+

मुख स्वास्थ्य र मानसिक स्वास्थ्यको सम्बन्ध

२०८१ चैत  ७ गते ११:१९ २०८१ चैत ७ गते ११:१९
मुख स्वास्थ्य र मानसिक स्वास्थ्यको सम्बन्ध

पूर्णरूपमा स्वस्थ व्यक्तिका लागि मानसिक स्वास्थ्य एक अति अपरिहार्य घटक हो। मानसिक स्वास्थ्यका लागि यी ६ स्तम्भ एकदमै अपरिहार्य छन्, जसमा पर्याप्त निन्द्रा, घाम, पोषणयुक्त आहार, शारीरिक व्यायाम, तनाव व्यवस्थापन र सामाजिक सम्बन्ध पर्छन्।

मैले मुख स्वास्थ्यलाई मानसिक स्वास्थ्यको सातौं स्तम्भका रूपमा लिएको छु। धेरै व्यक्तिमा पहिला मुख तथा दाँत सम्बन्धी समस्या हुन्छ र पछि यो मानसिक समस्याका रुपमा परिवर्तन भएको पाइन्छ।

मुख स्वास्थ्य खराब भएकै कारण धेरै जनामा चिन्ता तथा निन्द्रा नलाग्ने समस्या भएको देखिन्छ। दाँत नभएकै कारण लज्जाबोध हुने तथा दुःखी भएको अनुभव धेरै व्यक्तिमा देख्न सकिन्छ।

किशोर अवस्थामा पनि दाँतकै समस्याका कारण सामाजिक भेला, विवाह वा अन्य कार्यक्रममा नजाने गरेका व्यक्ति पनि भेटिन्छन् । तनाव भएका बेला राति सुत्दा धेरै व्यक्तिहरूमा दाँत किट्ने समस्या देखिन्छ।चिउँडोको जर्नी दुखाइ, मुखमा घाउ हुनु र गिजामा समस्या आउनु यी सबै तनाव र मानसिक समस्याले उत्पन्न हुन्छन्।

सिजोफ्रेनिया तथा बाइपोलार रोगजस्ता समस्याहरू अन्यको तुलनामा दाँत नभएका व्यक्तिमा बढी पाइएको तथ्यहरू भेछिन्छन्।

मुख स्वास्थ्य सम्पूर्ण शारीरिक स्वास्थ्य तथा गुणस्तरीय जीवनका निम्ति एक अपरिहार्य घटक हो। यसको बेवास्ता गर्नाले कुनैबेला कडा दुखाइ सहनुपर्ने हुनसक्छ । खान, बोल्न, सुत्न, हाँस्न जस्ता क्रियाकलापमा समस्या हुन्छ।

व्यक्तिमा आत्मविश्वास र आत्मसम्मानमा कमी ल्याउँछ साथै जसले गर्दा पारिवारिक सम्बन्धमा समस्या, कार्यक्षेत्रमा कार्यसम्पादन राम्रो नहुने पनि हुन्छ । विभिन्न अवसरबाट वञ्चित हुनु जस्ता समस्याहरु देखिन्छन्।

मानसिक समस्या भएका व्यक्तिमा विभिन्न मुख सम्बन्धित समस्याहरू देखा पर्न सक्छन् । कहिलेकाँही यी व्यक्तिले सेवन गर्ने औषधिको साइड इफेक्ट पनि हुनसक्छ जस्तै मुख सुख्खा हुनु ।

त्यही भएर यो दुईको अन्तरसम्बन्ध छ अर्थात् मानसिक समस्या भएर मुखको समस्या हुनु र मुखको समस्या भएर मानसिक समस्या हुनु।

मुख स्वास्थ्यका कारण वृद्ध अवस्थामा विभिन्न रोग जस्तै-: डेमेन्सिया, अल्झाइमर र अन्य कोग्नेटिभ समस्याहरू पनि गराउँछ।

हाम्रो शरीरको बाहिरी वातावरणसँग सम्बन्ध राख्ने सबैभन्दा ठूलो क्याभिटी भनेको ओरल क्याभिटी हो र यसको विभिन्न दीर्घकालीन रोग र मस्तिष्कको स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्ध राख्छ ।

मुख स्वास्थ्य खराब हुँदा व्यक्तिले अझै मुख सफा राख्न संकोच मान्ने, लाज मान्ने, समूहमा हुँदा बोल्न नमान्ने र अन्तिममा समुदायबाट एक्लिएर बस्न थाल्ने हुन्छ । यसले अन्तिममा अवसाद अवस्थासम्म पुर्‍याउन सक्छ।

अर्को पक्ष भनेको मानसिक समस्या भएमा त्यो व्यक्तिले मुख स्वास्थ्यको हेरचाह गर्न छोड्ने हुनसक्छ । यसले गर्दा मुख समस्याका जोखिमहरू बढ्दै जान्छन्। दाँतहरू झर्ने र खानपानमा समस्यादेखि विभिन्न दीर्घकालीन रोगहरू हुने अवस्था आउँछ।

दन्तरोगको समस्यालाई समाधान गर्ने हो भने यसले व्यक्तिमा मानसिक समस्याबाट पनि राहत पाउनेमा कुनै दुविधा छैन। मुखको राम्रो स्वास्थ्यका लागि ६-६ महिनामा दन्त विशेषज्ञसँग परामर्श तथा जाँच गर्नु आवश्यक छ।

कुनै मानसिक समस्या भएमा पनि दन्त चिकित्सक पहिलो व्यक्ति हुन सक्छ यसलाई पहिचान गर्न। मुख स्वास्थ्य हेरेर मानसिक समस्या भएको या नभएको पनि सूचना थाहा पाउन सकिन्छ। त्यसैले मुख स्वास्थ्यप्रति सजगता अपनाउन एकदमै आवश्यक छ। ‘स्वस्थ्य मुख स्वस्थ दिमाग’ विश्व मुख स्वास्थ्य दिवस २०२५ को नारा रहेको छ ।

मुख स्वास्थ्य
लेखक
डा. दिपक ठाकुर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय