अफ्रिका, एसिया र अन्य महादेशका विभिन्न लिगहरूमा खेलेका छन् ।

ललितपुरले अनुबन्ध गरेको पेपे पाँचौ विदेशी खेलाडी हुन् । ललितपुरले यसअघि नै भुटानका कप्तान चेन्चो ग्याल्सेन, हाइटीका फरवार्ड केरभेन्स बेलफोर्ट, प्यालेस्टिनी मिडफिल्डर जोनाथान कान्टिलाना र फ्रान्सका गोलकिपर जेफ्री बाल्टुसलाई अनुबन्ध गरिसकेको छ ।

बेल्जियमको दोस्रो र तेस्रो श्रेणीको लिग खेलेका पापेले एसियामा भियतनामको शीर्ष श्रेणीको लिग भि१ लिग समेत खेलेका छन् । देकितेले गत वर्ष भारतको सुपर केरला लिगमा क्यालिकट एफसी बाट खेलेका थिए ।

उत्कृष्ट ट्याकलिङ र बल नियन्त्रणको क्षमता रहेको पापे डिफेन्समा शारीरिक रुपमा मजबुत र सेट-पिसहरूमा राम्रो प्रभाव पार्ने खेलाडी भएको र उनको आगमनले क्लबको डिफेन्समा मजबुत हुने क्लबले अपेक्षा राखेको छ ।

एनएसएलको साविक विजेता ललितपुर सिटीमा सामेल हुन पाउँदा उनले आफु निकै उत्साहित भएको उनले बताएका छन् । ललितपुर सिटीलाई नेपाल सुपर लिगको उपाधि जिताउन सक्दो योगदान दिने उनले बताएका छन् ।

नेपाली राष्ट्रिय टिमका डिफेण्डर अनन्त तामाङ मार्की प्लेअर रहेको ललितपुरको मुख्य प्रशिक्षकमा इंग्ल्याण्डका साइमन ग्रेसन छन् । यस्तै ललितपुरले क्याटेगोरी एबाट डिफेण्डर सनिश श्रेष्ठ र क्याटेगोरी बी बाट मिडफिल्डर आदित्य शाक्यलाई रिटेन गरेको थियो ।

अक्सनमा ललितपुरले क्याटेगोरी ए बाट मिडफिल्डरद्वय मणि कुमार लामा र सन्तोष खत्रीलाई भित्र्याएको थियो भने क्याटेगोरी बी बाट गोलकिपर समित श्रेष्ठ, डिफेण्डर योगेश गुरुङ र अभिषेक वाइवा, मिडफिल्डर सुदिप गुरुङ र नविन लामालाई अनुबन्ध गरेको थियो ।

ललितपुरले सी क्याटेगोरीको ड्राफ्टबाट मनोज राई, पवन शाही, दिपेश घले र अनिश क्षेत्रीलाई अनुबन्ध गरेको थियो ।

ललितपुर सिटीले चैत्र १६ गते पहिलो संस्करणको च्याम्पियन काठमाडौं रेजर्ससँग प्रतिस्पर्धा गर्दै उपाधि रक्षा अभियान थाल्नेछ ।

ललितपुर सिटी एफसी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय