
५ चैत, काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा ९ दिनदेखि भारत भ्रमणमा छिन् ।
अघिल्लो साता सोमबार भारतको भारखण्ड राज्यमा रहेको धार्मिक स्थल बाबा वैद्यनाथ धाममा पूजाआजा गर्न उनी त्यसतर्फ प्रस्थान गरेको परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरेर बताएको थियो ।
परराष्ट्रमन्त्री राणाले पनि २८ फागुनमा वैद्यनाथ धाममा पुगेर बासुकीनाथ मन्दिरमा पूराअर्चना गरेको भन्दै सामाजिक सञ्जाल एक्समा लेखेकी छन् । उनले तस्वीरहरू समेत राख्दै मन्दिरका व्यवस्थापन समिति, पुजारी लगायतलाई धन्यवाद दिएकी छन् ।
त्यसपछि एकैपटक दिल्लीमा आइतबारदेखि सुरु द अब्जर्भर रिसर्च फाउन्डेसन (ओआरएफए) ले आयोजना गरेको राइसिना डायलगमा उपस्थिति भएको तस्वीर सोमबार उनले सार्वजनिक गरेकी छन् । त्यसअघिको समयमा उनले अरु के–के गरिन् भन्ने खुलेको छैन ।
कतिपय कूटनीतिक स्रोतहरूले चाहिँ परराष्ट्रमन्त्री राणा दिल्लीमा राजनीतिक भेटघाट गर्ने प्रयासमा रहेको बताएका छन् । ‘धार्मिक भ्रमण भनिए पनि राजनीतिक भेटको वातावरण बनाउने प्रयासमा उहाँ लाग्नुभएको थियो’, कूटनीतिक स्रोत भन्छ, ‘तर, परिस्थिति अनुकूल भइसकेको छैन ।’
यद्यपि, राइसिना डाइलगकै क्रममा उनले मंगलबार भारतका विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेकी छन् । भेटका क्रममा के कुराकानी भयो भन्ने खुलेको त छैन । तर, उनले दुई पक्षीय हितको विषयमा छलफल भएको भन्दै सामाजिक सञ्जालमा लेखेकी छन् ।
‘राइसिना संवादको क्रममा भारतका विदेशमन्त्री एस जयशंकरसँग अत्यन्त फलदायी भेटवार्ता भयो’, उनले भनेकी छन्, ‘हामीले दुई पक्षीय सम्बन्धको समीक्षा गर्दै विभिन्न क्षेत्रका चालु सहकार्यहरूबारे छलफल गर्यौं र जनस्तर तथा कूटनीतिक आदनप्रदानलाई अझ प्रवद्र्धन गर्ने सम्भावनाहरू पहिचान गर्यौं ।’
उनले आफूले छिमेकी पहिलो नीतिप्रति प्रशंसा गर्दै नेपालले भारतसँगको सम्बन्धलाई निरन्तर प्राथमिकता दिइरहेको बताएको उल्लेख गरेकी छन् ।
यसअघि २०८१ पुसमा पनि उनी भारत भ्रमणमा जाँदा उच्च राजनीतिक भेटघाटको प्रयास भएको थियो । तर, भारतीय पक्षले विभिन्न कारण देखाउँदै समय दिएन ।
त्यसबेला उनी काठमाडौं विश्वविद्यालय अन्तर्गतको नेपाल समसामयिक अध्ययन केन्द्र र भारतको फाउन्डेसन अफ इकोनोमिक ग्रोथ एण्ड वेलफेयर (इग्रो) ले आयोजना गरेको नेपाल–भारत आर्थिक सम्मेलनमा उपस्थित हुन भन्दै गएकी थिइन् ।
कार्यक्रममा भारतका विदेशमन्त्री एस जयशंकरलाई पनि निम्तो दिइएको थियो । तर, उनी पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको खाडी मुलुक भ्रमकको तयारीका कारण आउन नसकेको जवाफ नेपाली पक्षले पाएको थियो ।
राइसिना डायलगमा के भयो ?
यसपटक राणा सहभागी राइसिना डायलगको उद्घाटन सत्रमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र न्युजल्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सन सहभागी थिए ।
सन् २०१६ देखि भारतीय विदेश मन्त्रालयसँग सहकार्यमा ओआरएफले गर्दै आएको यो कार्यक्रममा विश्वका विभिन्न देशका राजनीतिज्ञ, कूटनीतिज्ञ, नीति निर्माण, विश्लेषकबीच अन्तर्राष्ट्रिय सम्बन्ध, वैश्विक चुनौती र रणनीतिका विषयमा छलफल हुने गरेको छ ।
राइसिना डायलगको दोस्रो दिन मंगलबार राणाले जलवायु परिवर्तनको समस्या र अनुकूलनको एजेन्डामा संघर्ष विषयक प्यानल छलफलमा सहभागी भइन् । राणासँगको छलफलमा भुटानका विदेशमन्त्री डीएन ढुंगेल, माल्दिभ्सका विदेशमन्त्री अब्दुल्ला खलील लगायत सहभागी थिए ।
त्यसक्रममा राणाले बदलिंदो परिवेशमा जलवायु परिवर्तनले ल्याउने समस्यालाई सम्बोधन गर्न आवश्यक पर्ने लगानीको नयाँ बाटोहरु खोजी गर्नुपर्ने आवश्यकता देखिएको बताइन् । यसमा निजी क्षेत्रलाई पनि जोड्नुपर्ने भन्दै उनले भनिन्, ‘को कति धनी छ भन्ने कुराले त्यति धेरै फरक पार्दैन यदी तपाईंसँग सास फेर्नलाई स्वच्छ हावा छैन भने, पिउनलाई स्वच्छ पानी छैन भने । त्यसैले मलाई लाग्छ निजी क्षेत्रले यसमा महत्त्वपूर्ण भूमिका खेल्न सक्छ ।’
सहकार्यका विभिन्न मोडलबारे चाहिँ छलफल गर्न सकिने उनले बताइन् । यो कार्यक्रममा नेपालबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् स्वर्णिम वाग्ले निम्त्याएका थिए ।
शुक्रबार मात्रै फर्किने
राइसिना डायलगका दौरान राणाले भारतीय विदेशमन्त्री जयशंकरसँगै उनले विभिन्न मुलुकका नेताहरुसँग पनि छुट्टै भेट समेत गरेकी छन् ।
परराष्ट्रमन्त्री राणाले युक्रेनको विदेशमन्त्री आन्द्रिई सिबिहासँग भेट गरेर त्यहाँ बन्दी बनाएर राखिएका ७ नेपालीलाई रिहाइ गरिदिन गरिन् । नेपालबाट विभिन्न मुलुक हुँदै रुसी सेनामा काम गर्न पुगेका नेपालीलाई युक्रेनी सेनाले युद्धग्रस्त क्षेत्रमा नियन्त्रणमा लिएको थियो ।
राइसिना संवादमा सहभागिताका लागि आएका सिबिहा आएका बेला परराष्ट्रमन्त्री राणाले विदेशमन्त्री सिबिहासँग छुट्टै भेट गरेर नेपालीलाई रिहा गरिदिन आग्रह गरेकी हुन् ।
‘उनीहरूको रिहाइ र स्वदेश फिर्तीको प्रक्रियालाई सहज बनाउन अनुरोध गरेँ’, उनले भनेकी छन्, ‘हामीले नेपाल–युक्रेन सम्बन्ध सुदृढ गर्ने सम्भावनाहरूबारे पनि छलफल गरेको छु ।’
सोही अवसरमा नेपाल र युक्रेनबीच कूटनीति, अफिसियल र सेवा राहदानीवाहकहरूका लागि भिसा छुट सम्बन्धी सम्झौतामा पनि हस्ताक्षर भएको उनले भनेकी छन् ।
सोही अवसरमा उनले माल्दोभाका उपप्रधानमन्त्री एवं विदेशमन्त्री मिहाइ पोपसोइसँग पनि भेट गरिन् । भेटका क्रममा नेपाल र माल्दोभाबीचको सम्बन्ध र आपसी हितका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भेटमा डा. राणाले जलवायु परिवर्तनको असरबाट नेपाल नराम्रोसँग प्रभावित भइरहेको भन्दै विश्वव्यापी रूपमा बढ्दो यो समस्यासँग मिलेर काम गर्ने विषयमा छलफल भएको जनाएकी छन् ।
राणाले कार्यक्रममा सहभागी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सहायक तथा दक्षिण र मध्य एसियाका लागि राष्ट्रिय सुरक्षा परिषद्का वरिष्ठ निर्देशक रिकी गिलसँग पनि भेट गरेकी छन् ।
भेटका क्रममा नेपाल अमेरिका सम्बन्धका विविध विषयमा कुराकानी भएको उनको सचिवालयले जनाएको छ ।
मन्त्री राणाले हमासको नियन्त्राणमा रहेका नेपाली विद्यार्थी विपिनको रिहाइका लागि पहल गरिदिन उनीमार्फत अमेरिकी सरकारसँग आग्रह गरेको समेत उनको सचिवालयले जनाएको छ ।
विपिनको रिहाइका लागि पहल गरिदिन यसअघि पनि आफूले अमेरिकी सरकारलाई आग्रह गरेको स्मरण गराउँदै उनले विपिनको रिहाइका लागि नेपालले अमेरिकी सहयोगको अपेक्षा गरेको बताएकी थिइन् ।
‘लर्न एण्ड अर्न’कार्यक्रम अन्तर्गत इजरायल पुगेका विपिनलाई ७ अक्टुबर २०२३ मा हमासले नियन्त्रणमा लिएको थियो ।
दिल्लीस्थित नेपाली दूतावासका अधिकारीहरूका अनुसार, परराष्ट्रमन्त्री राणा शुक्रबार मात्र स्वदेश फर्किने कार्यक्रम छ । राइसिना डायलग भने बुधबार सकिँदैछ । राणा निकै पहिले भारत जानु र फर्किने समयमा पनि पूर्वनिर्धारित कार्यक्रमविनै लामो समय भारतमा बसेको भन्दै कतिपयले आलोचना पनि गरेका छन् ।
तर, भारतका लागि पूर्वनेपाली राजदूत निलम्बर आचार्य भन्छन्, ‘खासमा परराष्ट्रमन्त्रीहरू विदेशमै बसिराख्छन्, आफ्नो देशको हितमा काम गरिराख्छन्, दुई देशको सम्बन्ध सुधार्न प्रयास गरिराख्छन् । तर, पूर्वतयारीबिनै एउटै ठाउँमा धेरै बसे कि भन्ने आशंका छ भने भेरिफाई गर्नुपर्छ, त्यो एकैठाउँ बसिराख्नु चाहिँ हुँदैन ।’
प्रतिक्रिया 4