
५ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले पञ्चायतकालीन नेता नवराज सुवेदीको संयोजकत्वमा गठन भएको संयुक्त जनआन्दोलन समितिलाई साथ दिने भएको छ । राप्रपा नेपाल केन्द्रीय कार्यसम्पादन समितिको मंगलबारको बैठकले यस्तो निर्णय गरेको हो ।
सनातन हिन्दूराष्ट्र र राजसंस्थाको पुनर्स्थापना, संघीयता खारेजी तथा भ्रष्टाचार अन्त्य लगायत मुख्य एजेन्डा राखेर राजावादीहरूले नवराज सुवेदीको संयोजकत्वमा सोमबार जनआन्दोलन समिति घोषणा गरेका थिए ।
बैठकपछि राप्रपा नेपालले जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘… सनातन हिन्दूराष्ट्र र राजसंस्थाको पुनर्स्थापना, संघीयताको खारेजी तथा भ्रष्टाचारको अन्त्य जस्ता मुख्य एजेन्डा बोकेर नवराज सुवेदीको संयोजकत्वमा संयुक्त जनआन्दोलन समिति गठन भएको प्रति खुसी व्यक्त गर्दै सो जनआन्दोलनमा राप्रपा नेपालको पूर्ण सहयोग र सहभागिता रहने बैठक निर्णय गर्दछ ।’
उक्त जनआन्दोलन समितिमा राप्रपा नेपालको तर्फबाट उपाध्यक्ष तारानाथ लुइँटेलले प्रतिनिधित्व गर्ने राप्रपा नेपालका महामन्त्री राजाराज बर्तौलाले जानकारी दिए ।
बर्तौलाका अनुसार उक्त समितिले निकट भविष्यमा आयोजना गर्ने आन्दोलनका साबै कार्यक्रमहरूमा सहभागी हुन भ्रातृसंस्थाहरूलाई आह्वान समेत गरेको छ ।
हिन्दूराष्ट र राजसंस्था पुनर्स्थापना तथा सवल र समृद्ध नेपाल निर्माणको आन्दोलनमा सहभागी हुन राप्रपा नेपालले आह्वान समेत गरेको छ ।
प्रतिक्रिया 4