+
+
Shares

पुल्चोक इन्जिनियरिङ क्याम्पसमा स्वतन्त्रले रचे इतिहास

कांग्रेस, एमाले, माओवादी, नेकपा एस लगायतका उम्मेदवारलाई पछि पार्दै श्रेष्ठले संघ संगठनको सिन्डकेट तोडे ।

दिनेश गौतम दिनेश गौतम
२०८१ चैत ५ गते २१:४१

५ चैत, काठमाडौं । ३ चैतमा पुल्चोक इन्जिनियरिङ क्याम्पसमा पुग्दा दलनिकट विद्यार्थी संगठनका एक उम्मेदवारले भनिरहेका थिए, ‘यसपटक पुल्चोकमा स्वतन्त्रले जित्ने सम्भावना छ ।’

हामीले केही प्रतिनिधि मतदाता विद्यार्थीसँग पनि कुरा गरेका थियौं । धेरैजसो मतदाता विद्यार्थीले स्वतन्त्र उम्मेदवारलाई मत दिने संकेत गरेका थिए । ती उम्मेदार र मतदातले भनेझैं मंगलबार स्वतन्त्र उम्मेदवार स्वयं श्रेष्ठ निर्वाचित भए ।

सहायक क्याम्पस प्रमुख राम एकवाल यादवका अनुसार स्वयं श्रेष्ठ १ हजार १०२ मत सहित विजयी भए । उनका प्रतिद्वन्द्वी माओवादी निकट अखिल क्रान्तिकारीका उम्मेदवार रसिक लम्सालले ७१० मत ल्याए । २०७९ को स्ववियु चुनावमा एमाले अखिलबाट निर्वाचित भएका विराज अर्याल ६३९ सहित तेस्रो स्थानमा पुगे ।

कांग्रेस, एमाले, माओवादी, नेकपा एस लगायतका उम्मेदवारलाई पछि पार्दै श्रेष्ठले संघ संगठनको सिन्डकेट तोडे । अध्यक्षमा निर्वाचित श्रेष्ठ यसअघि २०७९ का स्ववियु सदस्य हुन् । सदस्यमा उठ्दा पनि उनी स्वतन्त्र उम्मेदवार थिए र ७५४ मत ल्याएर विजयी भएका थिए । यसपटक त उनले भ्रातृसंस्थाको सिन्डकेट तोडेर इतिहास नै कायम गरे ।

‘अघिल्लो पटक सदस्यमा निर्वाचित भएपछि सक्रिय भएर स्ववियुको काम गरेको थिएँ । विद्यार्थीको दुःख सुखमा साथ दिएका कारण नै यसपटक मलाई विश्वास गरेर अध्यक्षमा मत दिनु भयो भन्ने लाग्छ,’ निर्वाचित भएपछि उनले अनलाइनखबरसँग भने ।

भ्रातृसंस्थाको गलत गतिविधिकै कारण स्वतन्त्र उम्मेदवार अगाडि आएको पुल्चोक क्याम्पसका प्राध्यापकहरूको निष्कर्ष छ । ‘विद्यार्थी संगठनको आन्तरिक किचलो र नयाँ पुस्ताले दल निकटकालाई कम विश्वास गरेको परिणाम हो,’ पुल्चोक क्याम्सका एक प्राध्यापकले भने, ‘संगठनहरू नसुध्रने हो भने झन् कमजोर हुने देखिन्छ ।’

निर्वाचित भएका श्रेष्ठले अघिल्लो चुनावदेखि नै स्वतन्त्रको छवि बनाएर काम गरेका थिए । ‘रचनात्मक काममा सक्रिय हुने गरेका थिए । सबै संगठनको मत यसपटक तानेको देखियो,’ निर्वाचन समितिकै एक सदस्यले भने । श्रेष्ठको विजयले संगठनहरूमाथि चुनौतीसँगै सुध्रन गतिलो सन्देश भएको छ ।

त्रिवि समाजशास्त्र विभागका उपप्राध्यापक प्रेम चलाउने एउटा झिल्को प्रकट भएको बताउँछन् । ‘पुराना पार्टीका भ्रातृसंस्थाप्रतिको वितृष्णा प्रकट भएको हो । भ्रातृसंस्थाका विद्यार्थी नेता विद्यार्थीको प्रतिनिधि भएनन् । पार्टीको प्रतिनिधि भएर काम गरे । विद्यार्थीको चासो र चिन्ताका साझा विषय उठाएनन् । जसका कारण एउटा झिल्को देखिएको हो । यो कसैले रोकेर रोक्न सकिँदैन, बढेर जान्छ,’ उनले भने ।

नव निर्वाचित श्रेष्ठ पनि चलाउनेको तर्कसँग सहमत छन् । ‘विद्यार्थीको प्रतिनिधि दलको हुनुपर्छ भन्ने भाष्य तोड्नुपर्छ । विद्यार्थीको प्रतिनिधि विद्यार्थी नै हुनुपर्छ भनेर स्वतन्त्र उम्मेदवारी दिएको थिएँ । अब विद्यार्थीको प्रतिनिधि भएर काम गर्छु,’ उनले भने ।

उनको विजयले विद्यार्थी संगठनहरूलाई सोच्न बाध्य बनाएको छ । तर, एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका अध्यक्ष समिक बडाल निर्वाचित भएका श्रेष्ठ चर्चित भएका कारण जितेका बताउँछन् ।

‘स्वयं पपुलर भएर जितेको हो । अघिल्लो पटक स्वतन्त्र उठेर जितेको भएर राम्रो छाप थियो । हाम्रो संगठनबाट अघिल्लो पटक अध्यक्षमा जितेका विराज अर्यालले स्वयंलाई प्रतियोगिताहरूको संयोजक बनाएको थियो । राम्रो काम गरेकाले नै चुनाव जितेको हो,’ उनले भने ।

भ्रातृसंस्थाप्रतिको वितृष्णले उनले चुनाव नजितेको दाबी बडालको छ । तर, कांग्रेसनिकट विद्यार्थी संगठन नेविसंघका सभापति दुजाङ शेर्पा भ्रातृसंस्थाले थप मिहिनेत गर्नुपर्ने सन्देश दिएको बताउँछन् ।

‘यसले दुई वटा सन्देश दिएको छ । लोकतन्त्रमा सबै पक्षलाई मत ल्याउन छुट दिएको छ । अर्को भातृसंस्थाले थप मिहिनेत गर्नुपर्छ भन्ने सन्देश र सिकाइ दिएको छ,’ उनले भने ।

लेखक
दिनेश गौतम

अनलाइनखबरका संवाददाता गौतम शिक्षा र सामाजिक विषयमा समाचार लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?