+
+
Shares

सुगम यात्रा : एक यादगार किस्सा

दिपक दुमी राई दिपक दुमी राई
२०८१ चैत ५ गते १७:५३

‘ल केटा हो म तिमीहरूलाई भक्का र चप खान लैजान्छु । जाउँ ।’

हामी लखरलखर उनको पछि लाग्यौँ । जाडो सक्किएर गर्मी ओर्लिने बेलाको तराई । न धेरै तातो, न धेरै गर्मी । घडीले बिहानको ८ बजेको संकेत गरिसकेको थियो । केही मिनेटको दूरी छिचोलेपछि हामी पुग्यौँ, सानो हाट बजारमा ।

खासमा हामीलाई त्यहाँसम्म गायक सुगम पोखरेलले डोहोर्‍याएका थिए र यो उनको इलाका थियो । अर्थात उनको बाल्यकाल गुज्रिएको भूगोल । यस्तो भूगोल, जहाँ उनी आफ्ना दौतरीसँग खेल्दै र रमाउँदै हुर्किएका थिए । काठमाडौंदेखि इलामसम्म यात्रा गर्ने क्रममा हामी यहाँ रोकिएका थियौँ । मोरङको मंगलबारेस्थित रंगेलीमा ।

आफ्नो जन्मथलोमा पाइला टेक्दा सुगम पोखरेल उमंगले फुर्किएका थिए । उनको अनुहारमा छुटै आभा थियो । अनि फुरुङ्ग हुँदै हामीलाई भक्का र चप खान लगेका थिए ।

हाटबजारमा पुग्दा उनका पुराना यारहरू भेटिए । अनि पुगे पुराना दिनहरूमा । त्यही धूलो माटोमामा खेल्दै किशोरवय बिताएका साथीहरूसँग उनी मस्त गफिए । त्यसबेला मैले उनलाई गायक सुगम पोखरेल होइन मात्र सुगम पोखरेल देखेँ ।

उनको एक साथी भर्खर मलेसियाबाट फर्किएका रहेछन् । विदेशमै उनले आफ्नो जीवनको १७ वर्ष बिताएका थिए । उनी भन्दै थिए, ‘मलेसियामा तेरो कार्यक्रम हुँदा कति पटक आउने प्रयास गरेँ तर सकिनँ । तेरो कार्यक्रमको टिकट नै महंगो हुने ।’

नेपाल फर्किएलगत्तै उनी बिरामी परेछन् । अहिले निको हुँदै गएको र यही बेला बाल्यकालको साथी भेटेकोमा उनी दंग थिए ।

यतिबेलासम्म हाम्रो चिया, चप र भक्काको प्लेट रित्तिसकेको थियो । हामी त्यहाँबाट फर्कियौँ । सुगम पोखरेल दाइकी आमाले खाना तयार गर्दै हुनुहुन्थ्यो । हामी सबै हातमुख पखालेर खाना खान बस्यौँ । आमाले आफ्नो माया र हार्दिकता मिसाएर पकाएको स्वादिष्ट खाना खाएपछि बिर्तामोडलाई ताकेर त्यहाँबाट निस्कियौँ ।

बिर्तामोडमा सुगम दाइको कार्यक्रम हुँदै थियो । तर, हाम्रो गन्तव्य यहाँसम्म मात्र थिएन । खासमा त हामी इलामका लागि निस्किएका थियौँ । इलामको जसबीरे, जहाँ हाम्रो अन्तिम विसौनी थियो ।


……………….

हालैको एक मध्यान्ह । सुगम दाइ सिनामंगलस्थित मेरो चस्मा घरमा आउँदा ख्यालख्यालैमा एउटा योजना बनेको थियो । चियाको चुस्कीसँगै दाइले भनेका थिए, ‘अब नयाँ गीतको म्युजिक भिडियो बनाउनुछ ।’

भर्खरै मात्र उनको नयाँ गीतिसंग्रह ‘नवमी’ सार्वजनिक भएको थियो । ९० को दशकलाई सम्झाउनेगरी क्यासेटकै प्रारुपमा तयार सो गीतिसंग्रहबारे मैले चासो राखेको थिएँ, ‘कस्तो प्रतिक्रिया आइरहेको छ गीतको ?’

उनले उही पुरानै शैलीमा यसो भनेका थिए, ‘मैले आफ्नो तर्फबाट गर्ने सबै गरेको छु । अब दर्शक–स्रोताबाट कस्तो प्रतिक्रिया आउँछ भन्न सकिन्न लाटा ।’

त्यसपछि उनले अर्को कुरा चुहाएका थिए, म्युजिक भिडियो बनाउनेबारे । ‘अनि सुन न अब सबै गीतको म्युजिक भिडियो बनाउने तयारीमा छु’ उनले यति भन्नसाथ मैले हतारमा सोधेको थिएँ, ‘कुन लोकेसनमा सुटिङ गर्ने ? इलामतिर गर्ने हो ?’

लगत्तै मैले तिलचन अधिकारी भाइले ड्रोनबाट खिचेको जसबीरेको मनोरम बस्ती र कोठीडाँडा अनि चिया बगानको सानो भिडियो दृश्य देखाएको थिएँ । स्थानीय व्यवसायी गृष्म सुब्बाको पुरानो मोडलको ल्यान्डरोभर गाडी पनि फ्रेममा देखिन्छ । सुगम दाइले सोधे, ‘यो गाडी कसको हो ? के हामीलाई प्रयोग गर्न दिन्छ ?’

त्यही एउटा गाडी जसले सुगम पोखरेललाई इलामको जसबीरेसम्म डोहोर्‍यायो । हुन पनि यो गाडीको आफ्नै कथा छ।

दोस्रो विश्वयुद्धताका प्रचलित जिपको डिजाइनबाट प्रभावित भएर बिट्रिश कम्पनीले ६७ वर्षअघि यो गाडी डिजाइन गरेको थियो। सैन्य प्रयोजनका लागि बनाइएको ल्यान्डरोभर जेम्स बोन्डका फिल्ममा सर्वाधिक प्रयोग भए ।

तर, पूर्वी पहाडका गाउँहरूमा पुग्दा यही ल्यान्डरोभर खच्चडले झैँ भारी बोकिरहेका भेटिन्छन् । साँघुरा कुइनेटा हुन् या ठाडो उकालो, जस्तोसुकै अप्ठ्यारो बाटो छिचोल्ने फोर ह्वीलर ल्यान्डरोभरले विकट ग्रामीण जनजीवनलाई सहज बनाएको छ ।

त्यति मात्र होइन, एउटा ऐतिहासिक विरासत बोकेको यो गाडी इलाम जस्ता पहाडी भेगको शोभा पनि हो । यस्ता गाडीले त्यहाँको पर्यटनलाई समेत टेवा पुर्‍याउन सक्छ।

तर, सरकारले पछिल्लो समय २० वर्ष पुराना गाडी हटाउने भएपछि ल्यान्डरोभरको अस्तित्व संकटमा पर्‍यो । त्यसबेला गृष्म सुब्बाको अगुवाइमा यो गाडीलाई यथास्थानमा रहन दिन र यसको गरिमालाई बुझ्नका लागि अनेक प्रयास भयो ।

उनीहरू कति पटक काठमाडौं आए । नेताको घर दैलो चाहरे  । एकदमै दुःख गरेर गृष्म सुब्बालगायतले यो गाडीलाई सरकारको हचुवा नीतिबाट बचाए र कवाडी हुनबाट जोगाए ।

अब गाडीको कथा थाती राखौँ ।

गृष्म सुब्बा दाइकै गाडीलाई हामीले एउटा पात्रको रुपमा उभ्याउने र म्युजिक भिडियो छायांकन गर्ने खाका बनायौँ । म किन पनि उत्साहित थिएँ भने कुनै बखत असाध्यै मेरो मनप्रिय गायकलाई म आफ्नै गाउँघर पुर्‍याउँदै थिएँ । र, मेरो बालसखाहरूसँग भेट गराउँदै थिएँ । मैले खेलेको, म हुर्केको चियाका बुट्यानहरूमा घुमाउँदै थिएँ । र, मैले वर्षौंअघि छाडेका पदचापहरूमा डोहोर्‍याउँदै थिएँ ।

तर, मेरो यो परिकल्पनामा त्यसबेला ठेस लाग्यो जब हामी इलामका लागि काठमाडौंबाट निस्कने बेला पूर्वी पहाडमा कलह सुरुभयो । पाथीभरामा केबलकार निर्माण गर्ने र गर्न नदिने पक्षबीचको घम्साघम्सीले हाम्रो बाटो रोक्ने निश्चित थियो । किनभने त्यसबेला यो द्वन्द्व उत्कर्षमा पुगिसकेको थियो ।

ताप्लेजुङ मुकुम्लुङमा केबलकार हाल्न नदिने पक्षले पूर्वाञ्चल यातायात बन्दको घोषणा गर्‍यो । तब मैले उदास भएर सुगम दाइलाई पूर्वतिरको खबर सुनाएँ ।

अब के गर्ने ? म तनावमा थिएँ । तर, दाइको बोलीले मेरो सेलाएको तन्तुहरू एकाएक तंग्रियो । पाखुरामा जाँगर र मनमा जोश पलायो। उनले सहज पारामा भन्यो, ‘टेन्सन नलेउ लाटा। हामी पनि त मुकुम्लुङकै पक्षमा हो । केही हुन्न । बरु छिटै जाऔँ ।’

कस्तो गजबको आत्मविश्वास। कति निर्धक्क र निर्भय । ‘कुनै कुरा आँट गरेपछि मलाई त्यो गरेरै छाड्नुपर्छ’ उनको यो अड्डी थियो वा आत्मविश्वास ? म छुट्याउन समर्थ थिइनँ । तर ढुक्क थिएँ, अब हामी इलामको लागि निस्कने छौँ ।

…………………………..

भगवानले भन्छन् रे-तँ आट, म पुर्‍याउँछु। पहाडमा फैलिएको कलह, सडकको अवरोध सबै पर्वाह नगरी हामी अगाडि बढ्यौँ । बाटोमा हाँसीमजाक हुन्थ्यो, तीतामिठा गफ हुन्थे ।  यात्रा अविष्मरणीय बनाउनु जो थियो। हामी खुलेर रमाउँदै यात्रामा सामेल थियौँ ।

बिहानको तीन बजेतिर हामीलाई इलामको चिसो सिरेटोले स्वागत गर्‍यो । त्यसपछि कन्यामका मनोहर चिया बगानले । त्यसपछि आफन्तको तात्तातो चियाले । इलाममा जाडो यथावत थियो । त्यो जाडो खेप्दै रबि भाइले हामीलाई तत्तातो खाना बनाएर पर्खिरहेका रहछन् । यी भाइ औधी मनप्रिय छन् । आँखामा राख्दा पनि नबिझाउने।

उनले हाम्रा लागि मिठो आतिथ्य र उत्तिकै मिठा खानेकुरा पस्किए । त्यससँगै शुद्ध कोदोको तोङ्वा पनि । काजी , पवन , अंकित भाइ र म तोङ्बाको सर्को लिँदै गर्दा सुगम दाइ भने तात्तातो भात खाएर रवि भाइसँग गफिँदै थिए । खासमा भाइले घरभरी रोपेको फूलमा उनीहरूको गफ केन्द्रित थियो । इलामेको आफ्नो स्वभाव हो, फूलको सौन्दर्यसँग आत्मियता जोड्ने । इलामेहरू फूलप्रति सौखिन मात्र छैनन् उत्तिकै जागरुक पनि ।

तोङ्वाले मन र मस्तिष्क तातो बनाएपछि हामी खाना खाएर सुत्न गयौँ । सुतेको केही समय बित्न नपाउँदै गृष्म दाइको फोन आयो । यतिबेला बिहानको ८ बजिसकेको रहेछ ।

केही क्षणमा हामीलाई भेट्न होटलमा आइपुगे सन्देश, सुरेन र जब्बरे कान्छा अर्थात बाघबहादुर । भिडियोका लागि सबै तम्तयारी भइसकेको थियो । हामी गृष्म दाइको घरतर्फ लाग्यौं । उनी जसबीरे चिया कारखानाको स्वादिलो चिया पस्किएर हामीलाई नै पर्खिरहेका रहेछन् ।

अर्को दिन हामी छायांकनका लागि जसबीरेतर्फ उक्लियौँ । तर मौसम खुलेको थिएन । अरुबेला जस्तै यहाँ भुइँकुहिरो लागेको थियो । मौसमसँग लुकामारी खेल्दै-खेल्दै हामीले छायांकन सिध्यायौँ, लगभग पाँच घण्टामा ।

झपक्क साझँ पर्दै थियो नाना भेनाको घरमा हाम्रा लागि भान्जाले लोकल भालेको वाचिपा र खाना को तयारी गर्दै थियो । नानाको घर पुग्नासाथ हामीलाई मिठो आतिथ्यसहित स्वागत गर्नुभयो । दाइ दिनेश अंकित र पवन भाइका लागि वाचिपा नौलो परिकार थियो ।

हामी खाना खाएर इलाम बजारको होटलमा फर्कने सुरसार गरिरहेका थियौँ । साथी सन्देशले फोनमा भन्यो, ‘मैले यहाँ बेम्बो तोङमा तयार गरेको छु । जसरी पनि आउनु है।’

केही दिनको इलाम बसाइपछि काठमाडौं फर्कँदै गर्दा मेरो हृदय स्नेहले पग्लिएको थियो । त्यो स्नेह मेरो माटोको थियो, मेरो साथीहरूको थियो, मेरो दिदी भेनाको थियो अनि समग्र इलामको थियो । म सोच्दै थिएँ, ‘आफ्नो गाउँठाउँ कति प्यारो हुन्छ ? कति प्रेमिल हुन्छ ? कसैगरी भुल्न नसकिने ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?