+
+
Shares

वीरगञ्ज सुक्खा बन्दरगाह आउन थाल्यो ‘ट्यांक कन्टेनर’

२० फुटे ९० वटा ट्यांक कन्टेनरमा २० हजार टन कच्चा तेल अर्जेन्टिनाबाट हल्लिया हुँदै पहिलो पटक वीरगञ्ज सुक्खा बन्दरगाह मार्फत नेपाल भित्रिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ५ गते १४:०९

५ चैत, काठमाडौं । वीरगञ्ज सुक्खा बन्दरगाहमा ‘ट्यांक कन्टेनर’ आउन थालेको छ । गत आइतबार पहिलो पटक कच्चा तेल बोकेको कन्टेनर रेल सुक्खा बन्दरगाह आएको हो ।

बारा जितपुरस्थित खाने तेल उत्पादक उद्योग शिवशक्ति प्रालिले खरिद गरेको सोयाबिन तेलको कच्चा पदार्थ (कच्चा तेल) बोकेको ट्यांक कन्टेनर सुक्खा बन्दरगाह आएको हो ।

२० फुटे ९० वटा ट्यांक कन्टेनरमा २० हजार टन कच्चा तेल अर्जेन्टिनाबाट हल्लिया हुँदै पहिलो पटक वीरगञ्ज सुक्खा बन्दरगाह मार्फत नेपाल भित्रिएको हो ।

सडक मार्गबाट मात्र ढुवानी हुँदै आएको कच्चा तेल रेलबाट ढुवानी गर्दा सडक मार्गको तुलनामा ढुवानी भाडामा औसत १५ प्रतिशत बचत हुने तेल आयात कम्पनीका पदाधिकारी बताउँछन् ।

सन् २००४ देखि सञ्चालनमा आएको वीरगञ्ज सुक्खा बन्दरगाहमा सुुरुमा कन्टेनर, बल्क, ब्रेकबल्क कार्गोमात्र आउने गरेको थियो । १६ असार २०८० देखि लुज कार्गो (कोइला) आउन थालेको थियो ।

अहिले सुक्खा बन्दरगाहमा कच्चा तेल समेत आउनु थालेको हो । यसले वीरगञ्ज नाकाबाट रेलमार्फत हुने व्यापारिक कारोबारमा अझै वृद्धि हुने देखिएको छ ।

ट्यांक कन्टेनर पूर्णरूपमा शिल भएर आउने भएकाले बाटोमा तेल चोरीका घटना नहुने जनाइएको छ । सडक मार्गबाट ढुवानी गर्दा पर्याप्त ट्यांकर नपाइने समस्याबाट समेत आयातकर्ताले छुट पाएका छन् ।

ट्यांक कन्टेनर सेवा सुरु भएपछि नेपालको अन्तर्राष्ट्रिय व्यापार सहजीकरणमा थप टेवा पुग्नुका साथै वीरगञ्ज सुक्खा बन्दरगाह पूर्णक्षमतामा सञ्चालनमा आउने नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बताए ।

कोइला र तेल व्यवस्थापन आफैंमा महत्त्वपूर्ण कदम भएको उनको भनाइ छ । ‘हाम्रा बन्दरगाहहरूलाई क्षमता वृद्धि गरिरहेका छौं, आधुनिकीकरण गरिरहेका छौं,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?