+
+
Shares
कोट/सुटको इतिहास :

३०० वर्षअघि सुरु भएको थियो कोट लगाउने प्रचलन, रोचक छ इतिहास

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ६ गते १२:१२

युरोपमा कोटको इतिहासबारे लेखिएका लेखहरूमा उल्लेख भएअनुसार कोट १८औँ शताब्दीमा स्पेनको विभिन्न प्रान्तबाट सुरु भएको भनिएको छ। त्यो समय लगाइने डबल र सिंगल छातीवाला कोटलाई कामदार तथा किसानको पोशाकका रुपमा लिइन्थ्यो । पछि यसमा अन्य वर्गका व्यक्तिको पनि आकर्षण बढ्यो।

स्पेनमा मात्रै नभएर केही वर्षको अन्तरालमा बिस्तारै यस खालका कपडाको प्रयोग अन्य युरोपेली मुलक बेलायत, फ्रान्स, रुसतिर पनि हुनथाल्यो। त्यहाँ आफ्नै तरिकाले त्यसको विकास भयो। त्यो समयका युरोपेली व्यक्तिका तस्बिरहरू हेर्दा बाक्ला कपडाबाट बनेका, लामा र घुँडा भन्दामुनि आउने कोटहरू लगाउने गरेको देखिन्छ।

युरोपबाट भ्रमणमा जाने यात्रीको माध्यमबाट, अफ्रिका, एसिया र अन्य मध्यपूर्वी देशतिर पनि यो पोशाकको प्रचलन सुरुभयो। कोट शासक र कुलीन वर्गका व्यक्तिको पोशाकमा रुपमा विकास हुँदै गएको देखिन्छ ।

शासकले आफू मातहतका प्रशासकलाई पदोन्ति गर्दा वा कुनै कुरामा खुसी हुँदा कोट उपहार दिने चलन समेत विभिन्न देशमा थियो।

आधुनिक सुटको सुरुवात भने १८औँ शताब्दीमा इङ्ल्याण्डका ब्यू ब्रुमेलले गरेको मानिन्छ। सन १७७८ मा लण्डनमा जन्मिएका उनी फेसनमा निकै रुचि राख्थे । स्कुले जीवनदेखि नै फेसनमा निकै ध्यान दिन्थे ।

उनले कोट तथा पाइन्ट रंगी–विरंगी लगाउने खालको फेसनलाई बदलेर एकै रङको सादा अनि शरीरमा फिट खालको फेसनको सुरुवात गरेका थिए ।

ब्रुमेलले बुट तथा मोजाको शैली पनि परिवर्तन गरेका थिए । उनले आफ्नो शैलीलाई युरोपभर लोकप्रिय पनि बनाए । ब्रुमेलको फेसन लोकप्रिय हुनुभन्दा पहिला पश्चिमेली देशमा फ्रान्सका दरबारियाले लगाउने फेसनको जबरजस्त प्रभाव थियो।

भिक्टोरियन युगमा फ्रक कोट प्रचलनमा थियो तर यसलाई सुट भनिँदैनन्थ्यो किनभने यो फरक रङको प्यान्टसँग लगाइन्थ्यो । २०औँ शताब्दीको सुरुवातसम्म कोट पूर्णरुपमा विकसित भइसकेको थियो।

सन् १९२० को दशकमा स्लीम र फिट सुट प्रचलनमा आएको थियो । तर यस दशकको अन्त्यतिर यसको संरचना केही बदलियो । कोटको काँध र पाइन्टका बाहुलाहरु फराकिला बनाउन थालियो । यो लोकप्रिय हुँदै गयो।

१९३० को दशकमा लामा, फराकिलो बाहुला भएका अनि पूरै कम्मरलाई दबाउन मिल्ने खालका पाइन्टहरू लोकप्रिय भए।

दोस्रो विश्वयुद्ध र त्यसले ल्याएको आर्थिक अभावका कारण सन १९४० को दशकमा कपडा बचाउनका लागि कोट, पाइन्टहरू केही परिमार्जित भए । साँघुरो फिट पाइन्ट लगाउन थालियो । कम्मरकोटहरू प्रयोग हुन छाड्यो ।

५० को दशकमा फेरि सुटमा केही परिवर्तन भए । कोट पाइन्टहरू फेरि फराकिलो भए । यो दशकका पोशाक करिब १९३० को दशकसँग नजिक थिए ।

कपडाहरुको प्रकारमा फरक भएपनि १९६० को दशकमा पनि ५० कै दशकको जस्तो थियो । यसपछिको दशकमा पनि सुटको संरचनामा केही परिवर्तन भए । प्रायगरी खुकुला कोट पाइन्ट नै बढी रुचाइएका थिए।

सन् २००० को सुरुवाततिर फेरि स्लीम र फिट सुटहरूको फेसन फर्कियो । पहिलेका भन्दा ज्याकेटहरू छोटा हुनथाले। अहिले सुटका लागि रङ, बनावट र कपडाका प्रकारमा निकै विविधता छ । तर हालसम्म पनि फिटिङ सुटहरु नै लोकप्रिय छन् ।

सुट हाम्रो छिमेकी देश भारतको पनि पुरानो फेसन होइन । ब्रिटिस शासनको प्रभावका कारण उनीहरूबाट युरोपमा प्रचलित फेसन भित्रिएको मानिन्छ । धोती, कुर्ता, पाइजामा, सुरुवाल, कमिज आदि भारतका परम्परागत पोशाक हुन् ।

ब्रिटिस शासक र उनीहरूका प्रशासकले लगाउन थालेपछि भारतका कुलीन व्यक्तिहरूले यसलाई आफ्नो फेसन बनाए । त्यसपछि यो बिस्तारै भारत र आसपासका क्षेत्रमा फैलिएको मानिन्छ ।

नेपालमा यो पोशाक कहिलेबाट भित्रियो भनेर कुनै अध्ययन् भएको पाइँदैन । वि.सं.१९५७ फागुनबाट १९५८ सम्म साउन श्री ३ प्रधानमन्त्री भएका देवसमशेर जंगबहादुर राणाका तस्बिरमा उनले कोट लगाइएको देखाइएको छ ।

उनले श्रीपेच लगाएकै अवस्थामा कोट लगाइएको देखिएकाले २०औँ शताब्दीको मध्यतिर नै नेपालमा कोट लगाइन्थ्यो भन्न देखिन्छ ।

देव समशेर जबरा ।

अम्बिका प्रसाद उपाध्यायले वि.सं.१९७९ मा नेपालको इतिहास नामक पुस्तक प्रकाशन गरेका थिए । यसलाई नेपाली इतिहासको पहिलो पुस्तक मानिन्छ । यस पुस्तकको आवरणमा लेखकको  सुट लगाएको फोटो राखिएको छ । त्यो समय युरोपमा प्रचलित सुटको ढाँचासँग यो फेस मिल्दो देखिन्छ । यसअनुसार पनि राणा शासनको मध्यतिर नेपालमा कोट तथा सुटको फेसन सुरु भइसकेको मान्न सकिन्छ । सो समय नेपालमा चन्द्र समशेर श्री ३ महाराज थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?