कमजोरी भयो, चक्कर लाग्छ,
रक्सी खायो, चक्कर लाग्छ,
घाममा गयो, चक्कर लाग्छ।
रगत कम भयो, धड्कन तीब्र भएर मन आत्तिन्छ, भुइँ घुमेझैँ अनुभूति भई चक्कर लाग्छ । कसैलाई तनावले चक्कर आउँछ, कसैलाई रोगले, कसैलाई भोकले ।
अनि, वास्तवमै शरीरमा त्यस्तो के हुन्छ, जसको कारणले चक्कर लाग्छ ?
कुनै कारणवस मस्तिष्कभित्र र बाहिर तरल पदार्थको स्तरमा असन्तुलन भई शरीरले जनाउने प्रतिक्रिया स्वरुप चक्कर लाग्न सक्छ । यो असन्तुलनले मस्तिष्क भित्रको तरल पदार्थ वरिपरि सर्छ, जसले गर्दा सन्तुलन गुम्छ। कतिपय अवस्थामा,
तरल पदार्थको यो स्थानान्तरण भित्री कानको समस्याको कारणले हुन्छ।
जस्तो कि, कहिलेकाहीँ सुतेर उठ्नेबित्तिकै चक्कर लाग्छ । यसो हुनुमा सुत्दा भित्री कानको नलीमा रहेको तरल पदार्थ मध्य कानमा निस्किन्छ। उठ्नेबित्तिकै, तरल पदार्थ फेरि नलीहरूमा सर्छ, जसले गर्दा व्यक्तिलाई चक्कर लाग्ने अनुभव हुन्छ ।
कस्तो अनुभव हुन्छ ?
अचानक टाउको घुम्नु, शरीर हल्लिएको अनुभव हुनु, आँखाको अगाडि अँध्यारो छाउनु र शरीर चिसो हुनु, कमजोर भई चक्कर लागेर लड्नु, शरीर शून्य हुनु, हातखुट्टा काम्नु, उल्टी आउनु र कान बज्नु यसका लक्षण हुन् । जुन केही
समयपछि आफैँ सामान्य हुँदै आउँछ।
चक्कर लाग्नुका कारण
चक्कर विभिन्न कारणले लाग्न सक्छ। कहिलेकाहीँ यो सामान्य कारणले हुन्छ भने कहिलेकाहीँ गम्भीर स्वास्थ्य समस्याको संकेत पनि हुनसक्छ। चक्कर लाग्न सक्छ । कहिलेकाहीं चक्कर आउँछ तर कुनै लक्षण छैन भने यो सामान्य अवस्था
भएको बुझिन्छ । ९० प्रतिशतभन्दा माथि कहिलेकाहीं मात्र चक्कर आउँछ भने यो सामान्य हो ।
कमजोरी र रक्तअल्पता
जब शरीरमा रातो रगतको मात्रा कम हुन्छ, अक्सिजनको आपूर्ति राम्रोसँग गर्न सक्दैन । मस्तिष्कसम्म पुग्ने अक्सिजन कम हुँदा टाउको हल्का महसुस हुन्छ । मस्तिष्कको सन्तुलनमा गडबडी आएर चक्कर लाग्न थाल्छ।
जुरुक्क उठ्ने बानी
लामाे समय बसिरहँदा वा सुतिरहेकाे स्थितिबाट झ्वाट्टै उठ्दा शरीरमा रगत पम्प गर्न मुटुले थप मेहनत गर्नुपर्छ । शरीरको होमियोस्टेसिस सामान्य अवस्थामा कायम राखिराख्न रक्तचाप स्वाभाविक रूपमा परिवर्तन हुन्छ । होमियोस्टेसिस
भनेको शरीरमा सन्तुलनको एक अवस्था हो जसले शरीरको प्रणालीहरूलाई ठिकसँग काम गर्न मद्दत गर्छ ।
निश्चित स्थितिमा काम गरिरहेको मानवीय शरीरमा अचानक उत्पन्न कुनै परिवर्तनले सो प्रणालीलाई झट्का दिन सक्छ । जसले गर्दा मस्तिष्कले एक क्षणका लागि रगत प्राप्त गर्न सक्दैन र झ्वाट्टै उभिँदा रगत शरीरको तल्लो भागमा जम्मा हुन्छ
र ठिक अवस्थामा ल्याउन केही सेकेन्ड लाग्न सक्छ ।
यसैगरी सुतिरहेको अवस्थाबाट सिधा जुरुक्क उठ्दा रगत शरीरको बाँकी भागमा बग्न थाल्छ । जसले रक्तचाप अस्थिर भई चक्कर लाग्छ ।
रक्तचाप अस्थिर
रक्तचाप धेरै कम भए वा धेरै बढे पनि चक्कर लाग्न सक्छ। अचानक उभिँदा वा लामो समय उभिएर बसेपछि रक्तचाप घटेर चक्कर लाग्ने समस्या सामान्य हुन्छ।
भोकै बस्नु
लामो समयसम्म केही नखाँदा शरीरमा ग्लुकोजको मात्रा घट्छ। यसले मस्तिष्कको सन्तुलनमा असर पारी चक्कर आउन सक्छ।
शरीरमा लवण पानीको कमी
लवण पदार्थका साथै पिउने पानीको मात्रा कम भएमा रक्तप्रवाहमा असर गर्छ, जसले गर्दा चक्कर लाग्न सक्छ।
औषधिको असर
कतिपय औषधिले एक्कासी रक्तचाप घटाएर पनि चक्कर ल्याउन सक्छ ।
कानको भित्री भागमा समस्या
कानको भित्री भाग सन्तुलन कायम गर्न जिम्मेवार हुन्छ। यदि त्यहाँ समस्या आयो भने, शरीरलाई स्थिर राख्न कठिन हुन्छ र चक्कर लाग्न थाल्छ।
मानसिक तनाव र अत्याधिक चिन्ता
चिन्ता, तनाव वा डरले पनि चक्कर आउन सक्छ। जब मन अत्याधिक तनावग्रस्त हुन्छ, शरीरको रक्त प्रवाह र अक्सिजन आपूर्ति प्रभावित हुनसक्छ। यसो हुँदा मस्तिष्कले स्वनियन्त्रण गुमाएर चक्कर लाग्न सक्छ ।
मुटु सम्बन्धी समस्या
यदि मुटुले पर्याप्त मात्रामा रगत पम्प गर्न सकेन भने, शरीरका अन्य भागमा अक्सिजन आपूर्ति कम हुन्छ, जसले चक्कर ल्याउन सक्छ।
मदिरा पिउँदा चक्कर किन लाग्छ ?
रक्सीले दिमागको सन्तुलन प्रणालीमा असर पार्छ, जसले गर्दा चक्कर आउँछ। दिमागमा सन्तुलन कायम राख्ने मुख्य अंग कानको भित्री भाग हो। रक्सी पिउँदा कानको भित्री तरल पदार्थको घनत्व परिवर्तन हुन्छ, जसले गर्दा सन्तुलन गडबड बनाउछ ।
रक्त नलीहरू फराकिलो पारेर रक्तचाप अचानक घट्न सक्छ । कम रक्तचाप भएमा मस्तिष्कमा अक्सिजनको आपूर्ति कम हुन्छ, यहो हुँदा गामा नामक न्युरोट्रान्समिटरलाई सक्रिय बनाउँछ, जसले दिमागलाई सुस्त बनाउँछ र शरीरको
सन्तुलन नियन्त्रण गर्न गाह्रो हुन्छ। साथै, ग्लुटामेट न्युरोट्रान्समिटर दबियाे भने पनि चक्कर लाग्छ किनकि यसले सोच्ने र सन्तुलन मिलाउने क्षमतामा असर पार्छ ।
रक्सी सेवनका कारण बढी पिसाब लाग्ने हुन्छ, जसले गर्दा शरीरबाट धेरै पानी निस्किन्छ। र, पानीसँगै शरीरमा सोडियम, पोटासियम, र म्याग्नेसियम जस्ता लवण पदार्थको मात्रा घट्दा दिमागले सही रूपमा काम गर्न सक्दैन, जसले चक्कर वा
रिगटा ल्याउँछ।
कस्तो अवस्थामा चिकित्सकको परामर्श लिनुपर्छ?
यदि चक्करसँगै निम्न लक्षणहरू पनि देखा परिरहेका छन् भने तुरुन्तै चिकित्सकसँग परामर्श गर्नुपर्छ।
जस्तो-:
-चक्करसँगै छाती, काँध, घाँटी, पाखुरा, बङ्गारा वा ढाडमा दुखाई हुनु,
– छाती वा शरीरमा दबाब, भारीपन वा कसिलोपन महसुस हुनु,
-बारम्बार वाकवाकी लाग्नु,
-चिसो पसिना निस्कनु,
-सास फेर्न गाह्रो हुनु,
-अनुहार, हात वा खुट्टामा सुन्निने वा कमजोर हुनु,
– बोल्न गाह्रो हुनु, बुझ्न गाह्रो हुनु,
-थुक निल्न गाह्रो हुनु,
-एक वा दुवै आँखाको दृष्टिमा परिवर्तन भई बेहोस हुनु,
चक्कर लागेमा गर्ने ?
-शान्त भएर तुरुन्तै बस्ने वा पल्टिने (देब्रे काेल्टे)
-सफा हावामा सास फेर्ने प्रयास गर्ने
-नुन, चिनी र पानीको मिश्रण खाने वा केही हल्का खाना खाने
-लामो समय भोकै नबस्ने, ग्लुकाेजयुक्त खानेकुरा खाईहाल्ने
-बारम्बार चक्कर लाग्ने समस्या भए गम्भीर स्वास्थ्य अवस्थाको संकेत हुनसक्ने हुँदा समयमै चिकित्सकको परामर्श लिनु उचित हुन्छ ।
प्रतिक्रिया 4