
काठमाडौं । ‘शाम्बाला’को प्रिमियरमा सहभागी हुन आएका भारतीय निर्देशक अनुराग कश्यपले अनलाइनखबरसँगको अन्तर्वार्तामा नेपालको फिल्ममेकिङ शैली बलिउडको भन्दा उत्कृष्ट रहेको बताएका थिए ।
उनले दुर्ई फिल्म निर्देशक दीपक रौनियार र मीनबहादुर भामको प्रशंसा गरेका थिए । अभिनेता नवाजुद्दिन सिद्दिकीसँग काठमाडौं आएका कश्यपले त्यतिबेला फिल्म मात्र हेरेनन्, नेपाली फिल्म निर्माणको ‘इभोलुसन’को एउटा साक्षी बने ।
उनै कश्यप यतिबेला प्रदर्शनरत रौनियार निर्देशित फिल्म ‘राजागंज’मा कार्यकारी निर्माताको रुपमा जोडिएका छन् । मंगलबार भिडियो सन्देश जारी गर्दै कश्यपले ‘राजागंज’को प्रशंसा मात्र गरेका छैनन्, आफू निर्देशक रौनियारको फ्यान रहेको समेत बताए ।
‘राजागंज’लाई नेपाल मात्र नभएर दक्षिणपूर्वी एसियाले पनि महसुस गर्न सक्ने उनको भनाई छ । ‘यो फिल्म नेपालको मात्र होइन । भारतमा बसेर पनि मैले रिलेट गर्न सक्छु । दक्षिणपूर्वी एसियाका मान्छेले रिलेट गर्न सक्छन् । निकै उत्कृष्ट फिल्म हो । यो फिल्मलाई दर्शकले सहयोग गर्नुपर्छ ।’
‘राजागंज’मार्फत नेपाल बुझ्न र चिन्न मद्दत पुगेको कश्यपको भनाइ छ । ‘यो फिल्म नेपालको फिल्म हो । जसमा नेपालको दैनिक जीवन गजुारा गर्ने मान्छेको जिन्दगी देखिन्छ । जसमा नेपाल के हो भन्ने कुरा देखिन्छ’ फिल्मबारे उनले भने ।
आफू निर्देशक रौनियारको ठूलो फ्यान रहेको बताउँदै कश्यपले उनको फिल्म निर्माण शैलीले आफूलाई आफ्नो जरा र माटोतिर फर्किन प्रेरणा मिल्ने चर्चा गरे ।
‘दीपक म तिम्रो धेरै ठूलो फ्यान हुँ । तिमी फिल्म बनाउँदै जाऊ, यसरी नै बनाउँदै जाऊ । तिमीले फिल्म बनाउँदा मलाई मेरो माटो र जरातर्फ फर्किन प्रेरणा दिन्छ । यसरी नै फिल्म बनाउन जरुरी छ’ उनले भने ।
‘राजागंज’जस्ता फिल्मलाई मद्दत गर्न सके नेपाली फिल्म माथि जान सक्ने उनको भनाइ छ । ‘यही फिल्म हो जसलाई मद्दत गर्न सके नेपाली फिल्म धेरै माथि जान सक्छ’ उनले भने । यो फिल्मसँग जोडिन पाउँदा आफूलाई गर्व महसुस हुने उनले बताए ।
‘राजागंज’ यतिबेला नेपालका हलमा प्रदर्शन भैरहेको छ । भेनिस फिल्म फेस्टिभलमा वर्ल्ड प्रिमियर भएको यो फिल्मले घरमा उत्कृष्ट प्रतिक्रिया प्राप्त गरिरहेको छ । मधेश आन्दोलनको पृष्ठभूमिमा निर्देशक रौनियारले मातृत्व संवेदना, पहिचान र समानताको कथा भनेका छन् ।
प्रतिक्रिया 4