+
+
Shares

युक्रेनमा युद्धबन्दी रहेका ७ नागरिकको रिहाइका लागि परराष्ट्रमन्त्रीको पहल

‘राइसिना डायलग’ मा युक्रेनी समकक्षी एन्ड्री सिबिहासँगको भेटमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले युद्धबन्दी रहेका ७ नेपाली नागरिकको रिहाइ र स्वदेश फिर्ताको लागि पहल गरेकी हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ५ गते १६:४२

५ चैत, काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले युद्धबन्दीका रूपमा युक्रेनी सेनाको नियन्त्रणमा रहेका नेपाली नागरिकको रिहाइका लागि पहल गरेकी छन् ।

भारतको नयाँदिल्लीमा भारतीय विदेश मन्त्रालयद्वारा आयोजित ‘राइसिना डायलग’ कार्यक्रमको क्रमका दौरान युक्रेनी समकक्षी एन्ड्री सिबिहासँगको भेटमा नेपाली नागरिकको रिहाइ र स्वदेश फिर्ताको लागि आग्रह गरेकी हुन् ।

रुसी सेनामा भर्ना भई युक्रेनसँगको युद्धमा खटिएका बेला नियन्त्रणमा परेका सात नेपाली नागरिक युद्धबन्दीको रूपमा किएभमा रहेका छन् । परराष्ट्रमन्त्री राणाले ती नेपाली नागरिकको रिहाइ र स्वदेश फिर्ताको लागि सहजीकरण गर्न युक्रेनका विदेशमन्त्रीसँग आग्रह गरेकी हुन् ।

‘राइसिना संवादको दौरान युक्रेनका विदेशमन्त्री एन्ड्री सिबिहालाई भेट्न पाउँदा खुसी लाग्यो । मैले सिबिहालाई युक्रेनी सेनाद्वारा युद्धबन्दीको रूपमा लिइएका ७ नेपाली नागरिकहरूको रिहाइ र स्वदेश फिर्ताको लागि सहजीकरण गर्न अनुरोध गरें,’ सामाजिक सञ्जालमार्फत् परराष्ट्रमन्त्री डा. राणाले भनेकी छन् ।

उनले भेटमा नेपाल–युक्रेन सम्बन्धलाई सुदृढ पार्ने उपायहरूका विषयमा पनि छलफल भएको उल्लेख गरेकी छन् । त्यसक्रममा नेपाल र युक्रेनले कूटनीतिक, आधिकारिक र सेवा राहदानी धारकहरूका लागि भिसा छुट सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?