
४ चैत, पोखरा। पोखरा भ्रमण वर्षसेमत घोषणा भएकाले पोखरेली पर्यटन क्षेत्रलाई थप चलाउन बनाउन २० वर्षदेखि हुँदै आएको फेवा नव वर्ष महोत्सव सहयोगी बन्ने विश्वास व्यवसायीले व्यक्त गरेका छन् । नेपाली नयाँ वर्ष होस् वा अंग्रेजी, असार १५ को रोपाइ महोत्सव होस् वा होली केही न केही पर्यटकीय गतिविधि पोखराले गरिरहन्छ ।
होटल संघ पोखरा नेपालले यही चैत ३० गतेदेखि आगामी बैशाख १ गतेसम्म फेवा नव वर्ष महोत्सव गर्दैछ र त्यसका लागि पोखरा भ्रमण गर्नका लागि पर्यटकलाई निम्तो दिँदै २० प्रतिशतसम्म छुट दिने घोषणा गरेको छ । महोत्सवका लागि तयारी तीव्र पारिएको र यसपटक फेवा नव वर्ष महोत्सव अझै विशेष हुने विश्वास होटल संघका अध्यक्ष लक्ष्मण सुवेदीले व्यक्त गरे ।
महोत्सवमा अवसरमा संघ अन्तर्गतका सदस्य होटलमा रात बिताउने पाहुनालाई प्रचलित दररेटमा २० प्रतिशत छुट प्रदान गरिने घोषणा गरे ।यसैगरी संघले महोत्सवकै प्रचारका लागि हालै पूर्वी नेपालमा जाउँ है पोखरा अभियान सम्पन्न गरेको र पश्चिम नेपालमा पनि यस्तो अभियान छिटै सञ्चालन गरिने जानकारी उनले गराए ।
‘नेपालको पूर्वी सहरमा हालै जाँऊ है पोखरा’ अभियानमा पर्यटक बोलाएर फर्किएका छौं । पोखरा भ्रमण वर्ष घोषणाले समेत धेरै ठाउँमा सकरात्मक प्रतिक्रिया पायौं,’ अध्यक्ष सुवेदीले भने, ‘जाउँ है पोखरा अभियान र फेवा नव वर्ष महोत्सव जस्ता कार्यक्रमकै कारण पोखरा आउने आन्तरिक पर्यटक हाल ४० प्रतिशत पुगेको छ । दुई दशकअघि यस्तो संख्या तीन प्रतिशत मात्र रहेको अनुमान थियो।’
पोखराका होटलमा अहिले पाहुनाको समग्र अकुपेन्सी दर ४० प्रतिशत हाराहारी रहेको जानकारी पनि अध्यक्ष सुवेदीले गराए । भारतीय पर्यटकको संख्या पनि उल्लेख्य रहेको उनले बताए ।
पोखराका एक हजार दुई सय होटलमा ४० हजार विस्तारा रहेको र यहाँको होटल क्षेत्रमा मात्र ५ खर्ब रुपैयाँ हाराहारी लगानी रहेको संघको आंकलन छ । स्थानीय ड्यामसाइडदेखि खहरेसम्म सडकमा नै संचालन हुने महोत्सवमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।
नेपाली संस्कृतिको संरक्षण र परम्परागत नेपाली खानाको प्रवद्र्धन गर्ने मुख्य उद्देश्य सहित पर्यटन, संस्कृति र खाना भन्ने नारासहित यो महोत्सव हुन लागेको संघका महासचिव राजेन्द्र ढकालले जानकारी दिए ।
पर्यटनको राजधानी पोखरामा पोखरा भ्रमण वर्ष २०२५ चल्दै गर्दा हुन लागेको यो महोत्सवले फेवा तालको संरक्षण गर्दै आन्तरिक एवं वाह्य पर्यटन प्रबद्र्धन गर्ने उद्देश्य पनि लिएको छ ।
प्रतिक्रिया 4