
५ चैत, काठमाडौं । संसदीय उपसमितिले निजामती विधेयकबारे शीर्ष नेताहरूसँगै छलफल गर्ने भएको छ । यसका लागि नेताहरूसँग समन्वय भइरहेको सांसदहरू बताउँछन् ।
‘केपी शर्मा ओली, प्रचण्ड र शेरबहादुर देउवासँग छुट्टा-छुट्टै रूपमा राय लिइएको छ । तीन जनालाई एकै ठाउँमा राखेर विधेयकका कतिपय प्रावधानमा राय लिने तयारी छ,’ राज्य व्यवस्था समितिका एक सदस्यले भने ।
उनका अनुसार संसदीय उपसमितिमा रहेका सदस्य, समिति सभापति रामहरि खतिवडा सहभागी हुने गरी शीर्ष तीन जना नेतालाई एकै ठाउँमा राखेर छलफल गर्ने तयारी भएको हो ।
संसदीय उपसमितिले शीर्ष नेताहरूसँग लिइने रायका विषयलाई समेत एकीकृत गरेका छन् । जसमा कर्मचारीमा ट्रेड युनियन कुन रूपमा राख्ने भन्ने विषय पहिलो नम्बरमा छ ।
‘ट्रेड युनियन रहँदै नरहने सुझाव र अहिलेकै जस्तो रहनुपर्ने सुझाव आएका छन् । पहिले जस्तो पनि नरहने गरी परिमार्जन गर्ने राय पनि छन् । शीर्ष नेताहरूको राय लिएपछि यो विषय टुंगिन्छ,’ उपसमितिका एक सदस्यले भने ।
प्रस्तावित संघीय निजामती सेवामा ट्रेड युनियन रहने सम्बन्धी व्यवस्था प्रस्तावित विधेयकको दफा १३१ मा छ । जसले हाल अभ्यासमा भएजस्तै राष्ट्रियस्तरका ट्रेड युनियन रहने व्यवस्थालाई निरन्तरता दिएको छ ।
२०६४ सालमा निजामती एनेको दोस्रो संधोधनपछि ट्रेड युनियनले निजामती ऐनमै स्थान पाएको थियो । ऐनको दोस्रो संशोधनलगत्तै विभिन्न आठ वटा राष्ट्रियस्तरका ट्रेड युनियन श्रम विभागमा दर्ता भएका थिए ।
त्यतिबेलादेखि नै राजनीतिक दलसँग आवद्ध रहने गरी ट्रेड युनियन रहने वा नरहनेबारे बहस छ । निजामती सेवा ऐन संशोधन हुने बेलामा यो विषय बढी उठ्ने गरेको छ ।
२०७५ सालमा प्रतिनिधिसभामा आएको निजामती सेवा विधेयकमाथिको छलफलमा पनि यो विषय पेचिलो बनेको थियो । तर उक्त विधेयक २०७८ साल फागुनमा फिर्ता भयो ।
प्रतिनिधिसभाको चालु अधिवेशनमा ९ महिना अगाडि (२१ फागुन २०८० मा) आएको विधेयकप्रतिको छलफलमा पनि ट्रेड युनियनबारेको प्रावधानलाई चासोका साथ हेरिएको छ ।
संसदीय उपसमितिले निजामतीमा अतिरिक्त सचिव ब्युँताउनेबारे पनि शीर्ष नेताहरूको राय लिँदैछ । यस सम्बन्धमा कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय र लोकसेवा आयोगलाई होमवर्क गर्न र प्रस्ताव ल्याउन समेत संसदीय उपसमितिले भनेको छ ।
संसदीय समितिले नै यो विषयमा प्रस्ताव ल्याउन भनेपछि दुवै निकायका अधिकारीहरू छलफलमा जुटेका छन् । यो विषयमा शीर्ष नेताको समेत राय लिएर निर्णय लिने संसदीय उपसमितिको तयारी छ ।
कर्मचारीमा रहने आरक्षण, सेवा प्रवेशमा राखिने सर्त लगायतका विषयमा समेत शीर्ष नेताको राय लिने तयारी उपसमितिको छ ।
गत ९ फागुनमा राज्यव्यवस्था समितिले निजामती सेवा विधेयकमाथि छलफल गर्न ११ सदस्यीय संसदीय उपसमिति गठन गरेको थियो ।
नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूको संयोजकत्वमा गठित उपसमितिमा सदस्यहरूमा सांसदहरू अशोककुमार राई, ईश्वरीदेवी न्यौपाने, चन्दा कार्की भण्डारी, प्रकाश अधिकारी, बुद्धिमान तामाङ, रघुजी पन्त, राजेन्द्र पाण्डे, लिलानाथ श्रेष्ठ, सर्वेन्द्रनाथ शुक्ला र हितराज पाण्डे रहेका छन् ।
उपसमितिको बैठक नियमितजसो बसिरहेको छ ।
स्वास्थ्य सेवा र संसद् सेवाका कर्मचारीले निजामतीमा खुला प्रतिस्प्रधा गर्न पाउने लगायतका विषयमा भने समितिले सहमति जुटाएको छ ।
नेताहरूका अनुसार उपसचिवसम्म मात्रै खुला प्रवेश रहने विषयमा पनि सहमति जुटेको छ । विधेयक पास भएर कार्यान्वयनमा जाँदा आउन सक्ने अप्ठ्यारा समेतलाई ख्याल गरेर शीर्ष नेताहरूको राय लिएर अन्तिम टुंगो लगाउन लागिएको नेताहरू बताउँछन् ।
संघीय संसदको चालु अधिवेशन यही चैत तेस्रो साता अगाडि नै अन्त्य गर्ने सरकारको तयारी छ । त्यसअगाडि नै विधेयक समितिबाट पास गरेर सभामा लैजाने तयारीमा रहेको पनि समिति सदस्यहरू बताउँछन् ।
प्रतिक्रिया 4