
काठमाडौं । चर्चित टिभी श्रृंखला ‘सक्किगो नि’ले चौंथो सिजन ल्याउने घोषणा गरेको छ । निर्देशक तथा अभिनेता अर्जुन घिमिरे पाँडेले सामाजिक संजालबाट तेस्रो सिजन समाप्त भएको उल्लेख गर्दै नयाँ सिजन ल्याउने बताएका हुन् ।
श्रृंखला निर्माता कम्पनी जेपीटी क्रिएसनले निर्माण गरेको कथानक फिल्म ‘लाज शरणम्’ अहिले हलमा प्रदर्शन भैरहेको छ । फिल्मपछि अब कम्पनीले श्रृंखलाको चौंथो सिजन ल्याउने बताएको हो ।
पाँडे लेख्छन्, ‘तेस्रो सिजनका ९३ श्रृंखला उत्पादन, प्रसारणपछि परिष्कृत सिर्जनाको तयारीका लागि हामी केही समय विश्राम लिँदैछौँ । यसबाट प्राप्त गरेको ज्ञान, सीप र अनुभवलाई विवेकसम्मत प्रयोग गरेर थप उत्कृष्टताका साथ हामी चाँडै नै ’चौथो’ सिजन लिएर आउने प्रतिवद्धता प्रकट गर्दछौँ ।’
पाँडेले चौंथो सिजनलाई कस्तो बनाउने भन्ने बारेमा दर्शकको सुझाव पनि मागेका छन् । उनी लेख्छन्, ‘कला सिर्जनामार्फत नेपाली सामाजिक रुपान्तरणका लागि समाजशास्त्रमा आधारित मौलिक कथा, भाषा, शैली, पात्र, प्रवृत्ति (व्यक्ति/व्यक्तित्वका आचरण), पहिचान, संवेदनशीलता, भाइचारा, विविधताभित्रका मिठासजस्ता पक्षलाई कुन रुपमा उठाएको हेर्न चाहनुहुन्छ ? यहाँहरूबाट प्राप्त हुने रचनात्मक एवं सिर्जनात्मक अपेक्षा र अनुभूतिप्रति सदैव ऋणी रहनेछौँ ।’
यसअघि तेस्रो सिजनको लागि एजेन्सी एड लिभसँग १०४ एपिसोडको सहमति भएको थियो । सहमतिअनुसार एपिसोड नसकिँदै ९३ एपिसोडमै तेस्रो सिजन रोक्ने निर्णय आफूहरूबीचको समझदारीमा भएको कलाकार तथा निर्देशक कुमार कट्टेल जिग्री ब्रोले बताए । ‘फिल्ममा हामी ब्यस्त हुँदा पुरानै एपिसोड प्रसारण गर्नुपर्यो । केही समय विश्राम गरेर चाँडै नयाँ तरिकाले शो आउँछ’ जिग्री ब्रोले अनलाइनखबरसँग भने ।
प्रतिक्रिया 4