
काठमाडौं । प्रतिष्ठित फोर्ब्स म्यागजिनले संसारका सबैभन्दा धनी (धेरै कमाउने) अभिनेताहरूको सूची सार्वजनिक गरेको छ । गतसाता सार्वजनिक गरिएको सन् २०२४ का सबैभन्दा धनी अभिनेताको यो सूचीको शीर्षस्थानमा हलिउड अभिनेता ड्वेन जोनसन छन् ।
४ वर्षपछि उनी सूचीको शीर्षस्थानमा फर्किएको फोर्ब्सले जनाएको छ । अभिनेताले गतवर्ष रायन रेनोल्ड्स र जेरी सेनफेल्डजस्ता कलाकारहरूलाई पछि पार्दै ठूलो रकम कमाए ।
उनले गतवर्ष ‘रेड वान’, ‘मोआना २’को लागि उच्च पारिश्रमिक रकममा सम्झौता गरेका थिए । उनले सन् २०२४ मात्रै ८८ मिलियन डलर (१०३ मिलियन डलर ग्रस) कमाए ।
सूचीको दोस्रो स्थानमा रायन रेनल्ड्स छन् जसले गतवर्ष ८५ मिलियन डलर (१०० मिलियन डलर ग्रस) कमाए । अभिनेता केभिन हार्ट सूचीको तेस्रो स्थानमा छन् जसले सो वर्ष ८१ मिलियन डलर (१०८ मिलियन डलर ग्रस) कमाए । चौंथो स्थानमा जेरी सेनफिल्ड, पाँचौमा ह्यू ज्याकम्यान, छैटौंमा ब्राड पिट, सातौंमा जर्ज क्लुनी, आठौंमा अभिनेता निकोल किडम्यान, नवौंमा एडम स्यान्ड्लर र दशौंमा विल स्मिथ छन् ।
शीर्ष २० भित्र जम्मा ३ जना अभिनेत्री समेटिएका छन् । जसमा किडम्यानसहित मारिस्का हार्गिटे र स्कारलेट जोहानसन छन् । व्यवसायिकरुपमा सफल वर्षको बावजुद अभिनेता टिमोथी चालमेटले सूचीमा स्थान पाउन सकेनन्, किनकि उनले एक वर्ष अघि आफ्ना २०२४ हिटहरूको लागि सम्झौता गरेका थिए ।
धेरै स्टारले स्ट्रिमिङबाट पनि धेरै पैसा कमाए । ब्राड पिट र जर्ज क्लुनीलाई ‘वुल्फ्स’का लागि ३५ मिलियन डलर पारिश्रमिक दिइएको थियो । ड्वेनले अब लियोनार्दो डिक्याप्रियो र एमिली ब्लन्टसँग मार्टिन स्कोरसेस फिल्ममा काम गर्नेछन् ।
प्रतिक्रिया 4