+
+
Shares
फेसन :

कश्मीरको फेसन शोले निम्त्यायो विवाद : रचनात्मकता वा सांस्कृतिक अतिक्रमण ?

मुस्लिमहरूको लागि उपवास र प्रार्थनाको समय- पवित्र रमजान महिनामा आयोजित कार्यक्रमप्रति धेरैले आपत्ति जनाए र डिजाइनरहरूलाई ‘उनीहरूको विश्वासको खिल्ली उडाएको’ तथा ‘स्थानीय संस्कृति र भावनालाई बेवास्ता गरेको’ आरोप पनि लगाएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ४ गते १७:२०

भारत प्रशासित कश्मीरको एक रमणीय र हिउँले ढाकिएको शहरमा गत हप्ता आयोजित एक फेसन शोले एउटा ठूलो विवाद निम्त्याएको छ जुन अझै पनि कायम छ ।

प्रसिद्ध फेसन ब्रान्ड शिवन एण्ड नरेशले गत शुक्रबार गुलमर्गको स्की रिसोर्टमा आफ्नो स्कीवेयर संग्रह प्रदर्शन गर्ने उद्देश्यले शोको आयोजना गरेका थिए । फेसनको यो लेबल दशकौंदेखि हिंसा देखेको रमणीय हिमाली क्षेत्र कश्मीरमा फेसन शो आयोजना गर्ने पहिलो ठूलो, गैर-स्थानीय ब्रान्ड हो ।

फेसन पत्रिका एली इन्डियाले सामाजिक सञ्जालमा केही मोडेलहरूले बिकिनी लगाएको भिडियो पोस्ट गरेपछि मुस्लिम बहुल कश्मीरका स्थानीय, राजनीतिज्ञ र धार्मिक नेताहरूमाझ यसले आक्रोश निम्त्यायो ।

अर्को अनलाइन पत्रिका ‘लाइफस्टाइल एसिया’ले पनि पोस्ट सेयर गरेपछि स्थानीय पनि आक्रोशित भए । उक्त भिडियोमा कार्यक्रमछि आयोजित पार्टीमा मानिसले रक्सी पिइरहेको देखिएको थियो ।

मुस्लिमहरूको लागि उपवास र प्रार्थनाको समय- पवित्र रमजान महिनामा आयोजित कार्यक्रमप्रति धेरैले आपत्ति जनाए र डिजाइनरहरूलाई ‘उनीहरूको विश्वासको खिल्ली उडाएको’ तथा ‘स्थानीय संस्कृति र भावनालाई बेवास्ता गरेको’ आरोप पनि लगाएका छन् । केही धर्मगुरुहरूले उक्त कार्यक्रमलाई ‘अश्लील’ बताउँदै ‘सफ्ट पोर्न’ जस्तै भएको बताए ।

अरू केहीले यो आक्रोश धार्मिक रूढिवादीपनबाट मात्र नभई ‘बाहिरीहरू’बाट सांस्कृतिक अत्याचार थोपर्ने डरबाट पनि उत्पन्न भएको बताए । सन् १९८० को दशकको अन्त्यदेखि कश्मीर भारतीय शासनविरुद्ध दशकौंदेखि सशस्त्र पृथकतावादी विद्रोहको साक्षी बनिरहेको छ । आलोचना भएपछि एले इन्डिया र लाइफस्टाइल एसियाले आफ्ना भिडियोहरू मेटाउन बाध्य भए ।

लेबलका डिजाइनर शिवन भाटिया र नरेश कुकरेजाले पनि माफी माग्दै आफूहरूको उद्देश्य रचनात्मकता प्रदर्शन गर्नु रहेको तर धार्मिक भावनालाई चोट पुर्‍याउनु नरहेको बताएका छन् । सन्त र सुफीवाद (इस्लामिक रहस्यवाद)को भूमि भनेर चिनिने कश्मीरमा आध्यात्मिकताको समृद्ध परम्परा छ जसले मानिसको जीवनका धेरै पक्षहरूलाई प्रभाव पार्छ ।

त्यहाँको परम्परागत पोशाकमा पुरुष र महिला दुवै – प्रायः फेरान, लामो, खुकुलो लुगा लगाउँछन्, जसलाई विनम्र पहिरन मानिन्छ । यो विवाद सामाजिक सञ्जालबाट यतिबेला त्यहाँको विधान सभासम्म पुगेको छ । स्थानीय संवेदनशीलताबारे सचेत हुँदाहुँदै पनि कार्यक्रमको लागि अनुमति दिएको आरोप लगाउँदै विपक्षी दलले सरकारको आलोचना गरेको छ ।

जम्मू कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाहले आफ्नो सरकारलाई उक्त कार्यक्रमबाट टाढा राख्दै यो निजी संस्थाहरूद्वारा आयोजना गरिएको बताएका छन् । उनले स्थानीय अधिकारीहरूलाई यस विषयमा अनुसन्धान गर्न र प्रतिवेदन पेश गर्न आग्रह गरेका छन् ।

‘यदि कानून उल्लंघन गरिएको छ भने कडा कारबाही गरिनेछ’ उनले सोमबार विधान सभामा भने । प्रहरीले कार्यक्रम कसले आयोजना गरेको थियो र कुन कानून अनुसार गरिएको छ भने अध्ययन गरेर प्रतिवेदन बुझाउने जनाइएको छ । फेसन पत्रकार शेफली वासुदेव भन्छिन्- डिजाइनरहरूले उत्कृष्ट स्थानहरूमा फेसन शो आयोजना गर्न चाहनु असामान्य कुरा होइन ।’

बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?