
काठमाडौं । चैत ७ देखि ११ गतेसम्म आयोजना हुने नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को आठौं संस्करणको तयारी पुरा भएको छ । आयोजक नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले प्रेस विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो ।
निर्णायक मण्डलमा छोटा चलचित्र तथा वृत्तचित्रतर्फ प्रमुख जुरीमा निर्देशक दीपेन्द्र गौचन र चलचित्रतर्फ अभिनेत्री सुरक्षा पन्त छन् । कुनै एक देशको फिल्मलाई विशेष प्रदर्शन गर्ने योजनाअनुसार शनिबार ‘रसियन फिल्म डे’को आयोजना गरिने भएको छ ।
उक्त अवसरमा ३ रुसी फिल्म प्रदर्शन गरिने भएको छ । यसवर्ष ३ अडियन्स च्वाइस र एआई अवार्ड थप गरिएको छ । अडियन्स च्वाइस अवार्डको लागि महोत्सव अवधिभर खल्ती एपबाट भोट गर्न सकिने जनाइएको छ ।
विहीबार क्यूएफएक्सको सिभिल मलमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले महोत्सव उद्घाटन गर्नेछन् । ‘शाम्बाला’ ओपनिङ फिल्मको रुपमा छ ।
समापन समारोहमा संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले विजेतालाई पुरस्कृत गर्नेछन् । ‘विश्वभरिका कथाहरुको उत्सव नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ भन्ने नारा रहेको महोत्सवमा ४० देशका ८७ वटा फिल्म छनोट छन् ।
महोत्सवमा देखाइने फिल्म यसअघि बुसान, कान्स, लोकार्नो, बर्लिनजस्ता फेस्टिभलमा स्क्रिनिङ भैसकेको छ । प्रविधिमा आएको विकासलाई आत्मासात् गर्दै र दर्शकलाई नयाँ स्वाद दिन यो संस्करणदेखि एआईबाट बनाइएको वा सो सम्बन्धी विषयमा बनेको फिल्मको पनि प्रतिस्पर्धा हुनेछ ।
अन्तर्राष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत सर्वोत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिकी डलर राशिसहित गौतम बुद्ध अवार्ड प्रदान गरिनेछ । सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय वृत्तचित्रलाई एक हजार डलर राशिको माउन्ट एभरेस्ट अवार्ड र सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय लघुचलचित्रलाई पाँच सय डलरको बागमती अवार्ड प्रदान गरिने जनाइएको छ ।
एआई चलचित्रलाई पाँच सय डलर राशिको मञ्जुश्री अवार्ड प्रदान गरिनेछ । नेपाली प्रतिस्पर्धाअन्तर्गत उत्कृष्ट फिचर फिल्मलाई एक लाख नगद र ट्रफी, उत्कृष्ट सर्ट फिल्म र उत्कृष्ट वृत्तचित्रलाई ५०/५० हजार नगद र ट्रफी प्रदान गरिनेछ ।
महोत्सवमा सहभागी हुन ५० बढी अन्तराष्ट्रिय फिल्मकर्मी नेपाल आउने क्रम सुरु भएको आयोजक प्रमुख केपी पाठकले जनाए ।
प्रतिक्रिया 4