
काठमाडौँ । नाट्यकर्मी विमल सुवेदीको लेखन तथा निर्देशन रहेको फिल्म ‘हिउँको गीत’को मोसन पोस्टर सार्वजनिक भएको छ । पोस्टरले फिल्मका मुख्य कलाकारलाई चित्रण गरेको छ ।
चरित्र चित्रणसँगै फिल्मले कथावस्तुलाई विम्वपरक ढंगमा पेश गरेको छ । औँठाछापको पृष्ठभूमिमा बनेको पोस्टरले विस्थापनको कथासँगै कलाकारका उदास आँखा र क्षितिजतर्फको दृष्टिमार्फत चरित्रको अनन्त प्रतीक्षाको नियतिलाई संकेत गरेको छ ।
यो कथानक फिल्ममार्फत निर्देशन करिअर थालेका सुवेदी थिएटर भिलेजमार्फत् देश विदेशमा अनेकौँ प्रयोगधर्मी नाटक गर्ने सर्जकको रुपमा परिचित सर्जक छन् । यसपटक भने उनले आफ्नै कथा, पटकथा तथा निर्देशनमा ‘हिउँको गीत’ तयार गरेका हुन् ।
पटकथा लेखनमा सुवेदीसँग ‘साँघुरो’ फिल्मका निर्देशक जोयश पाण्डेले सहकार्य गरेका छन् । यो फिल्ममा वर्षा राउत, जोयस पाण्डे, आकाश खतिवडा, शिशिर कर्माचार्य, पूजा चन्द केन्द्रिय भूमिकामा छन् ।
अमेरिकाको ओहायो राज्यको क्लिभल्यान्ड र पेन्सिलभेनिया राज्यको पिट्सबर्ग सहरमा छायांकन गरिएको हो । ह्याप्पी होम स्टुडियोजको लागि जोयश पाण्डेय, विमल सुवेदी र समुन्द्रराज घिमिरेले फिल्म निर्माण गरेका हुन् । फिल्मले नेपाली भाषी भुटानी तथा नेपाली आप्रवासीको कथा सशक्त रुपले समेटेको सुवेदीको भनाइ छ ।
फिल्ममा भुटान, नेपाल र अमेरिकामा जन्मेहुर्केका फरक फरक पुस्ताका सपना, आकांक्षा, पहिचानको संकट, संघर्ष, नेपालीभाषी भुटानीमाथि तत्कालिन शासकले गरेका चरम अन्याय, अत्याचार, बर्र्बरता र चरम यातना समेटिएको सुवेदीले जानकारी गराए ।
फिल्मलाई जिया कुइँकेल खतिवडा, करुण कुइँकेल, कौशिला खनाल कर्माचार्य, आकाश खतिवडा र मनोरथ खनालले कार्यकारी निर्माताको रुपमा र राकेश भट्टराई, रमेश लुइँटेल र पुण्य कुइँकेलले सह निर्माताको रुपमा निर्माणमा सघाएका छन् ।
ओहायो राज्यको एक्रोन, कोलम्बस, पेन्सिलभेनिया वरिपरिका नेपालीभाषी भुटानी समुदायको सहजीकरणमा तयार भएको फिल्मको निर्माणमा थिएटर भिलेज र गाउँ स्टुडियोको पनि सहकार्य छ । चलचित्रमा थोमस किथ स्कट, केदार उप्रेती, आर बी खड्का, अर्जुन रसाइली, मनोरथ खनाल आदिको अभिनय छ ।
फिल्मलाई चिनइन गाउले खिचेका हुन् भने निशान घिमिरेले सम्पादन गरेका छन् । आयुषा सञ्जेल सहायक निर्देशक रहेको फिल्ममा दिकेश खड्गी शाहीको ध्वनि रेकर्ड तथा सम्पादन, देउकुमार राई नेतृत्व समूहको कला निर्देशन, शंकर बिसी र कौशिला खनाल कर्मचार्यको नृत्य निर्देशन छ ।
प्रतिक्रिया 4