४ चैत, काठमाडौं । क्यामरुनी खेलाडी स्टेफेन समिर विनोङले पोखरा थण्डर्सबाट तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) खेल्ने भएका छन् ।
नेपालमा एनएसएल र ए डिभिजन लिग खेलेको अनुभव भइसकेको विनोङलाई अनुबन्ध गरेको पोखराले सोमबार जानकारी दिएको छ ।
विनोङले पहिलो संस्करणको एनएसएल काठमाडौं रेजर्सबाट खेल्दै उपाधि नै जितेका थिए । यस्तै गत वर्ष भएको एनसएसलको दोस्रो संस्करण उनले बुटवल लुम्बिनीबाट खेलेका थिए ।
स्टेफेन विनोङले एनएसएल खेल्नुअघि नेपालको ए डिभिजन क्लबबाट समेत खेलेका थिए । उनले सुरुमा हिमालयन शेर्पा क्लबबाट खेलेका थिए । यस्तै न्युरोड टिम एनआरटी र खुमलटार एफसीबाट उनले ए डिभिजन लिग खेलेका थिए ।
पोखराले तेस्रो संस्करणका लागि मार्की प्लेअर र प्रशिक्षक नयाँ अनुबन्ध गरेको छ । दोस्रो संस्करणमा लिग चरणमा शीर्ष स्थानमा रहेर पनि दुवै क्वालिफायरमा पराजित हुँदा पोखरा तेस्रो भएको थियो । यसपटक पोखराले पनि मार्की र कप्तान सहित कोचिङ स्टाफ सबै परिवर्तन गरेको हो ।
युवा फरवार्ड समिर तामाङलाई नयाँ मार्की बनाएको पोखराले यसअघिका मार्की खेलाडी आयुष घलानलाई कप्तान नियुक्त गरेको छ । यस्तै सुमन श्रेष्ठलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।
पोखराले आयुषसँगै क्याटेगोरी बी बाट पदम भट्टराई र क्याटेगोरी सी बाट नरेन्द्र चौधरीलाई रिटेन गरेको थियो । पोखराले अक्सनमा क्याटेगोरी ए बाट सुरज ज्यु ठकुरीलाई मात्र अनुबन्ध गर्दै एक खेलाडी एनआरएनए कोटाबाट राख्ने जनाएको छ ।
यस्तै क्याटेगोरी बी बाट पोखारले अक्सनमा राम थापा, चन्दन दास, विशाल तामाङ, कृशल मोक्तान, एकराज बुढाथोकीलाई अनुबन्ध गरेको थियो । तर राम थापालाई बी डिभिजन क्लब प्लानिङ ब्वाइजले रिलिज नगरेपछि उनको स्थानमा पोखराले फरवार्ड नवयुगलाई अनुबन्ध गरेको हो ।
नवयुग पहिलो संस्करणमा पोखराका मार्की खेलाडी थिए ।
प्रतिक्रिया 4