+
+
Shares

पद्मकन्यामा नेविसंघलाई बिरासत बचाउने दबाब

नेविसंघमा एकता हुन नसक्दाको लाभ उठाउने दाउमा अन्य विद्यार्थी संगठन छन् । तर फुटमा पनि जित निस्किने दाबी नेविसंघको छ ।

लिलु डुम्रे लिलु डुम्रे
२०८१ चैत ४ गते २२:१०
बायाँबाट क्रमशः पूर्णिमाया परियार, भुपी ऐर, सुनिता घिमिरे र सदीक्षा पोखरेल ।

४ चैत, काठमाडौं । पद्मकन्या क्याम्पस (पीके) को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) मा नेपाल विद्यार्थी संघ (नेविसंघ) को एकछत्र प्रभूत्व छ । २०३६ सालयता यो क्याम्पसमा कम्युनिस्ट धारको विद्यार्थी संगठनबाट शशि श्रेष्ठबाहेक कसैले पनि नतिजा आफ्नो पक्षमा पार्न सकेका छैनन् । श्रेष्ठले २०३८ सालमा पीकेको स्ववियु अध्यक्ष जितेकी थिइन् ।

पद्मकन्या क्याम्पस नेपाली कांग्रेसको महिला नेतृ उत्पादन गर्ने केन्द्रजस्तै बनेको छ । यहाँबाट स्ववियु अध्यक्ष जितेका विद्यार्थी नेताहरू पार्टी पदाधिकारीसमेत बनेका छन् । सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ देखि मीना पाण्डे, कमला पन्त, प्रतीमा गौतम, अञ्जनी श्रेष्ठ, उमा अधिकारी रेग्मी लगायतले पद्मकन्यामा स्ववियु अध्यक्ष जितेका थिए । नेविसंघबाट अध्यक्ष जितेका समा शाही, किरण पन्थी लगायत हाल सक्रिय राजनीतिमा छैनन् ।

नेविसंघले पद्मकन्यामा एकछत्र पकड जमाएको हुँदा कम्युनिस्ट धारका विद्यार्थी संगठनबाट पार्टी राजनीतिमा पुग्नेहरूको संख्या सीमित छ ।

पद्मकन्यामा अनेरास्ववियुको संगठनमा आवद्ध रहेकी विद्या भट्टराई हाल शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री छिन् । भट्टराई अनेरास्ववियुबाट स्ववियु अध्यक्षकी उम्मेदवार थिइन् । तर नेविसंघकी अञ्जनी श्रेष्ठले पराजित गरिन् ।

विद्यार्थी राजनीतिको गर्विलो इतिहास बनाएकी एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्री पद्मकन्याकै उत्पादन हुन् । झाँक्रीलाई हाल कांग्रेस केन्द्रीय सदस्य रहेकी प्रतीमा गौतमले अध्‍यक्षमा पराजित गरेकी थिइन् ।

पद्मकन्यामा नेविसंघको पकड जान्न २०५७ सालको स्ववियु निर्वाचन हेरे पुग्छ । त्यसबेला नेविसंघका दुई समूह प्रतिस्पर्धामा उत्रिँदा पहिलो र दोस्रो स्थानमा अरू संगठनलाई आउन दिएनन् । नेविसंघबाट उर्मिला पजियारले अध्यक्षमा जित्दा दोस्रो स्थानमा सोही संगठनबाट कल्पना कार्की बनिन् ।

इतिहासदेखि नै पद्मकन्याको स्ववियुमा एकल प्रभूत्व जमाएको नेविसंघ यसपटक भने एकढिक्का भएर चुनावी मैदानमा देखिएको छैन । नेविसंघमा एकता हुन नसक्दा त्यसबाट लाभ उठाउने दाउमा अन्य विद्यार्थी संगठन छन् । तर नेविसंघका विद्यार्थी नेताहरू भने फुटमा पनि जित आफ्नो पक्षमा पर्ने दाबी गर्छन् ।

यसै क्याम्पसकी पूर्वसभापति प्रतीमा गौतम नेविसंघमा विद्यार्थी नेताहरू निरन्तर काममा खटिने भएकाले जितिरहेको दाबी गर्छिन् । उनी भन्छिन्, ‘विद्यार्थीका हक-हितका लागि काम गरिरहेका छन् । सामाजिक मुद्दाहरू उठाउँदा त्यहाँको नेविसंघ सक्रिय भएर अघि आउँछ ।’

स्ववियु निर्वाचनका लागि आठ संगठन मैदानमा उत्रे पनि मूलतः तीन पक्षबीचमा प्रतिस्पर्धा हुने विद्यार्थी नेताहरू दाबी गर्छन् ।

नेपाल विद्यार्थी संघ, नेपाल विद्यार्थी संघको बागीबाट स्वतन्त्र समूह, अनेरास्ववियु र अखिल (क्रन्तिकारी) को संयुक्त प्यानल, मोहन वैद्य र धमेन्द्र बाँस्तोला पक्षका विद्यार्थी संगठनको प्यानल अखिल (क्रान्तिकारी संयुक्त), अखिल नेपाल विद्यार्थी युनियन (समाजवादी), फ्रिडम पीके लगायतका विद्यार्थी संगठन चुनावी प्रतिस्पर्धामा छन् ।

आइतबार उम्मेदवारी दर्ता भएसँगै चुनावी प्रचार-प्रचारमा विद्यार्थी नेताहरू जुटेका छन् । ६ हजार २०३ मतदाताको मन जित्नका लागि चुनावी एजेन्डा बोकेर सोमबारदेखि कोठा-कोठामा विद्यार्थी नेताहरू पुग्न थालेका छन् ।

नेविसंघमा छैन एकत्व

नेविसंघ पक्षधरका दुई समूहले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन समितिले उम्मेदवार मनोनयन दर्ताका लागि आइतबार छुट्याएको समयमा नेविसंघबाट आधिकारिक र स्वतन्त्र गरी दुई अध्यक्षको नाम दर्ता भयो । नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले पूर्णिमाया परियारलाई अध्यक्षको उम्मेदवार हुने गरी पत्र पठाएका थिए । परियारले आधिकारिक रूपमा उम्मेदवारी दर्ता गरेपछि भुपी ऐर छुट्टै प्यानल बनाएर स्वतन्त्र उम्मेदवार बनिन् । आधिकारिक उम्मेदवारको अपेक्षा राखेकी ऐर बागी बनेपछि नेविसंघ र पार्टीमा समेत चर्चाको विषय बन्यो ।

नेविसंघ अध्यक्ष शेर्पाले सोमबार निर्वाचन समितिलाई अर्को पत्र लेखे । उक्त पत्रमा नेविसंघबाट आधिकारिक उम्मेदवार ऐर भएको उल्लेख छ । स्वतन्त्र उम्मेदवारी दिएकी ऐरलाई आधिकारिक भनेपछि पद्माकन्यामा संघभित्रको विवादले नयाँ रुप लिएको छ । निर्वाचन समितिसमक्ष आफ्नो आधिकारिताको माग गर्दै ऐर समूहले नाराबाजी गर्‍यो ।

मिलाउने प्रयास हुँदाहुँदै पनि नेविसंघकै दुई समूह बनेको यसै क्याम्पसकी पूर्वअध्यक्ष प्रतीमा गौतम बताउँछिन् । नेविसंघको निर्देशक समिति सदस्यसमेत रहेकी गौतमले भनिन्, ‘मिलाउन अझै प्रयास गरिहेका छौं । मिल्नै नसक्ने अवस्था रह्यो भने पनि पहिलो र दोस्रो हुने नेविसंघ नै हो ।’

पूर्णिमा परियार ।    

परियारको पक्षमा पार्टी सभापति शेरबहादुर देउवा पक्षधर देखिएका छन् भने ऐरलाई महामन्त्री गगन थापा पक्षको साथ छ । पद्मकन्याकी स्ववियु अध्यक्ष ज्योति पनेरु पनि परियारको पक्षमा छिन् । आधिकारिक उम्मेदवार आफू भएको उल्लेख गर्दै परियारले अर्को पक्ष स्वतन्त्र बनेको बताइन् । ‘एउटा कागजको टुक्राको भरमा म आधिकारिक नहुने हुँदैन,’ परियारले अनलाइनखबरसँग भनिन् ।

महामन्त्री गगन पक्षको भनेर चिनिएकी ऐरले विद्यार्थीका समस्यामा अग्रपङ्‍कितमा रहेको सुनाउँदै आधिकारिक उम्मेदवार भएको दाबी गरिन् । उनले भनिन्, ‘मलाई अन्याय गर्न मिल्छ ? जोर जबरजस्ती गरेर टिकट पाउने हो र ? नेविसंघका लागि मैले गरेको काम हेर्नु पर्दैन ?’ पद्मकन्यामा नेविसंघमा एकता नहुँदा ‘भाइ फुटे गवार लुटे’ को अवस्था आउन सक्ने चिन्ता ऐरले व्यक्त गरिन् ।

भुपी ऐर ।

पद्माकन्याकी स्ववियु अध्यक्ष पनेरुले नेविसंघको आधिकारिक उम्मेदवार पूर्णिमाया परियार नै भएको दाबी गरिन् । ‘नेविसंघको एकल उम्मेदवार पूर्णिमाया हो । अर्कोले दाबी गरेको भ्रमपूर्ण हो,’ पनेरुले भनिन् ।

एमाले-माओवादी विद्यार्थी संगठनको गठजोड

प्रमुख प्रतिस्पर्धी शक्ति नेविसंघसँग प्रतिस्पर्धा गर्न सत्ताको नेतृत्व गरेको एमाले र प्रमुख प्रतिपक्षी माओवादी केन्द्रको विद्यार्थी संगठनले तालमेल गरेका छन् । एमाले निकट अनेरास्ववियुले अध्यक्ष पद लिएको छ । माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) ले सचिव र कोषाध्यक्ष पदमा उम्मेदवारी दिएको छ । कार्यसमितिमा बहुपद अखिल (क्रान्तिकारी) लाई हुने गरी भागबन्डा गरिएको छ । सात पद अखिल (क्रान्तिकारी) र ४ पद अनेरास्ववियुलाई बाँडेर तालमेल गरिएको छ ।

अनेरास्ववियुलाई पद्मकन्या क्याम्पसमा विद्यार्थी नेताको खडेरी रहेको अध्यक्षको उम्मेदवार बनेकी सुनिता घिमिरेबाट पनि थाहा हुन्छ । एकीकृत समाजवादी निकट रहेकी घिमिरेलाई केही समय पहिले एमालेको विद्यार्थी संगठनमा भित्र्याइएको थियो ।

सदीक्षा पोखरेल ।

अखिल क्रान्तिकारीबाट सचिवमा सदीक्षा पोखरेल र कोषाध्यक्षमा सुम्निमा राईले उम्मेदवारी दिएका छन् । अनेरास्ववियुबाट अध्यक्षको उम्मेदवार बनेकी घिमिरे नेविसंघ हाबी हुँदै आए पनि आफ्नो संगठन कमजोर भने नरहेको दाबी गर्छिन् ।

अनेरास्ववियुको हाल माहोल राम्रो बनेकाले नतिजा आफ्नो पक्षमा आउने अध्यक्ष उम्मेदवार घिमिरेले दाबी गरिन् । ‘प्रशासनको बलमा नेविसंघ अलि बलियो देखिएको हो । अनेरास्ववियु कमजोर छैन,’ घिमिरेले भनिन्, ‘अहिले इतिहास ब्रेक हुन्छ ।’

विद्यार्थी संगठनका चुनावी एजेन्डा

२००८ सालमा स्थापना भएको पद्मकन्याको सुधारका लागि विद्यार्थी संगठनहरूले फरकफरक मुद्दा बोकेर चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

‘प्रशासनको आडमा नेविसंघको हालीमुहाली’ अन्त्य गर्ने एजेन्डासहित अनेरास्ववियु र अखिल (क्रान्तिकारी) चुनावी मैदानमा छन् । होस्टेलमा आफ्ना मान्छेलाई मात्रै स्थान दिने गरी नेविसंघबाट जितेकाले भूमिका खेलेको ती दुई संगठनको आरोप छ । आर्थिक अपचलनकै कारण स्ववियुले बैंक खाता समेत सुरु गर्न नसकेको अखिल (क्रान्तिकारी) विद्यार्थी नेता एवं सचिवको उम्मेदवार सदीक्षा पोखरेलले बताइन् ।

छात्रावासमा सीमितलाई मात्रै अवसर मिल्ने गरेको सुनाउँदै पोखरेलले क्षमता विस्तार गर्ने आफ्नो चुनावी एजेन्डा रहेको सुनाइन् ।

सुनिता घिमिरे ।

अध्यक्षकी उम्मेदवार घिमिरे भन्छिन्, ‘९ हजारले अध्ययन गर्ने क्याम्पसमा १५० जनाको लागि मात्रै छात्रावासको व्यवस्था छ ।’ अनेरास्ववियुले सेनेटरी प्याड व्यवस्थाको विषयलाई प्रमुखताका साथ चुनावी मुद्दा बनाएको छ ।  अध्यक्षकी अर्की उम्मेदवार ऐरले ई-लाइब्रेरीको व्यवस्थापन, डिजिटल बोर्ड आफ्नो एजेन्डा भएको सुनाइन् ।

सक्षम व्यक्तिलाई टिकट प्रदान नगरी नेताको निकटताको आधारमा उम्मेवार बन्ने पद्धति बनेकाले आर्थिक अनियमितताको आरोप खेप्नु परेको सुनाइन् । उनी भन्छन्, ‘पार्टीका नेतालाई नजिक भएकाहरूले टिकट पाउँछन् । सौदाबाजी, भ्रष्टाचार त्यही भएर भएको हो । वास्तविक विद्यार्थीलाई टिकट दिने हो भने स्ववियुको गरिमा बढ्छ ।’

नेविसंघकी उम्मेदवार परियारले महिला सशक्तीकरणका लागि गुणस्तरीय शिक्षा र गृहिणी महिलाका लागि कक्षा सञ्चालन गर्ने चुनावी प्रतिबद्धता सुनाइन् ।

तस्वीरहरू : आर्यन धिमाल/अनलाइनखबर

लेखक
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?