
५ चैत्र, गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति सहानुभूति देखाउन आवश्यक नरहेको बताएका छन् । पालुङटार नगरपालिका–९ स्थित खारखोलाको मोटरेबल पुल उद्घाटन कार्यक्रममा बोल्दै उनले ज्ञानेन्द्रकै बुद्धिका कारण राजतन्त्र गएको बताए ।
‘राजाको अत्याचार बढ्न थालेपछि कांग्रेसले राजतन्त्र र प्रजातन्त्र सँगै जाँदैन रहेछ भन्यो, त्यसैले ०६२/६३ को आन्दोलनमा हामी कांग्रेस कम्युनिस्ट सबै मिलेर राजा फाल्यौं,’ उनले भने, ‘उहाँको आफ्नै बुद्धि र कर्मले जानुभएको हो, अहिले हमदर्दी देखाउनुपर्ने कुनै आवश्यक छैन ।’
२०४८ सालभन्दा पहिले दुई सय वर्षसम्म राजा हुदाँ भएका काम र ०४८ पछि २०८१ सम्मको समयमा भएका काम र परिवर्तनबारे मनन गर्न पनि उनले सुझाव दिए ।
‘केही भएन भनेर मात्र हुँदैन, यसको तथ्याङ्क पनि केलाउनुपर्छ । केही भएको छैन भनेर अहिले भ्रमित बनाउन खोजिएको छ, यसबाट कोही बिचलित हुनुपर्ने अवस्था छैन,’ मुख्यमन्त्री पाण्डेले भने ।
अहिलेको भन्दा उत्तम व्यवस्था अरु नरहेको भन्दै यसलाई जोगाउन सबै लागि पर्नुपर्ने उनको भनाइ छ । लोकतन्त्रको रक्षाका लागि सबै दल र जनता एक ठाउँमा उभिन उनले आग्रह समेत गरे ।
विदेशिएका नेपालीहरुले अहिले देशको बारेमा अनावश्यक टिकाटिप्पणी गर्ने गरेको भन्दै उनले चिन्ता व्यक्त गरे । राम्रो गर्छु भन्ने लागेमा प्रक्रियागत रुपमा चुनाव लडेर नेतृत्वमा आउने उनले आग्रह समेत गरे ।
‘विदेश जानेहरुलाई म के भन्छु भने सक्नुहन्छ मातृभूमि प्रति मेरो कर्तव्य छ भनेर यही केही गर्नुस् सक्नुहुन्न भने बिदेशमा बसेर नेपाललाई गाली नगर्नुस्,’ उनले भने, ‘हामीभन्दा राम्रो गर्छु भन्ने लाग्छ भने प्रक्रियागत रुपमा आउनुस् अझ राम्रो गर्नुस् तर गरेको कामलाई हुँदै भएन भनेर जनता भड्काउने काम नगर्नुस् ।’
मोटरेबल पुलको उद्घाटन
ठेक्काको समय अगावै निर्माण सम्पन्न भएको पालुङ्टार नगरपालिका–९ ढुंगेटारीस्थित खारखोलाको मोटरेबल पुलको उद्घाटन भएको छ । सात महिना समय अवधि बाँकी छदै सम्पन्न भएको उक्त पुलको मंगलवार मुख्यमन्त्री पाण्डेले उद्घाटन गरेका हुन् ।
१८ महिनाभित्र सम्पन्न गर्नेगरी गत बर्षको चैतमा श्रीगणेश अमृत जेभी कम्पनीसँग ठेक्का सम्झौता भएको थियो । निर्माण कम्पनीले गत फागुन महिनामै निर्माण कार्य सम्पन्न गरेको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।
समयमै काम सम्पन्न नगर्ने निर्माण व्यवसायीहरूका लागि यो गतिलो पाठ भएको कार्यालय प्रमुख गणेश सुवेदीले बताए । ‘यहाँ त पाँच बर्षसम्म पनि पुल बन्न नसकेका, कति योजनाको सम्झौता खारेज गर्नुपरेका उदाहरणहरु छन्’, उनले भने, ‘यो पुलको कामले तिनीहरुलाई गतिलो पाठ सिकाएको छ ।’
उद्घाटन कार्यक्रमकै अवसर पारेर निर्माण कम्पनीलाई सम्मान गरिएको छ । मुख्यमन्त्री पाण्डेले निर्माण कम्पनीका प्रोपराइटर मिलन खड्कालाई प्रशंसापत्रले सम्मान गरेका हुन् ।
२५ मिटर लम्बाइ र ८.४ मिटर चौडाइ रहेको उक्त पुलको लागत २ करोड ७५ लाख रहेको बताइएको छ ।
प्रतिक्रिया 4