+

गर्भनिरोधक चक्की खाँदा महिलाको मानसिक स्वास्थ्यमा असर पर्छ ?

२०८१ चैत  ५ गते १८:०२ २०८१ चैत ५ गते १८:०२
गर्भनिरोधक चक्की खाँदा महिलाको मानसिक स्वास्थ्यमा असर पर्छ ?

गर्भनिरोधक औषधि खाने महिलाहरूमा सधैँ एउटै कुराको तनाव हुन्छ, कतै यसले कुनै साइडइफेक्ट त गर्दैन  विशेषत, यो औषधिले मानसिक असर त गर्दैन भन्ने चिन्ता उनीहरूमा रहन्छ ।

कतिपय त यही सोचेर पनि खान छोड्छन्।

गर्भनिरोधक औषधिको प्रयोग घट्दै !

गर्भनिरोधक चक्कीहरूप्रति नकारात्मक प्रतिक्रियाहरू बढ्दै गइरहेका छन्। यो कुरा कसैले भनिरहन पर्दैन। सामाजिक सञ्जालमा यसप्रतिको वितृष्णा स्पष्ट देखिन्छ। जहाँ ‘क्विन्टिङ बर्थ कन्ट्रोल’ अर्थात् गर्भनिरोधक चक्की छोड्दै भनिएको ह्यासट्यागले लाखौँ भ्यूजहरू प्राप्त गरेको छ।

यसले केही हदसम्म गर्भनिरोधक चक्कीहरू अब त्यति लोकप्रिय छैनन् भन्ने कुरा प्रतिबिम्बित हुन्छ । विकसित देशमा चिकित्सकले सिफारिस गर्ने गर्भनिरोधक चक्कीहरूको संख्या घट्दै गएको छ ।

इङ्ल्याण्डको यौन तथा प्रजनन स्वास्थ्य सेवाका अनुसार गर्भनिरोधकको प्रयोग सन् २०२०–२०२१ मा ३९ प्रतिशतबाट घटेर २०२१–२०२२ मा २७ प्रतिशत पुगेको छ। अमेरिकामा, गर्भनिरोधक चक्की सेवन गर्नेहरूको संख्या २००२ मा ३१ प्रतिशतबाट घटेर २०१७ र २०१९ को बीचमा २४ प्रतिशतमा झरेको छ ।

क्यानडा र अष्ट्रेलियामा २००६ देखि २०१६ र २००८ देखि २०१६ मा क्रमशः गर्भनिरोधक चक्की सेवन गर्नेहरूको संख्या २३ प्रतिशतबाट घटेर ११ प्रतिशतमा झरेको देखिन्छ।

यसरी ह्वात्तै संख्यामा कमी आउनुको पछाडि जायज साइडइफेक्ट भन्दा बढी सामाजिक सञ्जालमा केही व्यक्तिहरूले गर्भनिरोधक चक्कीहरूको मानसिक र शारीरिक दुवै साइड इफेक्टहरूको बारेमा गलत जानकारी फैलाइरहेका छन् ।

उनीहरूले महिलालाई गर्भनिरोधक प्रयोग नगर्न पनि प्रोत्साहित गरिरहेका छन्, तर त्यस्ता व्यक्तिहरूको कुनै चिकित्सा पृष्ठभूमि छैन।

के गर्भनिरोधक चक्कीले साँच्चै कसैको व्यक्तित्व र जीवनप्रतिको दृष्टिकोण परिवर्तन गर्न सक्छ? के यसले चिन्ता र डिप्रेसनजस्ता गम्भीर मानसिक स्वास्थ्यको जोखिम बढाउन सक्छ? के यसले चरम अवस्थामा आत्महत्याको अवस्थामा पुर्‍याउँछ ?

यी यावत प्रश्न बेलाबखतमा उठ्छन् । जसको उत्तर स्पष्ट छैन।

सन् १९६० मा अमेरिकामा गर्भनिरोधक चक्की ल्याइँदा दुई वर्षभित्र यसका प्रयोगकर्ताको संख्या १२ लाख पुग्यो। यी साना पहेँला चक्कीहरूलाई महिला सशक्तिकरणको प्रतीकका रूपमा महिलाहरूले प्रशंसा गरे। यसले महिलाहरूलाई अनावश्यक गर्भधारणले आफ्नो करियर वा डिग्रीलाई कमजोर बनाउने डरबाट मुक्त गरायो।

आज, विश्वभरका लगभग १५ करोड महिलाले खाने गर्भनिरोधक चक्की रोजेका छन् । यो संख्या, विश्वभर गर्भनिरोधक प्रयोग गर्ने जनसंख्याको लगभग १६ प्रतिशत हो । मौखिक गर्भनिरोधक चक्कीको विफलता दर केबल १ प्रतिशत छ । मानवीय त्रुटिका कारण कहिलेकाहीं डोज लिन छुटेको अवस्थामा ९ प्रतिशत विफल भएको पाइन्छ ।

गर्भनिरोधक चक्कीको प्रकार

गर्भनिरोधक चक्कीहरू दुई प्रकारका हुन्छन् । र दुवै कृत्रिम यौन हार्मोनबाट बनेका हुन्छन्।

पहिलो, सबैभन्दा लोकप्रिय संयुक्त चक्की हो, जसमा एस्ट्रोजेन र प्रोजेस्टेरोन हुन्छन्। दोस्रो चक्की प्रोजेस्टोजेन मात्र हुन्छ । यसलाई ‘मिनी–पिल’ पनि भनिन्छ । दुवै चक्कीले गर्भावस्था रोक्न धेरै तरिकाले काम गर्छन्, जसमा अण्डाशयलाई दबाउने र पाठेघरको झिल्लीहरू बाक्लो बनाउने र शुक्रकीटलाई अण्डासम्म पुग्न गाह्रो बनाउँछ ।

यद्यपि, मौखिक गर्भनिरोधकहरूमा पाइने हर्मोनले शरीरलाई मात्र असर गर्दैन, तर महिलाहरूको मस्तिष्कलाई पनि असर गर्नसक्छ।

‘मस्तिष्कमा हर्मोनको प्रभाव जटिल हुन्छ। केही व्यक्तिहरूका लागि, चक्कीले मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ। अरूका लागि यसले चिडचिडापन र चिन्ता पनि निम्त्याउन सक्छ, ‘डा. जोहानेस बिट्जे भन्छन् ।

डा. बिट्जे स्विट्जरल्याण्डको युनिभर्सिटी हस्पिटल बासेलका प्रसूति–स्त्री रोग विशेषज्ञ र मनोचिकित्सक हुन् । उनले लगभग ४० वर्षदेखि यस क्षेत्रमा काम गरिरहेका छन्।

गर्भनिरोधक चक्की उत्पादन भएको ६५ वर्षको इतिहासमा धेरै कम चिकित्सकीय चेतावनीहरू दिइएको छ। बेलायत र अमेरिकाका केही यौन स्वास्थ्य प्रदायकहरूले आफ्नो वेबसाइटमा चक्कीको मानसिक साइड इफेक्टको बारेमा कुनै उल्लेख गर्दैनन्।

‘मलाई लाग्छ सबैभन्दा ठूलो मुद्दा भनेको प्रसूति–स्त्री रोग विशेषज्ञहरूको तालिममा मानसिक स्वास्थ्य विषयको कुनै चर्चा भएको छैन’ डा. बिट्जे भन्छन्, ‘बिस्तारै सोचाइमा परिवर्तन हुँदैछन्, हामीले पहिला यसको साइड इफेक्ट थ्रोम्बोसिस, क्यान्सर, अनियमित रक्तस्राव, तौल बढ्ने बारेमा चर्चा भएको थियो । जसमा मानसिक स्वास्थ्यको मुद्दाबारे विरलै कुरा हुन्थे।’

अनुसन्धानकर्ताहरूले गर्भनिरोधक चक्कीको सम्भावित मानसिक साइड इफेक्टहरूमा धेरै अनुसन्धान गरेका छैनन् ।

बिट्जे भन्छन्, ‘सन् २०१६ मा परिवर्तन सुरुभयो, जब एक डेनिस समूहले यस विषयमा एउटा पेपर प्रकाशित गर्‍यो । जसले गर्दा त्यसपछिका वर्षहरूमा थप अनुसन्धानलाई प्रोत्साहन मिल्यो ।’

अध्ययन भन्छ-चक्कीले डिप्रेसन गराउन सक्छ 

मूल डेनिस अध्ययनमा, अनुसन्धानकर्ताहरूले १४ वर्षको अवधिमा १५ देखि ३४ वर्ष उमेरका १० लाखभन्दा बढी महिलाहरूको मानसिक स्वास्थ्य ट्र्याक गर्न देशको राष्ट्रिय स्वास्थ्य डेटाबेसको विश्लेषण गरेका थिए।

कहिले पनि यस्ता औषधि प्रयोग नगर्ने महिलाको तुलनामा एस्ट्रोजेन र प्रोजेस्टेरोन दुवै भएको संयोजन चक्की लिने महिलाहरूलाई त्यसको ६ महिनापछि एन्टीडिप्रेसन्ट सिफारिस गरिने सम्भावना ७० प्रतिशत बढी हुनसक्ने अध्ययनमा देखिएको थियो ।

जब कि प्रोजेस्टोजेन वा ‘मिनी–पिल’ लिने महिलाहरूका लागि यो जोखिम ८० प्रतिशत थियो।

सन् २०२३ मा अनुसन्धानकर्ताहरूको एउटा फरक समूहले युके बायोबैंकमा लगभग २ लाख ५० हजार महिलाहरूको स्वास्थ्य रेकर्डको विश्लेषण गर्दा समान परिणामहरू फेला पारे । गर्भनिरोधक चक्की सुरु गरेको दुई वर्षपछि चक्की प्रयोग गर्ने महिलाहरूमा कहिल्यै चक्की नलिएका महिलाहरूको तुलनामा डिप्रेसन हुने सम्भावना ७१ प्रतिशत बढी रहेको पत्ता लगाए।

‘यी उत्पादनहरू प्रयोग गर्न सुरु गर्नु र त्यसपछि डिप्रेसनका लक्षणहरू विकास गर्नु बीच बलियो सम्बन्ध छ, ‘डेनिस अध्ययनको नेतृत्व गर्ने कोपेनहेगन विश्वविद्यालयका प्रसूति तथा स्त्री रोग विशेषज्ञ ओजविन्ड लिडेगार्ड भन्छन् ।

यद्यपि, यी दुवै अध्ययनहरू ‘समूहगत अध्ययन’ थिए। यसको अर्थ महिलाको ठूलो समूहको डेटा विश्लेषण गरिएको थियो।

मौखिक गर्भनिरोधक चक्की लिने महिलाहरूको मानसिक स्वास्थ्य परिणामहरू त्यस्ता चक्कीहरू नलिने महिलाहरूको मानसिक स्वास्थ्यसँग तुलना गरिएको थियो।

यसको अर्थ यी अध्ययनहरूले मौखिक गर्भनिरोधकहरू लिने र मानसिक स्वास्थ्य बीचको सम्बन्ध फेला त पारे तर मौखिक गर्भनिरोधकहरूले आफैंमा मानसिक स्वास्थ्यमा प्रभाव पारेको छ कि छैन भनेर निर्धारण गर्न भने सकेनन्।

विरोधाभापूर्ण नतिजा

केही यस्ता अध्ययन पनि भए, जसमा मानसिक स्वास्थ्य अवस्था र कन्ट्रासेप्टिभ चक्कीको प्रयोग बीचको सम्बन्धलाई खण्डन गरेको छ ।

उदाहरणका लागि, ओहायो स्टेट युनिभर्सिटीका अनुसन्धानकर्ताहरूले २६ वटा पहिलेका अध्ययनहरूको समीक्षा गर्दा उनीहरूले गर्भनिरोधक औषधि र डिप्रेसन बीच अति न्यून सम्बन्ध फेला पारे।

छुट्टाछुट्टै रूपमा स्वीडेनमा २०० देखि ३४० महिलाहरू सम्मिलित दुई क्लिनिकल परीक्षणमा अनुसन्धानकर्ताहरूले संयुक्त चक्कीले डिप्रेसन वा मुड स्विङहरू नहुने निष्कर्ष निकाले।

लगातार लिँदा केही नहुने तर बीचमा औषधिबाट ब्रेक लिँदा मुड बिगार्न सक्ने चिकित्सकहरु बताउँछन् ।

२०२३ मा अस्ट्रियामा चक्की सेवन गर्ने १२० महिलाहरू समावेश गरी एउटा अध्ययन गरिएको थियो। यी महिलामध्ये केहीले लामो समयदेखि गर्भनिरोधक चक्की खाइरहेका थिए। अध्ययनका अनुसार चक्कीबाट ’ब्रेक’ गर्दा महिलाहरूले चिन्तामा ७ प्रतिशत वृद्धि भएको अनुभव गरे।

यसबाहेक, यस अवधिमा नकारात्मक भावनाहरूमा १३ प्रतिशत र मानसिक स्वास्थ्य लक्षणहरूमा २४ प्रतिशतले वृद्धि भएको थियो।

‘मानसिक स्वास्थ्यको दृष्टिकोणबाट, गर्भनिरोधक प्रयोग गर्नेहरूका लागि निरन्तर प्रयोग बढी लाभदायक हुन सक्छ, ‘साल्जबर्ग विश्वविद्यालयकी संज्ञानात्मक स्नायु वैज्ञानिक बेलिन्डा प्लाजर भन्छिन्।

बेलिन्डा प्लाजरले महिला मस्तिष्कमा हार्मोनल गर्भनिरोधकहरूको प्रभावको अध्ययन गर्ने प्रोजेक्टमा नेतृत्व गर्छिन्।

चक्की खाएपछि केही महिलालाई मानसिक रूपमा धेरै नराम्रो महसुस हुन्छ । र, यी लक्षणहरूलाई गम्भीरतापूर्वक लिनुपर्छ भन्ने तथ्यलाई प्लेट्जर अस्वीकार गर्दिनन्। उनी भन्छिन्, ‘यसको असर देखिएका महिलाहरूको संख्या धेरै कम छ।’

हेलेना कोप केलनरले मौखिक गर्भनिरोधकहरूको मानसिक साइड इफेक्ट बारेको अध्ययनको निष्कर्षमा व्यापक भिन्नता देखाउँछिन्। हेलेना स्वीडेनको स्टकहोम नजिकैको डान्डेरिड अस्पतालमा प्रसूति तथा स्त्री रोग विशेषज्ञ हुन्। उनी भन्छिन्, ‘मानसिक स्वास्थ्य स्थिति प्रायः व्यक्तिपरक रूपमा मापन गरिन्छ र अध्ययन गर्न अत्यन्तै गाह्रो हुन्छ।’

स्वीडेनको गोथेनबर्गकी चिकित्सक सोफिया जेटरमार्क भन्छिन्, ‘यस्ता अवलोकन अध्ययनहरूबाट कारण, प्रभाव, सम्बन्ध प्रमाणित गर्न पनि गाह्रो छ, किनभने आनुवंशिक र व्यक्तिको वातावरण जस्ता अन्य कारकहरू हुन सक्छन् जसले परिणामहरूलाई प्रभाव पार्नसक्छ।

उदाहरणका लागि, जब उनीहरूले राष्ट्रिय स्वीडिश रजिस्ट्रीमा रहेका लगभग 10 लाख महिलाहरूको स्वास्थ्य रेकर्डको विश्लेषण गरे, उनीहरूले पत्ता लगाए कि, कम आय भएका र आप्रवासी पृष्ठभूमिका महिलाहरूमा हार्मोनल गर्भनिरोधक लिँदा मुड परिवर्तनहरू हुने सम्भावना बढी हुन्छ।

ओजविन्ड लिडेगार्डले आफ्नो अध्ययनलाई फराकिलो सन्दर्भमा बुझ्नुपर्ने कुरा स्पष्ट पारे। ‘यसमा कुनै शंका छैन कि, हार्मोनल गर्भनिरोधक प्रयोग गर्न थालेका केही महिलाहरूले आफ्नो मानसिक स्वास्थ्यमा गम्भीर परिवर्तनहरू अनुभव गर्छन्, ‘लिडेगार्ड भन्छन्।

यद्यपि, ७ देखि ८ प्रतिशत महिलाहरूले मात्र मनोवैज्ञानिक समस्याहरू अनुभव गर्छन् जसले उनीहरूलाई चक्की लिन बन्द गर्न बाध्य पार्छ. । यी उत्पादनहरू प्रयोग गर्ने अधिकांश महिलाहरूले कुनै गम्भीर मनोवैज्ञानिक समस्याहरू अनुभव गर्दैनन्।’

साथै, केही महिलाहरूका लागि गर्भनिरोधक चक्कीका फाइदाहरू कुनै पनि साइड इफेक्टभन्दा बढी हुन सक्छन्।

अनिच्छित गर्भधारण रोक्नुका अलावा, गर्भनिरोधक चक्कीहरू (संयुक्त र साना–चक्कीहरू) ले अन्य सकारात्मक शारीरिक प्रभावहरू पनि पार्नसक्छ।

‘यदि एन्डोमेट्रिओसिस, अत्याधिक रक्तस्राव वा (प्रिमेनस्ट्रुअल डिस्फोरिक डिसअर्डर छ भने चक्कीले यसलाई सुधार गर्न वास्तवमै मद्दत गर्न सक्छ‘ हेलेना कोप केलनर भन्छिन्।

गर्भनिरोधक चक्की
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय