+
+
Shares
स्ववियु निर्वाचन :

आन्तरिक विवादले इन्जिनियरिङ अध्ययन संस्थान पोखरामा नेविसंघको लफडा, क्याम्पस गेटमा टायर बालेर अनसन

नेपाल विद्यार्थी संघले सचिव पदमा मनोनयन दर्ता गराउन नसकेपछि आन्तरिक विवाद छताछुल्ल भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ५ गते ७:२८

५ चैत, पोखरा । नेपाली कांग्रेस तथा ऊ निकट नेपाल विद्यार्थी संघको आन्तरिक विवादका कारण इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस पोखरा सोमबारदेखि नै अशान्त छ ।

नेपाल विद्यार्थी संघले पार्टी र संगठनभित्रको आन्तरिक विवादको दोष निर्वाचन समितिलाई लगाउँदै सोमबार रातिसम्मै क्याम्पस गेटमा टायर बाल्दै प्रदर्शन गरेको छ भने अहिले मंगलबार बिहान पनि रिले अनसन जारी राखेको छ ।

नेपाल विद्यार्थी संघको आन्तरिक विवादका कारण सिंगो क्याम्पसमै लफडा निम्तिएको छ भने नेविसंघको एउटा समूहले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुन नहुने र फेरि मनोनयन प्रक्रियामा जानुपर्ने माग गरिरहेको छ । तर, निर्वाचन समिति संयोजक दीपक थापाले भने चुनाव नरोकिने दाबी गरिरहेका छन् ।

सोमबार रातिसम्म वार्ता भएको थियो । तर वार्ता टुंगोमा पुग्न सकेन । नेपाल विद्यार्थी संघले सचिव पदमा मनोनयन दर्ता गराउन नसकेपछि आन्तरिक विवाद छताछुल्ल भएको हो । कास्की पार्टी नेतृत्वले सचिवविनै निर्वाचनमा जाने परिस्थिति निर्माण गरेको भन्दै विद्यार्थीले नाराबाजी गरेका थिए ।

नेविसंघले सौगात पण्डितको अध्यक्षतामा निर्वाचनमा जान मनोनयन दर्ता गराएको थियो । तर, सचिव पदमा आफूले भनेको मान्छेले टिकट नपाएको भन्दै मनोनयन पत्र नै च्यातिएको नेविसंघकै एउटा समूहले आरोप लगाइरहेको छ ।

नेविसंघ केन्द्रीय कमिटीले सचिवको उम्मेदवार प्रशान्त उपाध्यायलाई बनाउन भन्दै परिपत्र नै गरेको थियो ।

केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाको नामबाट परिपत्र भए पनि कांग्रेस कास्की सभापति किशोरदत्त बराललगायतले सचिवविनै निर्वाचनमा जाने वातावरण बनाएको भन्दै नेतृत्वप्रति नै नेविसंघका नेताहरु रुष्ट छन् । असन्तुष्ट पक्षले कास्की पार्टी सभापति किशोरदत्त बराललाई ‘सचिव बेचुवा’को संज्ञा दिँदै पोस्टरसमेत टाँसेको थियो ।

कास्की पार्टी सभापति किशोरदत्त बराललाई ‘सचिव बेचुवा’को संज्ञा दिँदै टाँसिएको पोस्टर

नेविसंघका केन्द्रीय सदस्य तथा क्याम्पसका केन्द्रीय प्रतिनिधि राजेन्द्र बरालले निर्वाचन समितिको त्रुटिका कारण सचिव मनोनयन हुन नसकेको भन्दै निर्वाचन हुन नसक्ने दाबी गरे । मनोनयनका लागि फर्म दिएर पनि दर्ता नगरिएको उनको दाबी छ ।

केन्द्रको परिपत्र हुँदाहुँदै सचिवविनै निर्वाचन अगाडि बढ्ने देखेपछि तालाबन्दी गरिएको र कास्की सभापतिलगायत केही नेताले खेल्ने प्रयास गरेको उनीहरुको आरोप छ । नेविसंघका विद्यार्थीहरुले आफूले भनेको मान्छे सचिव नपाएपछि रेजिना खड्काले मनोनयन पत्र नै च्यातेकोसमेत आरोप लगाइरहेका छन् ।

२०७९ को चुनावमा नेपाल विद्यार्थी संघकै आन्तरिक विवादका कारण क्याम्पसको चुनाव बिथोलिएको थियो । यसपटक पनि उनीहरुकै कारण चुनाव बिथोल्न खोजिएको आरोप अन्य विद्यार्थी संगठनहरुको छ ।

नेविसंघको आन्तरिक विवादका कारण क्याम्पस अशान्त भएको र चुनावसमेत अन्योलमा परेको स्ववियुमा अनेरास्ववियु अध्यक्षका उम्मेदवार अनुप न्यौपानेले बताए ।

निर्वाचन समिति संयोजक दीपक थापाले बिहानैदेखि चुस्त सुरक्षा व्यवस्था गरिएको र चुनाव अगाडि बढाउने तयारी भइसकेको जानकारी दिए ।

‘सहमति गर्ने कोसिस पनि गर्‍यौं तर सहमति हुन सकेन । जिल्लास्तरका प्रतिनिधिहरु पनि बसेका थियौं । नेविसंघले तालाबन्दी गरेको थियो । त्यो तालाबन्दी पश्चिमाञ्चल इकाइ समितिले खोल्यो । नेविसंघकै एउटा समूह चुनावमा जान चाहन्छ भनेर आएपछि प्रशासनलाई पत्र पनि दिनुभयो,’ उनले भने, ‘रिले अनसन गर्ने, नाराजुलस गर्ने काम गर्नुभएको छ तर चुनाव रोकिँदैन ।’

इन्जिनियरिङ अध्ययन संस्थानमा २ हजार ४१ मतदाता छन् । २०४३ सालमा स्थापना भएको क्याम्पसमा स्ववियु निर्वाचन हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?