
५ चैत, गुल्मी । गुल्मी जिल्लाबाट यसवर्ष माध्यामिक शिक्षा परीक्षा (एसईई) दिने विद्यार्थीको संख्यामा वृद्धि भएको छ । यसअघिका तीन वर्ष एसईई दिने विद्यार्थीको संख्यामा ओरालो लागेको थियो ।
चैत ७ गतेबाट सुरु हुन लागेको एसईई परीक्षामा कुल चार हजार ८५७ जना विद्यार्थीहरु एसईईमा सहभागी हुने भएका छन् । त्यसमध्ये साधारणतर्फ ३ हजार ५२६, प्राविधिक तर्फ २६० जना नियमित परीक्षामा सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई गुल्मीले जनाएको छ ।
ग्रेड वृद्धिमा साधारणतर्फ ९९३ र प्राविधक तर्फ ७२ जना सहभागी हुने भएका छन् । गतवर्ष साधारणतर्फ ३ हजार ७९०, प्राविधिकतर्फ २९५ जना र ग्रेडवृद्धितर्फ १२ जना गरी ४ हजार ९७ सहभागी थिए ।
२०७८ सालमा ४ हजार ८२३, २०७९ मा ४ हजार ७२२ र २०८० सालमा ४ हजार ९७ जना विद्यार्थीले एसईई परीक्षामा सहभागी भएका थिए । सङख्यात्मक रुपमा यसवर्ष वृद्धि भएपनि नियमिततर्फ विद्यार्थीहरु कम हुँदै गएको इकाइ प्रमुख थानेश्वर घिमिरेले बताए ।
यसवर्ष ग्रेड वृद्धिका विद्यार्थीहरु बढी भएका कारण सङख्यात्मक रुपमा बढेको देखिएको उनको भनाइ छ । यस वर्ष गुल्मीमा एसइइका लागि २६ वटा केन्द्र निर्धारण गरिएको छ ।
केन्द्रका केन्द्राध्यक्षलाई तालिम प्रदान गरी केन्द्र तर्फ पठाइएको छ । केन्द्रको नजिक रहेको प्रहरी चौकीमा उत्तर पुस्तिका र प्रश्नपत्र पुगिसकेको छ ।
एसईईमा २६० जना सुरक्षाकर्मी खटिने र आवश्यकताको आधारमा थप पनि हुन सक्ने घिमिरेले बताए ।
प्रतिक्रिया 4