
५ चैत, काठमाडौं । यौन व्यवसाय खुला गर्नुपर्छ भन्ने अभिव्यक्ति दिएर विवादित बनेका प्रमुख सचेतक श्यामकुमार घिमिरेको कांग्रेस बैठकमा व्यापक आलोचना भएको छ ।
मंगलबार सभापति शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निवासमा बसेको वर्तमान तथा पूर्वपदाधिकारीहरूको बैठकमा नेताहरूले घिमिरेको अभिव्यक्तिको चर्को आलोचना गरेका हुन् ।
प्रतिनिधिसभाको बैठकमै घिमिरेले दिएको अभिव्यक्तिले पार्टीलाई नै असर पारेको भन्दै नेताहरूले सदनमै उपस्थित भएर माफी माग्न भनेका छन् ।
पदाधिकारी बैठकमा नेताहरूले घिमिरेको सो अभिव्यक्तिको आलोचना गर्दै उनलाई माफी माग्न लगाउनु पर्ने भनाइ राखेपछि सभापति देउवाले बैठकमौ घिमिरेलाई बोलाउन लगाएका थिए ।
उनकै अघिल्तिर पनि वर्तमान र पूर्वपदाधिकारीहरूले गलत अभिव्यक्ति दिएर पार्टीलाई क्षति पुर्याएको भन्दै आलोचना गरेका थिए ।
कांग्रेस नेतृ इश्वरीदेवी न्यौपानेका अनुसार पदाधिकारी बैठकमा घिमिरेको अभिव्यक्तिको व्यापक आलोचना भएको छ । ‘हामी सबैको अब्जेक्सन रह्यो । त्यो अभिव्यक्ति ठीक छैन । नारी अस्मिताकै विषय भयो,’ न्यौपानले भनिन् ।
प्रतिनिधिसभाको बैठक बुधबार बिहान ११ बजे बस्दैछ । उक्त बैठकमा समय लिएरै माफी माग्न कांग्रेस नेताहरूले घिमिरेलाई भनेका छन् ।
गत आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रमुख सचेतक घिमिरले देशको विकासका लागि पर्यटनको ठूलो महत्व हुने र मनोरञ्जन पर्यटन वृद्धिका लागि यौन व्यवसाय खुला गर्नुपर्ने धारणा राखेका थिए ।
विशेष समय लिएर बोलेका घिमिरेले देशमा रोजगारी सिर्जना र आर्थिक विकासका लागि यौन व्यवसाय खुला गर्नुपर्ने बताएका थिए ।
धार्मिक पर्यटकले पैसा खर्च नगर्ने र त्यसले देशको अर्थतन्त्रमा टेवा नदिएने भएकाले अब यौन व्यवसाय खुला गर्नेतर्फ जान ढिलो गर्न नहुने उनको सुझाव थियो ।
‘यौन व्यवसायलाई खुला गरौं । यसबाट धेरै विदेशी पर्यटक आउँछन् । धार्मिक पर्यटकभन्दा यौन पर्यटनबाट देशलाई फाइदा छ,’ घिमिरेले भनेका थिए ।
कांग्रेसका प्रमुख सचेतकको यस्तो भनाइको संसद्मै विरोध हुँदै आएको छ । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले त घिमिरेको अभिव्यक्ति संसदीय रेर्कडबाट हटाउन माग नै राखेको छ ।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै माओवादी सांसद दुर्गा राईले यौन व्यवसाय खुला गर्नुपर्ने सम्बन्धी घिमिरेको भनाइ संसदीय रेकर्डबाट हटाउन माग गरेकी हुन् ।
‘…यस्तो विचारले अनुशासित र मर्यादित रूपमा रहेको समाजलाई अराजकतातिर पुर्याउँछ । त्यसैले यो भनाइलाई रेकर्डबाट हटाउन सभामुख महोदयको रुलिङको माग गर्दछु,’ उनले भनेकी थिइन् ।
राप्रपा लगायतका विपक्षी दलहरूले पनि घिमिरेको अभिव्यक्तिको विरोध गर्दै आएका छन् । यो बेला कांग्रेस नेताहरूले समेत घिमिरेलाई संसदमै माफी माग्न सुझाएका हुन् ।
प्रतिक्रिया 4