
गाईवस्तुलाई जीवनभर दोहन गर्ने र बुढो भएपछि बिक्री गर्ने प्रवृत्ति छ । यसरी बिक्री भएका गाईगोरु कहाँ पुर्याइन्छ ? के गरिन्छ ? खासै सोधीखोजी हुने गरेको छैन । नवलपरासीमा यसरी नै कतै ढुवानी गरिरहेको गाईगोरुको प्रहरीले उद्धार गरेको छ ।
नवलपरासी वर्दघाट सुनवल नगरपालिका-१२ हरकट्टाको भित्री सडक खण्डमा आइतबार बिहान करिब ४:३० बजे हेटौँडातिर जाँदै गरेको बागमती प्रदेश ०३००१ ख ३४७५ नम्बरको मिनी ट्रकमा गाई र गोरुलाई ढुवानी मापदण्ड विपरीत क्रूर व्यवहार गरेर ढुवानी गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो ।
अस्थायी प्रहरी बिट भुमाइ इलाका प्रहरी सुनवल र लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङबाट खटिएको संयुक्त टोलीले ट्रकलाई नियन्त्रणमा लिएको थियो ।
१३ वटा गाई र ५ वटा गोरुलाई मिनी ट्रकमा पुच्छर वा सिङ बाँधेर राखेको र हलचल गर्नै नसकिने गरी कोचिएको थियो । यस्तो अवस्थामा प्रहरीले नियन्त्रणमा लिएर गाई गोरुलाई सुनवल गौशालामा बुझाएको र यसमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीर दत्त पन्तले जानकारी दिए।
पन्त भन्छन् ‘व्यवसायिक प्रयोजनका लागि मकवानपुरबाट हेटौँडातर्फ लग्दै गरिएको गाई गोरुलाई क्रूर व्यवहार गरेको शङ्का लागेपछि चेकजाँच गरी नियन्त्रणमा लिइएको हो ।’
यसरी ढुवानी मापदण्ड विपरीत गाई, गोरुलाई ढुवानी गर्ने चालक र सहचालकलाई नियन्त्रणमा लिई नवलपरासी जिल्ला अदालतबाट पशुपंक्षी सम्बन्धी कसुरमा म्याद थप गरी जिल्ला प्रहरी कार्यालय नवलपरासीमा अनुसन्धान भइरहेको उनले जानकारी दिए ।
पशु ढुवानी मापदण्ड २०६४ अनुसार पशु ढुवानी गर्दा पशुलाई कुनै पनि किसिमको शरीरमा चोट पटक नलाग्ने गरी ल्याउनुपर्छ । खुट्टा, पुच्छर, नाकमा बाँध्न हुँदैन, कोचेर ल्याउन पाइँदैन भनेर मापदण्डमा उल्लेख गरिएको छ ।
ढुवानी गर्ने क्रममा ८ घण्टामा विश्राम तथा आराम गराउनुपर्छ । उनीहरूका लागि दानापानीको व्यवस्था गरिदिनुपर्छ, हावा छिर्ने, पानी पर्दा छोप्न मिल्ने खाले, चलमलाउन सक्ने ठाउँ हुनुपर्छ भन्ने व्यवस्था छ ।
मुलुकी अपराध संहिता ऐन २०७४ को परिच्छेद २७ मा ‘पशुपंक्षी सम्बन्धी कसुर’ मा पशुपक्षीप्रति निर्दयी व्यवहार गर्न नपाइने व्यवस्था स्पष्ट किटान गरिएको छ । पशुपंक्षीलाई निर्दयी व्यवहार गर्नेलाई तीन महिनासम्म कैद अथवा पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था ऐनमा रहेको छ ।
प्रतिक्रिया 4