
ललितपुर । प्रिमियर इन्टरनेसनल आईबी कन्टिन्युम स्कुलले ‘तातो खाना’ अभियान पुनः सञ्चालन गरेको छ । तातो खानाको महत्त्व उजागर गर्दै समुदायमा सहयोग, जिम्मेवारी र सहअस्तित्वको भावना फैलाउने उद्देश्यले अभियान पुनः सुरु गरिएको स्कुलले जनाएको छ ।
कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, ललितपुर महानगर प्रहरी प्रमुख सीताराम हाछेथु, शिक्षा मन्त्रालयका उच्च अधिकारीहरू तथा विद्यालयका विद्यार्थी, अभिभावक र कर्मचारी उपस्थित थिए ।
सहभागीले यस अभियानलाई सहयोग गर्नुका साथै यसको सन्देश समुदायमा फैलाउने प्रतिबद्धता जनाए ।
तातो खाना अभियान पहिलो पटक समुदायमा तातो खानाको महत्त्व बुझाउने र आपसी सहयोग प्रवर्द्धन गर्ने उद्देश्यले सुरु गरिएको थियो । तर, कोभिड–१९ महामारीका कारण यो कार्यक्रम रोकिएको थियो । महामारीपछि पुनः सुरु तातो खानाको महत्त्व केवल पोषणमा मात्र सीमित छैन, सम्मान, हेरचाह र सामुदायिक ऐक्यबद्धताको प्रतीक हो भन्ने कुरालाई पुनः स्थापित गर्ने स्कुलको भनाइ छ ।
स्कुलका अनुसार यो अभियानलाई सामान्य निःशुल्क खाना वितरण कार्यक्रमभन्दा फरक बनाइएको छ । ‘निःशुल्क पाइने चिजको मूल्य बुझिँदैन,’ भन्ने सोच ध्यानमा राख्दै हरेक भोजनका लागि १० रुपैयाँमात्र शुल्क तोकिएको छ, जसले खानाको महत्त्व र सम्मान गर्ने बानी प्रवर्द्धन गर्छगर्दछ । साथै, जोसुकैले अरूका लागि खाना उपलब्ध गराउन योगदान गर्न सक्ने व्यवस्था गरिएको छ, जसले साझेदारी, सहयोग र परोपकारको संस्कृति बलियो बनाउने लक्ष्य राख्छ ।
‘तातो खाना केवल पेट भर्नका लागि होइन, यो माया, सम्मान र समुदायको चिनो हो,’ कार्यक्रममा प्रिमियर स्कुलकी निर्देशक पवित्र लिम्बुले भनिन्, ‘तातो खाना अभियान सानो तर गहिरो अर्थ राख्ने प्रयास हो, जसले हामीलाई हामीसँग भएको कुरा बाँड्न र सहयोगको भावनामा उभिन स्मरण गराउँछ ।’
ललितपुर महानगरका मेयर महर्जनले अभियानप्रति ऐक्यबद्धता जनाउँदै महानगरबाट पूर्णसहयोग रहने आश्वासन दिए । ‘तातो खानाजस्ता सामाजिक अभियानहरूले समाजमा सकारात्मक प्रभाव पार्न सक्छन् भन्ने उदाहरण प्रस्तुत गर्छन् । महानगरको तर्फबाट यस अभियानलाई पूर्णसहयोग रहनेछ, र हामी चाहन्छौं कि यो अभियान दीर्घकालीन रूपमा अझ ठूलो स्तरमा अघि बढोस्,’ उनले भने ।
कार्यक्रममा सहभागी समुदायका सदस्यहरूले स्रोतसाधनको सम्मान, सचेत उपभोग र परोपकारी भावना विकास गर्ने विषयमा छलफल गरेका थिए । तातो खाना अभियान हरेक आइतबार बिहान १० देखि मध्याह्न १२ बजेसम्म जावलाखेल पार्कमा सञ्चालन हुनेछ ।
प्रतिक्रिया 4