५ चैत, काठमाडौं । सुनिल धमला र दिपेन्द्र रावतको कसिलो बलिङमा प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले कोशी प्रदेशलाई फराकिलो अन्तरले हराउँदै दोस्रो जित निकालेको छ ।
मंगलबार एक्स्ट्राटेक ओभल मैदानमा भएको खेलमा कर्णालीले कोशीलाई १२७ रनले हराएको हो । कर्णालीले दिएको २१९ रनको लक्ष्य पछ्याएको कोशी ३५ ओभरमा ९१ रनमा अलआउट भएको हो ।
ओपनर चिराग साहले सर्वाधिक २५ रन बनाए । शाकिब हकले १३ तथा कप्तान अंकित सुवेदीले १० रन बनाए । अन्यले दोहोरो अंकमा रन बनाउनै सकेनन् ।
कर्णालीका लागि सुनिल धमलाले १० ओभरमा ३ मेडनसहित १४ रनमात्र दिएर ३ विकेट लिए । दिपेन्द्र रावतले ५ ओभरमा १४ रन दिएर ३ विकेट लिए । दिवान पुनले २ तथा अनुज चनाराले १ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले ५० ओभरमा ९ विकेट गुमाएर २१८ रन बनाएको थियो । कर्णालीका लागि अर्जुन घर्तीले अविजित ८८ रन बनाएका थिए ।
७७ रनमा ५ विकेट गुमेपछि ब्याटिङमा आएका घर्तीले राम्रो पारी खेल्दै टोलीको इनिङ उकासे । ९५ बलको सामना गरेका उनले ११ चौका र २ छक्का प्रहार गरे । त्यसअघि हिमांशु शाहीले ४६ रन बनाए ।
कोशीका लागि बिपिन महतोले ३ विकेट लिए । दिपेश कँडेल र प्रकाश कार्कीले २-२ विकेट लिँदा शर्वन किस्कु र सुजन थपलियाले १-१ विकेट लिए ।
कर्णालीले ५ खेल खेल्दा दोस्रो जित निकालेको हो भने कोशीले ६ खेलमा १ जित मात्र निकालेको छ ।
प्रतिक्रिया 4