५ चैत, काठमाडौं । कर्णाली प्रदेशमा आगामी वर्ष जेठ पहिलो साता हुने दसौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट मंगलबार सार्वजनिक भएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले लोगो तथा राखेपका उपाध्यक्ष ध्रुव आचार्यले मस्कट सार्वजनिक गरे ।
कार्यक्रममा राष्ट्रिय खेलकुदको लोगो र मस्कट लगायत विषयवस्तुलाई समेटेर तयार पारिएको एनिमेटेड भिडियो पनि सार्वजनिक गरिएको थियो ।
यस्तै सोही अवसरमा राखेपका सदस्य सचिव टंकलाल घिसिङले दसौं राष्ट्रिय खेलकुदको डेकिकेटेड वेभसाइट टेन्थ डट एनएससी डट ओआरजी एनपी सार्वजनिक गरेका थिए ।
यसैगरी राष्ट्रिय खेलकुदमा सहभागी हुने खेलाडी, प्रशिक्षक, व्यवस्थापक, अफिसियललगायतले नाम दर्ता गर्नका लागि फ्टवेयर भिडियो प्रदर्शन गरिएको थियो ।
के छ लोगो र मस्कटमा ?
दशौं राष्ट्रिय खेलकुदको लोगोमा कर्णाली नदी, नेपालको झण्डा, सात प्रदेश र खेलाडी, हिमाल, पहाड र तराई तथा शान्तिको प्रतिक परेवा समेटिएको छ । शान्तिको प्रतिक, नेपाल र कर्णाली प्रदेश समावेश गरेर लोगो तयार पारिएको हो ।
यसैगरी मस्कटमा रेड पाण्डा रहेको छ । कर्णाली प्रदेशमा पाइने दुर्लभ जनवार हाब्रे (रेड पाण्डा) लाई मस्कटका रुपमा तयार पारिएको छ । लोगो र मस्कट विकास तमखुले तयार गरेका हुन् ।
आफ्नो लोगो र मस्कट छनोट भएकोमा बिकासले खुशी व्यक्त गरे । तर सार्वजनिक कार्यक्रममा आफूलाई कुनै जानकारी नगराएको भन्दै उनले गुनासो व्यक्त गरे ।
‘दशौं राष्ट्रिय खेलकुदको लागि लोगो र मस्कट आज छानिँदा खुशी छु । आज कार्यक्रम रैछ । केही थाहा पनि भएन । बोलाउनु भएको भए राम्रो हुन्थ्यो’ बिकासले गुनासो राखे, ‘पुरस्कार पनि व्यवस्था छ भन्नुभएको थियो तर त्यो पनि पाएको छैन । यसमा अलि गुनासो रह्यो ।’
बिकासले नगद पुरस्कारको व्यवस्था राखिएको जानकारी पाएको बताए ।
को हुन् लोगो र मस्कट बनाउने बिकास ?
दशौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट भक्तपुरका बिकास तमखुले तयार पारेका हुन् । भक्तपुरमै अध्ययन गरेका उनले हाल भक्तपुरकै काठमाडौं वर्ल्ड स्कुलमा आर्ट अध्यापन गराउँछन् ।
कला नै अध्ययन गर्ने बिकासले आफ्नो सिप प्रयोग गर्दै दशौंको लोगो र मस्कट तयार पारेका हुन् । सुदूरपश्चिमकै एकेन्द्र बहादुर खड्का र बिकास तमखु एकै स्कुलमा सँगै पढाउँछन् । उनै एकेन्द्रले दशौंको लोगो र मस्कट बनाउनका लागि आह्वान गरिएको जानकारी बिकासलाई गराएपछि बिकासले काम गरेका हुन् ।
‘सुरुमा एकेन्द्र सरले नै दशौँको लोगो र मस्कटको बारेमा भन्नु थियो । त्यो जानकारी पाएपछि मैले पनि प्रयास गर्छु भनेर गरें’ बिकासले अनलाइनखबरसँग भने ।
दशौं राष्ट्रिय खेलकुदका लागि कर्णाली प्रदेश खेलकुद विकास परिषदले लोगो र मस्कट बनाउने प्रतियोगिता गरेको थियो । लोगोमा बनाउनुपर्ने प्रावधान अनुसार आफूले लोगो निर्माण गरेर बिकासले बताए ।
‘शान्तिको प्रतिक कर्णालीलाई समावेश गरेर लोगो बनाउनुपर्ने प्रावधान थियो । एकेन्द्र सर पनि उतैको भएको उहाँसँग सल्लाह गरेर बनाएको हो । उताको विशेषता के के छ त भनेर हेर्दा कर्णाली नदी, रारा ताल लगायतको कुरा आथ्यो’ बिकासले भने, ‘कर्णाली नदीलाई नै राख्नुपर्छ भन्ने भयो । शान्तिको प्रतिक भन्ने बित्तिकै परेवा राख्नुपर्यो । सुरुमा परेवा र कर्णाली कसरी जोड्ने भनेर सोचेँ । एकेन्द्र सरसँग पनि सल्लाह गरें । अनि लोगो तयार पारेको हुँ ।’
बिकासले सुरुमा कर्णाली पुल पनि राख्ने सोच बनाएका थिए तर सल्लाहपछि राखेनन् । ‘परेवा र कर्णालीको पानी भाको, नेपालको प्रतिक ट्रयाकहरू समावेश गरेर बनाएँ । त्यसपछि सात प्रदेश झल्कने खालको सात कलर राखेँ । नेपालको झण्डा भनेर चन्द र सूर्य राखेँ । कर्णाली भनेर तलको पानी बगेको राखेँ ।’
बिकासले लोगो र मस्कटको डिजाइन बनाएर पेश गरेपछि उनलाई एकदिन तपाईंको लोगो र मस्कट छनोट भनेर फोन आयो । त्यसपछि त्यसमा केही परिर्माजन गर्नुपर्छ भन्ने सुझाव उनले पाए ।
‘राखेपबाट तपाईंको डिजाइन सेलेक्ट भयो भनेर खबर आयो । अनी त्यसमा केही संशोधन गर्नुपर्छ भन्नुभयो’ बिकासले भने । पछि केही संशोधनसहित लोगो पारित भएको हो ।
प्रतिक्रिया 4