+
+
Shares

त्रिविमा नेविसंघका कार्कीको उम्मेदवारी तत्काललाई कायम राख्न अल्पकालीन अन्तरिम आदेश

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ६ गते १४:४४

६ चैत, काठमाडौं । त्रिभुवन विश्वविद्यालय क्याम्पस कीर्तिपुरमा नेविसंघका अनोज कार्कीको उम्मेदवारी रद्द नगरी यथास्थितिमा राख्न अदालतले *अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

७ चैतमा पेसी तोकिएकाले त्यस अवधिसम्म उम्मेदवारी कायम राख्न निर्वाचन समितिलाई उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

अदालतले ३ चैतमा निर्वाचन समितिले गरेको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ । ३ चैतमा निर्वाचन समितिले कार्कीको उम्मेदवारी खारेज गरेर नेविसंघका अर्का उम्मेदवार दीपकराज जोशीलाई मान्यता दिएको थियो ।

स्ववियु निर्वाचनका लागि नेपाल विद्यार्थी संघको तर्फबाट अध्यक्षमा दुई जनाको उम्मेदवारी परेपछि निर्वाचन समितिले कार्कीको रद्द गरेको थियो । २७ फागुनमा कार्कीले संघको तर्फबाट उम्मेदवारी दर्ता गराएका थिए । संघका अध्यक्ष दुजाङ शेर्पाले दिएको पत्रका आधार सोही दिन आधिकारिक उम्मेदवारका रुपमा दीपकराज जोशीले उम्मेदवार दर्ता गराएका थिए ।

संघको तर्फबाट दुई उम्मेदवार बनेपछि निर्वाचन समितिले कार्कीको रद्द गरेर जोशी आधिकारिक भएको निर्णय गरेको थियो । त्यसविरुद्ध कार्की पक्षका विष्णुबहादुर बडैला समेतले त्रिभुवन विश्वविद्यालय समेतलाई विपक्षी बनाई उच्च अदालत पाटनमा मंगलबार रिट दायर गरी अन्तरिम आदेश माग गरेका थिए ।

न्यायाधीश डालबहादुर खड्काले एकल इजलासबाट भएको आदेशमा लेखिएको छ, ‘ विपक्षी त्रिभुवन विश्वविद्यालय, विश्वविद्यालय क्याम्पस कीर्तिपु स्ववियु निर्वाचन समितिले मिति २०८१/१२/३ मा प्रकाशन गरेको सूचना कार्यान्वयन नगरी यथास्थितिमा राख्नु भनी विपक्षीहरुको नाममा उच्च अदालत नियमावली २०७३ को नियम ४२ बमोजिम अल्पकालीन अन्तरिम आदेश जारी गरिएको छ ।’

निर्वाचन समितिले अपारदर्शी निर्णय गरेको जनाउँदै संघका असन्तुष्ट पक्षले विश्वविद्यालय क्याम्पसका प्रिन्सिपलको कार्यालयमा तालाबन्दी समेत गरेका थिए । बुधबार निर्वाचन समिति र असन्तुष्ट पक्षबीच सहमति भएपछि ताला खोलिएको छ ।

विश्वविद्यालय क्याम्पसमा चैत ५ गते हुन नसकेको स्ववियु निर्वाचन चैत ८ गते हुने कार्यतालिका छ ।

(*यसअघि समाचारमा अल्पकालीन अन्तरिम आदेश जारी भएको हुनुपर्नेमा ‘आदेश जारी भएको’ शब्दावली परेकाले सच्याइएको छ ।  –सं.)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?