
तीन महिना अघिको कुरा हो, एक जना पुरानो मित्रसँग फोनमा कुरा भयो । कुराकानीकै क्रममा उसले ठोकुवा गरेर भन्यो, ‘राजतन्त्र छिट्टै फर्कन्छ ।’
मैले सोधें, ‘कति छिटो ?’
उसले भन्यो, ‘एकाध वर्षमा ।’
मैले फेरि सोधें, ‘यो विश्वास कहाँबाट आयो ?’
उसले भन्यो, ‘धेरैले भनिरहेका छन्, चारैतिर चर्को आवाज उठिरहेको छ ।’
मैले सोधें, ‘राजा फर्किए भने तिमीले के पाउँछौ ?’
उसले भन्यो, ‘मैले त के पाउँछु थाहा छैन तर यी चोरहरूबाट देशले उन्मुक्ति पाउँछ ।’
मैले भने, ‘चोरबाट उन्मुक्ति पाएर डाँकुको हातमा पर्यो भने नि !’
ऊसँग स्पष्ट जवाफ थिएन । तर कुराकानी गर्दै जाँदा उसमा राजतन्त्रप्रति अतिरिक्त माया पलाएको स्पष्ट देखिन्थ्यो । अनि वर्तमान व्यवस्था र मुख्य दलहरूप्रति ऊ साह्रै नमिठो सुनिन्थ्यो ।
राजतन्त्रप्रति उसको मोहलाई मैले अस्वाभाविक ठानिनँ तर बाँकी दलहरूप्रति उसको घृणाको ग्राफ देखेर भने चकित भएँ । सामान्यतया भूमध्यधारमा हिंड्न रुचाउने मेरो साथी अहिले एक ध्रुवतिर लपक्कै टाँसिएको रहेछ ।
कुनै पनि व्यक्ति कुनै ध्रुवतिर ढल्किनु स्वाभाविक नै हो, विश्वभर यो हुन्छ तर कुनै ध्रुवको अन्ध समर्थक हुनु चाहिं गम्भीर समस्या हो । मलाई साथीको सूचनाको स्रोत जान्न मन भयो । साथीले भनेका ‘सबै’ को हुन् भन्नेमा बडो कौतूहल जाग्यो ।
कुनै पनि विषयप्रतिको पूर्ण विश्वासको पछाडि त्यससँग सम्बन्धित सूचनाले अहम् काम गर्छ । अहिले आम मानिसको जस्तै साथीको सूचनाको स्रोत पनि यिनै सामाजिक सञ्जाल– फेसबुक, टिकटक र विशेषगरी युट्युब रहेछ । यी सञ्जालमा जो बढी चर्को स्वरमा बोल्छ, जो भाइरल भइरहेको छ, जसलाई च्याउसरी उम्रिएका युुट्युुब च्यानलहरूले पछ्याइरहेका छन्, साथी उनीहरूका कुरा नै ज्यादा सुन्दो रहेछ ।
भाइरलम्यान र अभियन्ताका नाममा आफ्नो रोष र कुण्ठा प्रकट गरिरहेका कथित विश्लेषकलाई पछ्याउँदै जाँदा साथी फरक विचारयुक्त सामग्री, मूलधार र तथ्यपरक समाचार र विश्लेषणबाट धेरै टाढा पुगिसकेको रहेछ । उसका अरू दुई–चार जना साथीहरू पनि यस्तै अवस्थामा रहेछन् । एकापसमा कुरा हुँदा छलफल र निष्कर्षका स्रोत तिनै व्यक्ति र उही च्यानल । अनि कसैले उनीहरूभन्दा फरक दृष्टिकोणको कुरा गर्यो भने या त ऊ पूर्वाग्रही हुने वा अल्पज्ञानी घोषित हुने । अझ चिन्ताजनक कुरा त सो व्यक्ति ‘विदेशीको इशारा’मा बोलेको भन्ने लाग्ने वा अराष्ट्रिय तत्व ।
साथीहरू थाहै नपाई ‘इको चेम्बर’मा प्रवेश गर्दै रहेछन् । अहिले राजतन्त्र पक्षधर मात्रै होइन, गणतन्त्र पक्षधर वा कुनै अमूक पार्टी पक्षधर धेरै युवाहरू पनि इको चेम्बरको दलदलमा फस्न थालेको देखिंदैछ ।
‘इको चेम्बर’ यस्तो अवधारणा र अवस्था हो– जहाँ मानिसले एउटा विचार वा विश्वास निर्माण गर्छ, त्यही विचार वा विश्वाससँग सम्बन्धित आफू अनुकूल सूचनाहरूबाट आफूलाई प्रतिध्वनित गराइरहन्छ । अनि अन्यत्रबाट आउने उस्तै विचारहरू देखाएर आफ्नो विचार ठीक भएको निष्कर्ष निकाल्छ । यसले निरन्तरता पाइराख्यो भने मानिस आफ्नो विचारधारामा जड बनिदिन्छ ।
विचारधारा पनि के भन्नुु, आफूलाई हो जस्तो लागेको सतही सोचमा जड बनिदिन्छ । फरक विचारलाई स्वीकार त गर्दैन नै, फरक विचारप्रति शंका गर्छ । शंका मात्रै गर्दैन, आफू अनुकूल सूचनाबाटै घेरिएर ऊ बाहिरी दुनियाँसँग अविश्वासको खाडल बनाउँछ । खाडल बनिसकेपछि मानिस अरू विचार बोकेका मानिसहरूप्रति असहिष्णु बन्न थाल्छ ।
इको चेम्बर खासमा एउटा भ्रमको भुमरी हो । राजनीतिक सञ्चारसँग सम्बन्धित यो शब्द सामाजिक सञ्जालको बढ्दो प्रभावसँगै अन्यत्र पनि व्यापक प्रयोगमा आइरहेको छ ।
यो लेखमा म नेपाली समाज कसरी इको चेम्बरभित्र फस्दैछ र त्यसको प्रभावले देशको सामाजिक, आर्थिक, राजनीतिक क्षेत्रमा कस्तो असर गर्छ भन्ने विषयमा चर्चा गर्नेछु ।
सामाजिक सञ्जाल अहिले धेरैको लागि नशा बनिसकेको छ । एक अध्ययनका अनुसार अहिले एक जना व्यक्ति दिनमा सरदर ७ घन्टासम्म सामाजिक सञ्जालको घेराभित्र छ । तर सामाजिक सञ्जाल चलाउने अधिकांशलाई यो सञ्जालको घेराबन्दीबारे चासो छैन । लाखौं प्रयोगकर्तालाई सञ्जालको ‘अल्गोरिदम’बारे त जानकारी नै छैन ।
सामान्य भाषामा बुझ्दा अल्गोरिदम सामाजिक सञ्जालको गणित हो । अल्गोरिदमकै मद्दतले सामाजिक सञ्जालले एक जना व्यक्ति कस्तो सामग्री मन पराउँछ, कस्तो सामग्रीमा बढी समय खर्च गर्छ र कुन समयमा कुन सामग्रीमा उसलाई बढ्ता रुचि हुन्छ भन्ने हिसाबकिताब गरेर डेटा निर्माण गर्छ ।
यतिसम्म कि अल्गोरिदमकै मद्दतले फेसबुक, टिकटक र युट्युब जस्ता सञ्जाल हामीले कस्तो सामग्रीमा कस्तो रियाक्ट गर्यौं भनेर समेत हिसाब गरेर बसेका छन् । विगतदेखि वर्तमानसम्म हाम्रो दिमाग पढेर बसेका छन् । सोही डेटाका आधारमा एउटा व्यक्तिले चलाउने सामाजिक सञ्जालमा सामग्री पस्कने काम हुन्छ ।
घर झगडाका युट्युब सामग्री हेर्ने युवालाई विश्वले गरिरहेको विज्ञानमा फड्को र अध्ययन अनुसन्धानका सामग्री युट्युबले विरलै देखाउँछ । भाइरल म्यानहरूका सामग्रीमै बढ्ता समय खर्च गर्ने युवालाई फेसबुकले विरलै ओजपूर्ण सामग्री पस्कन्छ । फेन्सी पसलका सामग्रीमा बढ्ता समय खर्चने युवतीलाई टिकटकले विरलै महिला सशक्तीकरणका मुद्दा समेटिएका सामग्री देखाउँछ ।
सामाजिक सञ्जालको यो गणित मानिसलाई इको चेम्बरको भुमरीमा अल्झाइराख्न क्याटलिस्टको भूमिकामा छ । जब कुनै देशका नागरिक इको चेम्बरमा हुन्छन्, त्यहाँ भ्रमले राज गर्छ, सत्यले हार मान्नुपर्ने हुन्छ । अहिले सामाजिक सञ्जालका धेरै सामग्री सत्यभन्दा धेरै पर पुग्ने गरेका छन् भने शृंखलाबद्ध भ्रमहरूले मानिसलाई दिग्भ्रमित बनाउने गरेको छ । दिग्भ्रमित नागरिकले स्वतन्त्र विश्लेषण गर्नै सक्दैन ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले काठमाडौंका मेयर बालेन शाहलाई रेस्पोन्स गरेको भिडियो भन्दै एआई निर्मित श्रव्यदृश्य सामग्रीको व्यापकताबाटै थाहा हुन्छ, नेपाली समाजमा भ्रमले कति शीघ्रता पाइरहेको छ ।
सामान्य स्वविवेक पनि प्रयोग नगरी सञ्जाल प्रयोगकर्ताहरू लहडमा कुदिरहेका छन् । गालीगलौजयुक्त सामग्रीमा देखिने लाइक र अनुमोदन सहितका कमेन्ट हुन् वा समाजका प्रतिष्ठित र अनुकरणीय व्यक्ति वा संस्थाहरूलाई कसैले हिलो छ्याप्ने नियतले बनाएको सामग्री भाइरल बनाउन खेलिएको भूमिका होस् वा मिथ्यांकको प्रचारप्रसारमा देखाइएको तदारुकता, स्वविवेक गुमाउँदै गएको प्रमाण हो ।
सामाजिक सञ्जाल प्रयोगकर्तालाई यी र यस्ता गम्भीर विषय पुष्टि गर्नुपर्छ भन्ने सामान्य ज्ञान पनि छैन । कुनै पनि विषय र घटनाका बहुआयाम हुन्छन् तर सञ्जाल प्रयोगकर्ताहरू एक दृष्टिमै धारणा बनाइरहेका छन् । यो समाजको लागि धेरै चिन्ताजनक अवस्था हो ।
पछिल्लो समय नेपालमा सामाजिक र राजनीतिक घृणाको ग्राफ बढिरहेको छ । घृणाको तह यति माथि छ कि, देशको प्रधानमन्त्रीको जन्मदिनमा समेत मृत्युको कामना र श्रद्धाञ्जलिको वर्षा छ । अर्थमन्त्रीलाई आगोको लप्काले पोल्दा सञ्जालमा खुशीको बहार छाउँछ । बालेन शाहले सिंहदरबारमा आगो लगाउँछु भन्दा त्यसमै सही थापिन्छ । पूर्वका मेयरलाई आलोचनात्मक सुझाव दिंदा मात्रै पनि पढ्नै नसकिने खालका गाली दिइन्छ ।
समाजमा उच्च स्थान बनाएका व्यक्ति वा समूहलाई मिथ्या सूचनाको सहारामा एक दृष्टिमै अपराधी करार गरिन्छ । कुनै नियतले कसैले लाञ्छना लगाएको विषयलाई यति उचालिन्छ कि त्यो सत्य झैं सवार भइरहेको छ ।
समाज तर्क र प्रश्नले जीवन्त बन्छ । हरेक अध्ययन–अनुसन्धानको सुरुआत प्रश्नबाट हुुन्छ तर नेपाली समाज तर्क र प्रश्न होइन आक्षेप र आग्रहबाट निर्देशित भइरहेको छ ।
कसैले धर्मसँग जोडिएका अवैज्ञानिक र अमानवीय कुरा सुधार गर्नुपर्यो भन्यो भने उसलाई ‘अधर्मी’ घोषणा गरिन्छ । कसैले सबै जातजाति र भाषाभाषीको अधिकारको कुरा गर्यो भने उसलाई समाज ‘भँडुवा’ भनिन्छ । कसैले कुनै देशद्वारा फन्डेड प्रोजेक्टमा विशुुद्ध जागिर खाएको रहेछ भने पनि उसलाई ‘डलरे’ भनिन्छ । कसैले इतिहास र प्रवृत्तिका कुरा गर्यो भने या त आँखा चिम्लेर विश्वास गर्ने या त सर्लक्कै त्यो कुरा खारेज गर्ने परिपाटीको विकास भएको छ । कुनै पनि विषयमा केही समय स्वविश्लेषण गर्ने धैर्य पनि छैन र पुनर्पुष्टि गर्ने जाँगर देखिंदैन ।
अहिले राजतन्त्रकाल र गणतन्त्रकालका तुलनात्मक विषयहरू आइरहेका छन् । तर सञ्जालमा तर्कभन्दा बढी आक्षेप र तथ्यांकभन्दा बढी आक्रोशहरूले घर गरेको छ । अनि एउटा तप्का अर्को तप्काको बदख्वाइँ गर्न लागिपरेको छ । सञ्जालमा तर्क गर्नेहरूलाई अमर्यादित, अशिष्ट र तुच्छ भाषामा प्रतिक्रिया दिइएको छ जसका कारण तर्क र प्रश्नमा विश्वास गर्नेहरू नै लुक्नुपर्ने अवस्था बनेको छ । सन्तुलित धारणा राख्नेहरू गुमनाम छन् तर असन्तुलित र अमर्यादित कुरा गर्नेहरू भाइरल छन् ।
कसैलाई यो स्वाभाविक लाग्न सक्छ । वितृष्णा पोखिएको मात्रै लाग्न सक्छ । तर यो असामान्य र असामाजिक प्रतिक्रिया मात्रै होइन असहिष्णुता हो, अराजकता हो, राज्य सञ्चालकहरूप्रतिको चरम अविश्वास हो । अझ घोत्लिएर सोच्ने हो भने, यो समग्र राज्यप्रतिको अविश्वास हो । राज्यप्रतिको अविश्वास मात्रै होइन, यो त स्वयंप्रतिको पनि अविश्वास हो ।
पछिल्लो समय नेपाली युवाहरूमा देखिएको हतास मानसिकताले उच्छृंखलता र अराजकता निम्त्याइरहेको छ । पछिल्लो युवा पुस्ता समाजका सबै अवयवहरूप्रति एकैपटक नकारात्मक भइरहेको छ । चुहिने घरमा बस्ने, वर्षभरि खान–लाउन नपुग्ने, शहर पुग्न चार घन्टा हिंड्नुपर्ने, खानेपानी लिन दुई घन्टा उकाली–ओराली गर्नुपर्ने अवस्थामा समेत निराश नभएको नेपाली समाज सामाजिक सञ्जालका सामग्रीका आधारमा अहिले निराश भइरहेको छ ।
घरको वार्षिक आम्दानी बढ्दा पनि, व्यक्तिगत वा पारिवारिक ऋण नहुँदा पनि, छोराछोरी राम्रो स्कुलमा पढ्दा पनि, सपरिवारको स्वास्थ्य राम्रै हुँदा पनि अहिलेको युवा पुस्ता चरम निराशामा बाँचिरहेको छ । यो गम्भीर मनोसामाजिक समस्या हो । यसको पछाडि यही इको चेम्बरले काम गरेको छ ।
कुनै पनि व्यक्ति पाइपबाट फुत्त छिरे जस्तो एकैपटक इको चेम्बरमा प्रवेश गर्ने त होइन । इको चेम्बर प्रवेशका पनि चरणहरू हुन्छन् । यो एक शृंखलाबद्ध गतिविधिको परिणाम हो । स्वाभाविक रूपमा मानिस आफूलाई मन पर्ने विचारसँग सम्बन्धित सूचना र जानकारी खोज्छ । यो प्राकृतिक स्वभाव हो । यो ठूलो समस्या होइन तर फरक विचार वा दृष्टिकोणबाट आफूलाई टाढा राख्न खोज्नु चाहिं समस्या हो ।
यसलाई विज्ञहरूले सूचना ग्रहणमा चयन (सेलेक्टिभ एक्सपोजर) भनेका छन् जहाँ मानिस आफ्नो विश्वासलाई बल पुग्ने सूचनाका स्रोत मात्र पछ्याउन थाल्छ । यो इको चेम्बरमा प्रवेश गर्ने पहिलो चरण हो । दोस्रो चरणमा सामाजिक सञ्जालको अल्गोरिदम, परिवार, साथीभाइले उक्त व्यक्तिको रुचि अनुसारको सूचना उसको दिमागमा भर्न भूमिका खेल्छन् । यसो हुँदा सो व्यक्ति आफ्नो धारणालाई मलजल गर्ने जस्तोसुकै विचार पनि विश्वास गर्ने अवस्थामा पुग्छ ।
आफ्नो कल्पनाशीलता, सिर्जनशीलता र क्षमतालाई लत्याउन थाल्छ । कुनै परिस्थिति र कारणवश घर गरेर बसेको आफ्नो विश्वासमा फ्युल भर्ने सूचना मात्रैमा ऊ रमाउन थाल्छ । तेस्रो चरणमा व्यक्ति पूर्वाग्रह पुष्टीकरण (कन्फर्मेसन बायस) को अवस्थामा पुग्छ जहाँ उसले आफ्ना विचारहरूलाई समर्थन गर्ने सूचनालाई देखाएर आफू सही भएको आत्मरति लिन्छ र फरक विचारलाई नदेखे झैं गर्छ ।
विषयको अर्को कोणलाई ऊ पूरै बेवास्ता गर्ने अवस्थामा पुग्छ । अनि सुरु हुन्छ इको चेम्बरको दलदल । चेम्बरभित्र प्रवेश गरिसकेपछि एउटा व्यक्ति वा समूह फरक विचार बोक्ने व्यक्ति वा समूहप्रति असहिष्णु हुन थाल्छ । अन्तरसंवाद पातलो बन्छ, अनि सुरु हुन्छ घृणित ध्रुवीकरण ।
दुनियाँमा अलग–अलग विचारधारा छन्, दृष्टिकोण छन् तर कुनै पनि शाश्वत सत्य होइनन् । विचारधारा आफ्नो जीवनमार्ग निर्देश गर्ने पथप्रदर्शक हो । समान विचार भएकाहरू ध्रुवीकृत हुनु सामान्य हो, यो विश्वव्यापी स्वाभाविकता हो । तर इको चेम्बर विचारको ध्रुवीकरण भन्दा फरक हो ।
इको चेम्बरमा रहेका व्यक्तिहरूमा आफ्नो विचार समूहको मत नै शाश्वत सत्य भन्ने भ्रम हुन्छ । यही भ्रम नै अहिलेको मुख्य समस्या हो । इको चेम्बरका कारण एक जना व्यक्तिको सन्तुलित सोचमा त गडबडी आउँछ नै, उसको समाज र परिवार पनि प्रभावित भइरहेको छ । समग्र देशकै सामाजिक र राजनैतिक परिपाटीमै गम्भीर असर पुर्याउने यसले देशको आर्थिक परिस्थितिमा पनि असन्तुलन ल्याउँछ ।
शुरूमा चर्चा गरौं पारिवारिक प्रभावको
परिवार आपसी सम्बन्ध, सहयोग र साझा विश्वासको आधारमा जोडिएको सामाजिक इकाइ हो । रक्तसम्बन्ध र सहवासमा मात्रै सीमित नभई पारस्परिक सम्मान, माया र सहानुभूतिमा आधारित एकता हो । एउटा परिवारको भिन्न–भिन्न पुस्ताका बीच भिन्न दृष्टिकोण हुन्छ तर सन्तुलित संवाद, समझदारी र आपसी समर्थनले मात्र परिवार सुदृढ हुन्छ ।
सदस्यहरू बीचको सौहार्दताले भावनात्मक सन्तुलन ल्याउने मात्रै होइन व्यक्तिको सामाजिक, मानसिक र नैतिक विकासको आधार पनि बनाइरहेको हुन्छ । तर त्यही परिवारमा कुनै सदस्य आफ्नो दृष्टिकोण वा विचारमा जड छ वा आफू बाहेक बाँकीको कुराप्रति सहिष्णु छैन भने अवस्था कस्तो हुन्छ, अनुमान लगाउन सकिन्छ । इको चेम्बरमा फसेको एक जना सदस्यले मात्रै पनि पारिवारिक वातावरण खल्बल्याइदिन्छ ।
विभिन्न विचारधारामा अडिग रहने परिवारका सदस्यहरूबीच संवाद पातलो बन्छ, अविश्वास झाँगिने हुन्छ । एकअर्कालाई बुझ्न त कठिन बन्छ नै, झगडा उत्पन्न हुँदै टाढिनेसम्मको अवस्था सिर्जना हुन्छ । परिवारभित्र आफ्नो विचारलाई अस्वीकार गरिएको अनुुभव गर्ने सदस्यहरूले कुराकानी गर्न वा पारिवारिक जमघटहरूमा सहभागी हुन रुचि देखाउँदैनन् जसले परिवारलाई एकजुट गराउने साझा मूल्य र आधारको जग हल्लाइदिन्छ । अनि शुरू हुन्छ पारिवारिक विग्रह ।
सामाजिक प्रभाव
इको चेम्बर समाजका लागि क्यान्सर हो । यसले विविधता अस्वीकार गर्दछ, पूर्वाग्रहलाई अग्रस्थानमा राख्छ । इको चेम्बरको प्रभावले मानिस खुशी हुने तत्वहरूमा पनि फेरबदल ल्याइदिन्छ । अरूको खिसीटिउरी, व्यंग्य, अरूलाई गालीगलौज र अभद्र टिप्पणीमा ऊ रोमाञ्चित हुने अवस्था आउँछ । जुन सूचनाले उसलाई रोमाञ्चित बनाउँछ, सामाजिक सञ्जालको अल्गोरिदमले उसलाई उस्तै सूचना पस्कन्छ र अन्ततः उसलाई घेरेर राख्छ । यसले वैयक्तिक दृष्टिकोणमा बादल लगाइदिन्छ अनि अरूप्रतिको आलोचनात्मक सोच र अर्थपूर्ण संवादलाई न्यून बनाउँछ । यसले सामाजिक ध्रुवीकरण र गुटबन्दी विस्तार गर्न मद्दत पुग्छ ।
जब मानिसहरूले एकअर्कालाई समान नागरिक नभई प्रतिद्वन्द्वीको रूपमा हेर्न थाल्छन्, अविश्वासले जरो गाड्छ । अविश्वासले समझदारी र सहानुभूति घटाउँछ । जब अविश्वास बढ्दै जान्छ, सम्बन्धमा विग्रह शुरू हुन्छ । यसले सामाजिक सन्तुलन त बिगार्छ नै समाजमा अराजकता निम्त्याउँछ । सन्तुलित विचार नहुँदा रिस र आक्रोश बढ्छ । यो आक्रोश बढ्दै जाँदा हिंसा शुरू हुन्छ ।
यति मात्रै होइन, इको चेम्बरले गलत सूूचना फैलाउने, व्यक्तिगत चरित्र हत्यालाई प्रोत्साहन गर्ने र सतही हल्लाखल्ला गर्ने कुरालाई प्रोत्साहित गर्छ जसले सु–सूचित हुनुपर्ने समाज हल्लाखोर समाजमा रूपान्तरित हुन्छ । व्यक्तिगत कुण्ठा र आवेगहरू सामाजिक मुद्दा बन्छन् जसले कालान्तरमा समाजको एकता नै भाँडिन्छ ।
राष्ट्रिय प्रभाव
पछिल्लो समयको च्याम्बरको राष्ट्रिय प्रभाव देखिने गरी सतहमा छ । सामाजिक सञ्जालमा देखिएको मूलधारका सञ्चारमाध्यमप्रतिको अविश्वास, सरकार र राज्य प्रणालीप्रतिको अविश्वास अनि अनौपचारिक मिडियाका हेडलाइनमा विश्वास त्यसैको परिणाम हो । साधारण नागरिक त विचारशून्य अवस्थामा बाझाबाझ गरिरहेका छन् नै, बौद्धिक भनिएको जमात पनि आग्रह–पूर्वाग्रह प्रेरित र स्वार्थ केन्द्रित बहसमा उत्रिएको छ ।
यसले विस्तारै जनमत र नीतिगत निर्णयलाई प्रभाव पार्छ । परिणामस्वरुप राजनीतिक गतिरोध सिर्जना हुन्छ, साझा सहमति खोज्न कठिन हुन्छ । लोकतान्त्रिक संस्थाहरू कमजोर हुन्छन् । लोकतान्त्रिक संस्थाहरू कमजोर हुनुको अर्थ सुशासन भड्खालोमा पर्नु हो र राज्यमा कुनै निरंकुशताको जन्म हुनु हो । पछिल्लो ट्रेन्डले कुनै न कुनै रूपको निरंकुशतालाई आमन्त्रण गरिरहेको छ । सचेत नागरिकले प्रमुख दलहरूसँगको रिस र आक्रोशलाई चुनाव मार्फत जवाफ दिने हो, निरंकुशता खोज्ने होइन । सामाजिक सद्भाव कायम राख्न भूमिका खेल्ने हो, द्वन्द्व र अस्थिरता निम्त्याउने होइन ।
इको चेम्बरको आर्थिक प्रभाव पनि उस्तै हुन्छ । यसले सिर्जनशीलता त नष्ट गर्छ नै, नवप्रवर्तन वा अध्ययन अनुसन्धान पनि धूलिसात् पार्छ । चीनको बीआरआई होस् या अमेरिकी एमसीसी, यथार्थभन्दा धेरै पर पुगेर भएको सञ्जाल बहस इको चेम्बरकै परिणाम हो ।
इको चेम्बरमा रहेका नागरिकहरूले सुन्दा लोकप्रिय लाग्ने तर घातक निर्णय लिन शासकहरूलाई बाध्य पार्छन्, जसको कारण आर्थिक अस्थिरता सुरु हुन्छ । जुन देशमा आर्थिक स्थिरता छैन, आन्तरिक र बाह्य लगानीमा आकर्षण हुने कुरै भएन । लगानी नै नभएपछि आर्थिक समृद्धिको सपना सपनामै सीमित हुन्छ ।
इको चेम्बरको दलदल वा भ्रमको भुमरीबाट एकै दिनमा निस्कन सकिंदैन । यसको लागि शृंखलाबद्ध अभ्यास, धैर्य र आलोचनात्मक चेत आवश्यक पर्छ । कुनै पनि विषयलाई बहुआयामबाट नियाल्न सिक्नुपर्छ । सूचनाका स्रोतमा विविधता खोज्नुपर्छ ।
अनुमानमा आधारित दृष्टिकोणहरू खारेज गर्दै आग्रहविहीन र विश्वसनीय दृष्टिकोण निर्माण गर्न सिक्नुपर्छ । सौहार्दपूर्ण संवाद गर्न सिक्नुपर्छ र सम्मानपूर्वक बहसमा सहभागी हुनुपर्छ । अधिक सुन्ने र कम बोल्ने बानीको विकास गर्नुपर्छ । संवादको क्रममा फरक मतको सम्मान गर्ने र आफ्ना विश्वासलाई एकछिन थाती राखेर विविध धारणा सुन्ने क्षमताको विकास गर्नुपर्छ ।
सामाजिक सञ्जालको अल्गोरिदमबाट मुक्ति पाउन एउटै सञ्जाल लामो समयसम्म नचलाउने र हेर्ने सामग्रीमा विविधता खोज्नुपर्छ । स्वतन्त्र लेखक र पार्टीहरूसँग असम्बन्धित व्यक्तिहरूको धारणा पढ्ने बानीको विकास गर्नुपर्छ ।
कल्पनाशीलता र सिर्जनशीलता विकास गर्ने उपायहरू अवलम्बन गर्नुपर्छ । आर्थिक समृद्धिभन्दा अघि सामाजिक समृद्धि चाहिन्छ भन्ने बोध हुनुपर्छ ।
सामाजिक समृद्धि एउटा व्यक्ति, संस्था वा समूहले ल्याइदिने होइन । यो त सामूहिक अभ्यासको परिणाम हो । अहिले सामाजिक सञ्जाल र मिडियामा भएको अभूतपूर्व विकासले हरेक नागरिक राज्य सञ्चालकहरूसँग सीधा संवाद गर्न सक्ने अवस्थाको सिर्जना भएको छ । यो ठूलो अवसर हो । यो अवसरलाई दुरुपयोग गरियो भने देश भड्खालोमा पर्छ । देश भड्खालोमा पर्दा व्यक्ति र तिनका परिवार जोगिने भन्ने हुँदैन ।
सम्भ्रान्त वर्गको परिवार त देशमा समस्या पर्दा केही घन्टामै देश बाहिर जान सक्ला तर बहुसंख्यक नेपालीले त्यसको असर भोग्नै पर्छ । आन्तरिक द्वन्द्व बढ्दै जाँदा बाह्य हस्तक्षेप भएर धेरै देश तहसनहस भएको हामी सबैले देख्दै आएका छौं । समृद्ध समाज निर्माणको लागि इको चेम्बरको दलदलबाट मुक्त हुनैपर्छ ।
(लेखक शर्मा अमेरिकामा अध्ययनरत छन् ।)
प्रतिक्रिया 4