
५ चैत, काठमाडौँ । यौन व्यावसायबारे बोलेको विषयलाई लिएर कांग्रेस पदाधिकारी बैठकमा प्रमुख सचेतक श्याम कुमार घिमिरेको आलोचना भएको छ ।
मंगलबार बसेको वर्तमान पदाधिकारी र पूर्व पदाधिकारीहरूको बैठकमा घिमिरेको अभिव्यक्तिले पार्टीलाई नै असर परेको भनेर छलफल भएको थियो । उक्त छलफलमा घिमिरे समेत उपस्थित थिए ।
छलफलपछि कांग्रेस नेताहरूले घिमिरेलाई संसद्मै माफी माग्न भनेका छन् ।
कांग्रेस नेतृ इश्वरीदेवी न्यौपानेका अनुसार पदाधिकारी बैठकमा घिमिरेको अभिव्यक्तिको आलोचना भएको हो ।
‘हामी सबैको अब्जेसन भयो । त्यो ठीक छैन । नारी अस्मिताकै विषय भयो’ न्यौपानले भनिन् ।
प्रतिनिधि सभाको बैठक बुधबार बिहान ११ बजे बस्दैछ । उक्त बैठकमा समय लिएरै माफी माग्न कांग्रेस नेताहरूले घिमिरेलाई भनेका हुन् ।
गत आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेसका प्रमुख सचेतक घिमिरले देशको विकासका लागि यौन व्यवसाय खुला गर्नुपर्ने बताएका थिए ।
प्रतिनिधिसभाको बैठबमा विशेष समय लिएर बोलेका घिमिरेले देशमा रोजगारी सिर्जना र आर्थिक विकासका लागि यौन व्यवसायलाई नेपालमा खुला गर्नुपर्ने बताएका थिए ।
धार्मिक पर्यटकले पैसा खर्च नगर्ने र त्यसले देशको अर्थतन्त्रमा टेवा नदिएकाले अब यौन व्यवसायतर्फ जान ढिलो गर्न नहुने उनको आग्रह थियो ।
‘यौन व्यवसायलाई खुला गरौँ। यसबाट धेरै विदेशी पर्यटक आउँछन् । धार्मिक पर्यटकभन्दा यौन पर्यटनबाट देशलाई फाइदा छ,’ घिमिरेले भनेका थिए ।
कांग्रेसको प्रमुख सचेतकको यस्तो भनाइको संसद्मै विरोध हुँदै आएको छ ।
प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले त घिमिरेको अभिव्यक्ति संसदीय रेर्कडबाट हटाउन माग नै राखेको छ ।
सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै माओवादी सांसद दुर्गा राइले यौन व्यवसाय खुला गर्नुपर्ने सम्बन्धी घिमिरेको भनाइ संसदीय रेकर्डबाट हटाउन माग गरेकी हुन् ।
‘…यस्तो बिचारले अनुशासित र मर्यादित रुपममा रहेको समाजलाई अराजकतातिर पुर्याउँछ । त्यसैले यो भनाइलाई रेकर्डबाट हटाउन सभामुख महोदयको रुलिङको माग गर्दछु’ उनले भनेकी थिइन् ।
राप्रपा लगायतका विपक्षी दलहरूले पनि घिमिरेको अभिव्यक्तिको विरोध गर्दै आएका छन् । यो बेला कांग्रेस नेताहरूले समेत घिमिरेलाई संसद्मै माफी माग्न सुझाएका हुन् ।
प्रतिक्रिया 4