
कति कुरा अचम्मैलाग्दो हुन्छ । जस्तो दुर्गेश थापाको जिन्दगीमा भइरहेको छ ।
सामान्यत वार्तालापहरूमा उनलाई आग्रह गरिन्छ, ‘ल दुर्गेश जी एउटा गीत गाइदिनुहोस् ।’ त्यसबखत उनको स्वरले भाका टिप्दैन । बेसुरमा गाइदिन्छन् र हाँसोको पात्र बन्छन् ।
अक्सर मेला–महोत्सवहरूमा उनलाई निम्तो गरिन्छ, ‘ल दुर्गेश जी जसरी पनि आइदिनुपर्यो ।’ त्यसबखत उनको आवाजले कम्पन पैदा गरिदिन्छ । धमाका मच्चाइदिन्छन् र दर्शकलाई बेपत्ता नचाउँछन् ।
न उनी आफूलाई धुरन्धर संगीतिज्ञ ठान्छन्, न त अरूले नै भन्छन् । तैपनि उनका गीतले असीमित दर्शकलाई एकढिक्का बनाउँछ र एउटै सुरमा लयबद्ध गर्छ ।
मेलापातदेखि महोत्सवसम्म, दूरदराजका गाउँदेखि समुन्द्रपारका शहरसम्म, नाइट क्लबदेखि बिहेकार्जेसम्म, तोतेबोली बोल्ने बालबालिकादेखि थोते प्रौढसम्म । दुर्गेशको गीतमा भाका नहाल्ने को छ ?
‘के हो तिम्रो नाम बहिनी परिचय पाम्
हिमाल जस्तै रैछौ तिमी बिहानीको घाम्
कता हिँडेको हो बिजुली बालेर……….।’
यसका शब्दहरूलाई एकछिन गोली मारिदिनुहोस् । तर भाका सुन्दै जाँदा शरीरका अवयवहरू कताकता नाच्न थाल्छन् । त्यसैले सुन्नेहरू मुडमा आइहाल्छन् र रोमान्टिक भइहाल्छन् । यतिबेला युट्युबको ग्लोबल ट्रेन्डिङमा रहेको यो गीतलाई टिकटकमा पछ्याउनेहरू कति छन् ? गनेर साध्य भए पो !
मान्छेहरू द्विविधामा छन् । यो कलाको शक्ति हो वा भाग्यको खेल ? प्रविधिको देन हो वा बजारको माग ? आखिर के जादू छ दुर्गेशको गीतमा ?
भन्नेहरू त सजिलै भन्छन्, ‘उनमा कलाभन्दा बढी चर्तिकला छ ।’ झट्ट हेर्दा देखिन्छ त्यस्तै पनि । जब–जब मञ्चमा उक्लन्छन्, उनको आफ्नै रवाफ हुन्छ । दायाँबायाँ सुरक्षाघेरा राखेर मञ्चको सम्मुखसम्म गाडीमा सवार हुनु, गाडीबाट ओर्लिएर कति नै हतार भए जसरी दौडदै मञ्चमा उक्लनु, बिन्दास शैलीमा हाफ गन्जीमा उपस्थित हुनु, गाउनुभन्दा बढी पसिना छुट्नेगरी उफ्रिनु ।
यस्तो लाग्छ, सुस्ताएको मञ्च पनि दुर्गेश उक्लिएपछि जर्याकजुरुक तङ्ग्रिन्छ । वायुमण्डलमा ४ सय ४० को झट्का तरंगित हुन्छ । अनि मेला–महोत्सवको रौनक फेरिन्छ ।
सरस्वती दाहिना भएको यो याममा दुर्गेशले आफूलाई स्वघोषित ‘मञ्चका बादशाह’ भन्दा नाक खुम्चाउनु पर्दैन । किनभने उनी छन् नै त्यस्तै र चलेका छन् त्यसरी नै । जसरी पछिल्लो गीत सार्वजनिक गर्दै लेखेका छन्, ‘दुर्गेश नाम होइन ब्रान्ड हो ।’
यो उनको अभिमान भन्दा बढी आक्रोश हो । त्यसको अर्को पंक्तिमा लेखिएको छ, ‘दुश्मन हेरेको हेर्यै ।’
एउटा ‘सज्जन’ जमात छ, जसले दुर्गेशको गायकीलाई पत्याउँदैनन् । उनको स्वरमाथि खिसिट्युरी गरिन्छ । ‘भाइरल’ र ‘उटपट्याङ’ भनी चित्रित गरिन्छ । ‘संगीत नजान्ने, संस्कृति मास्ने’ भनी अर्ति दिइन्छ ।
यसबीचमा उनी विवादै विवादले घेरिए । कहिले उनको गीत हटाउन लगाइयो, कहिले प्रहरी थाना पुर्याइयो ।
यही कारण दुर्गेश चिढिएका छन् । उनलाई आफ्नो तागत प्रमाणित गर्नुछ र दुनियाँलाई देखाउनु छ ।
अनि खुलेर भन्नुछ, ‘मेरो दुश्मन छ धेरै, दुश्मन हेरेको हेर्यै ।’
आफ्नो आक्रोश र आवेगलाई शब्दहरूमा तिखार्नु । त्यो पेचिलो शब्दहरूमा सुरिलो धुन भर्नु । अनि तोडले गाउनु । यस्तो उनको आफ्नै तरिका हो । एक वार्तालापमा उनी हाँक दिँदै भन्छन्, ‘आजभोलि दुर्गेशको गीत फिल्मतिर बिक्छ, हेर्दै जा भाइ इन्डष्ट्रीमा को चाहिँ बढी टिक्छ ।’
टिक्ने र बिक्ने कुरा आफ्नो ठाउँमा छ । यद्यपि बेलामौकामा दुर्गेश स्वयम् जग हँसाउने काम गर्छन् । चाहे त्यो एक अभिनेतासँग जोडिएको यौनकान्ड होस् वा ऋषि धमलासँगको अन्तर्वार्ता ।
जतिबेला दुर्गेश लाइमलाइटमा थिए, त्यसताका उनलाई ऋषि धमलाले अन्तर्वार्ताका लागि बोलाए । ऋषि धमलाले पूर्ववत शैलीमा सोधे, ‘नारायण गोपालको गीत कस्तो लाग्छ ?’
दुर्गेशले जवाफ दिए, ‘मनपर्छ, म उहाँको गीत सुनिरहेको हुन्छु ।’
‘त्यसो भए स्वरसम्राट नारायण गोपाललाई सम्झेर उहाँको एउटा गीत गाइदिनुहोस्’ धमलाले आग्रह गरे ।
दुर्गेशले बेसुरमा यस्तो गाए, ‘मुटु जलिरहेछ, यो मन गलिरहेछ ।’
खासमा यो भक्तराज आचार्यको गीत थियो । तर, न गाउनेले भेउ पाए, न सुन्नेले । धमलाले पनि मीठो गीत सुने जसरी ध्यानमग्न मुद्रामा आँखा चिम्लेर टाउको हल्लाए ।
यो त्यही बखत थियो, जतिबेला दुर्गेशले तीज गीतको क्रमभंग गरेर नयाँ शैली सुरु गरेका थिए । नारी–प्रधान गीतहरू मात्र बज्ने तीजमा उनले पुरुष आकांक्षा घुसाइदिएका थिए । यसरी, ‘दिदीबहिनी मात्र नाच्छन् जहिले पनि तीजमा, हामी पनि नाच्नुपर्छ बिच्च बिच्चमा ।’
तीजको दर खान चेली माइत आउँदा दाजुभाइ कसरी रमाउँछन् भन्ने भावले मात्र होइन त्यसको मीठासपूर्ण भाकाले पनि मोहनी लगाएको थियो । त्यसैले त हरियो–रातो साडीमा सजिएका महिलाहरू ‘तीजको लहर आयो बरी लै’ छाडेर ‘हामी पनि नाच्नुपर्छ बिच्च बिच्चमा’ गीतमा उधुमै नाचेका थिए ।
तीजमा नारीको वेदना र बिलौनाको गीत गाउने युग सकियो । अब उनीहरूको नाचगानमा पुरुष पनि मिसिन सक्छन् भन्ने समावेशी अर्थ बोकेको गीत गाएका उनको सुझबुझलाई कतिपयले तारिफ गरिरहेका थिए । त्यहीबेला उनको बेसुर गायकी र उटपट्याङ जवाफ सुनेर तारिफ गर्नेहरू खिसी गर्न थाले ।
त्यसपछि टुप्पोमा पुगेर लामो समय टिक्न नपाउँदै उनी सुर्किएर तल झरे । कतिसम्म भने, फिल्मका लागि रेकर्ड गरिसकेको उनको गीत हटाइयो । तयारी भइसकेको स्टेज शो कटौती गरियो । एक विवादित अडियोले उनलाई अझ नराम्ररी पछार्यो ।
समयक्रममा यी सबैकुरा सामसुम हुँदै थियो । उनले अर्को गीत निकाले, ‘ह्याप्पी तिहार, चिसो बियर …ए निकाल गाँजा खानुपर्छ आज ।’ यो गीतमाथि तत्काल प्रतिबन्ध मात्र लगाइएन, उनलाई प्रहरी हिरासतमा पुर्यायो ।
यावत् लफडाबाजीमा परिरहँदा दुर्गेशलाई उल्कै चित्त दुखेको हुँदो हो । रिस उठेको हुँदो हो । जुन कुरा पछिल्ला गीतहरूमा झल्कन्छ । जस्तो– ‘कि दुर्गेश रेलमा, कि दुर्गेश जेलमा’, ‘राजा आयो राजा, बजाइदिन्छु बाजा’, ‘आलु जस्तो गायक’ ।
रोचक त के छ भने, यी गीतहरू उनले यसकारण गाएको जस्तो लाग्छ कि उनको रिस पोख्ने तरिका नै यही हो । अझ रोचक कुरा, अधिकांश गीत सर्वाधिक सुनिएको र हेरिएको छ । र, यसको बोनस चाहिँ उनले स्टेज प्रस्तुतिबाट उठाइरहेका छन् ।
ऋषि धमलाकै शैलीमा भन्ने हो भने, आजको दिनमा दुर्गेश जत्तिको स्टेज तताउने गायक अरू सायदै होलान् । दुर्गेश वास्तवमै गायक भन्दा बढी ब्रान्ड हुन् । माथिको शीर्षक उनकै गीतबाट सापटी लिइएको हो । गीतको स्थायी यस्तो छ–
‘न मेरी आमाले स्कुल देखेको
न मेरो बाबाले गीत लेखेको
कहाँबाट सिक्नु खै मैले सुर ताल
नगर सवाल
हो हो माले भन्ने मान्छे गायक भो बबाल ।’
प्रतिक्रिया 4