६ चैत, काठमाडौं । मुम्बई इन्डियन्सले आईपीएल २०२५ को पहिलो खेलमा चेन्नई सुपर किंग्सविरुद्ध सूर्यकुमार यादवलाई कप्तानको जिम्मेवारी दिने भएको छ । नियमित कप्तान हार्दिक पाण्ड्या एक खेलको निलम्बनमा परेकाले सुर्यकुमारले मार्च २३ को खेलमा कप्तानी गर्ने भएका हुन् ।
अघिल्लो सिजन अन्तिम खेलमा स्लो ओभररेटका कारण हार्दिक एक खेलको निलम्बनमा परेका थिए । त्यस्तै पेस बलर जसप्रित बुमराह पनि चोटका कारण अनुपस्थित रहने भएकाले सुर्यकुमारले कप्तानी गर्ने भएका हुन् ।
सुर्यकुमारले गत वर्षदेखि भारतको टी-२० टोलीको कप्तानी सम्हाल्दै आएका छन्। मुम्बई इन्डियन्सका मुख्य प्रशिक्षक महेला जयवर्धनेसँगको प्रेस मिटमा हार्दिकले सुर्यकुमार पहिलो खेलका लागि कप्तान रहने जानकारी गराएको समाचार संस्था क्रिकबजले जनाएको छ ।
‘सुर्यकुमार यादवले भारतीय टोलीको नेतृत्व गरिरहेका छन्। उनी मुम्बई इन्डियन्सको पहिलो खेलमा कप्तान हुनेछन्’ हार्दिकलाई उद्धृत गर्दै क्रिकबजले लेखेको छ ।
मुम्बई इन्डियन्सको टोलीमा तीनजना अनुभवी कप्तान छन्। रोहित शर्माले भारतलाई तीनै फर्म्याटमा नेतृत्व गरिसकेका छन् र हाल टेस्ट तथा एकदिवसीय क्रिकेटमा कप्तान छन्।
उनले २०१३ देखि २०२३ सम्म मुम्बई इन्डियन्सलाई कप्तानी गरेका थिए। सुर्यकुमार यादव भारतको टी-२० कप्तान हुन् भने जसप्रित बुमराहले भारतको टेस्ट टोलीको नेतृत्व गरिसकेका छन्।
‘म भाग्यमानी छु’ हार्दिकले भने, ‘मेरो टिममा तीनजना कप्तान छन्। यदि मलाई कुनै सहयोग चाहियो भने, भारतलाई नेतृत्व गरेका तीन फरक सोच भएका अनुभवी खेलाडीहरू मेरो साथमा छन्। उनीहरू जहिल्यै मेरो समर्थन गर्न तयार छन्।’
हार्दिक पाण्ड्या दोस्रो खेलदेखि मुम्बईको कप्तानको रूपमा फर्किनेछन्। उनी २९ मार्चमा अहमदाबादमा गुजरात टाइटन्सविरुद्धको खेलमा टोलीको नेतृत्व गर्नेछन्।
प्रतिक्रिया 4